कुवेतविरुद्ध नेपाल पहिला बलिङमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एशियाली छनौट अन्तर्गत तेस्रो खेलमा नेपाली महिला टोलीले कुवेतविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा कुवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपाल र कुवेतबीचको खेल ११:१५ बाट शुरु हुँदैछ ।

आज नेपाल ग्लोबल छनौटटको सम्भावना कायमै राख्न कुवेतमाथि सहज जितको योजनामा रहेको छ ।

नेपाल र कुवेतबीच यसअघि एक पटक मात्र भेट भएको छ । सन् २०१९ मा भएको उक्त भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउदै विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना कायमै राख्न सफल भएको थियो ।

यता यसअघिका दुवै खेलमा पराजय भोगेको कुवेत भने आज पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा भुटानसँग ४० रनले पराजित बनेको कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

एशियाली छनौट अन्तर्गत दुई खेलमा लगातार जित निकालेको युएई ४ अंकसहित तालिकाको शिर्ष स्थानमा छ ।

दुर्व खेलमध्ये एकमा जित तथा एकमा हार बेहोरेको नेपाल दुई अंकसहित दोस्रो स्थानमा रहेको छ ।

समान एक–एक मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौ स्थानमा रहेका छन् ।

६ टोली सहभागि छनौट खेल अन्तर्गत नेपालले मंसिर १० गते शुक्रबार मलेसियासँग खेल्नेछ भने मंसिर १२ गते आईतबार आयोजक युएईको सामना गर्नेछ ।

एशिया छनौटको शिर्ष स्थानमा रहने टोलिले विश्वकपको ग्लोबल छनौट प्रतियोगिता खेल्ने मौका पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :