जित कुन्डोमा नितेशलाई स्वर्ण

काठमाडौं । काठमाडौंका नितेश श्रेष्ठले दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५,५–५० केजीमा बिहीबार स्वर्ण जितेका छन् ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेशले नुवाकोटका विक्रम थापा मगरलाई पराजित गर्दै पहिलो स्वर्ण जिते । धनगढीका प्रदिप साउदले तेश्रो स्थानमा चित्त बुझाए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापाले पुरस्कृत गरे ।

धापासीस्थित श्रीसमाज भवनमा भइरहेको प्रतियोगिताको पुरुष ५०,५–५५ केजीमा नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राईले स्वर्ण भिडन्त पक्का गरे । तेश्रो स्थानका लागि धनगढीका नवीन ऐर र ललितपुरका दिरन राईबीच खेल हुने छ । ६०,५–६५ केजीमा धनगढीका रोशन देउवा सेमिफाइनलमा पुगे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतका १ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव शिव थापाले जनाएका छन् ।

पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा समावेश प्रतियोगितामा प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको छ । स्वर्ण जित्नेले २५ हजार, रजतले १० हजार र कांस्यले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :