कुवेतविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एशियाली छनौट अन्तर्गत तेस्रो खेलमा नेपालले कुवेतविरुद्ध ९ विकेटको शानदार जित हासिल गरेको छ ।

युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा जितका लागि कुवेतले दिएको २८ रनको लक्ष्य पछ्याएको नेपालले ३ दशमलब ३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।

विश्वकप छनौटमा नेपालको यो लगातार दोस्रो जित हो ।

नेपाललाई सहजै जित दिलाउन इन्दु बर्माले सर्वाधिक १३ रन जोड्दा कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् ।

यता कुवेतका लागि मारिया जस्वीले मात्र एक विकेट हात पारिन् ।

यस जितसँगै नेपालको ग्लोबल छनौटको सम्भावना बलियो बनेको छ ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै मात्र २७ रन जोडेर अल आउट भयो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुवेतलाई सस्तैमा समेट्न नेपालकी संगिता राईले सर्वाधिक तीन विकेट हात पार्दा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान दुई–दुई विकेट लिइन् । सरस्वती कुमारीले १ विकेट लिइन् ।

नेपाल र कुवेतबीचको यो दोस्रो भेट हो । सन् २०१९ मा भएको पहिलो भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

कुवेतको भने यो लगातार तेस्रो हार हो । पहिलो खेलमा भुटानसँग ४० रनले पराजित बनेको कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

एशियाली छनौट अन्तर्गत तीन खेलबाट ४ अंक जोडेको नेपालल रनरेटमा अघि रहदै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

दुई खेलबाट ४ अंक जोडेको यूएई रनरेटका आधारमा दोस्रो स्थानमा छ । । मलेसिया, हङकङ र भुटान समान २ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

६ टोली सहभागि छनौट खेल अन्तर्गत नेपालले मंसिर १० गते शुक्रबार मलेसियासँग खेल्नेछ भने मंसिर १२ गते आईतबार आयोजक युएईको सामना गर्नेछ ।

एशिया छनौटको शिर्ष स्थानमा रहने टोलिले विश्वकपको ग्लोबल छनौट प्रतियोगिता खेल्ने मौका पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :