फुटबलर दिपालाई डेब्यु खेलले दिलाएको परिवारको साथ

लक्ष्मी शाक्य

काठमाडौं । ‘नेपालकै विकट जिल्लामा गनिने हुम्ला जिल्लामा जन्मिएकी म, छोरी मान्छेले फुटबल खेल्न हुँदैन भन्ने संकुचित सोचबाट गुज्रिएको मेरो गाउँमा मलाई फुटबल खेल्न न कसैको साथ थियो न त सपोर्ट नै । जब मेरो विद्यालय जीवन शुरु भयो, अध्ययन क्रमिक रुपमा अघि बढ्दै गयो, स्कुल पढ्दा केटा साथीहरु फुटबल खेल्दै गरेको देख्थें, फुटबल देख्नासाथ मेरो कलिलो मानसपटलमा छुट्टै प्रकारको तरंग पैदा हुन्थ्यो । फुटबलसँगै रमाउँ अनि खेलौं भन्ने इच्छा जागेर आउँथ्यो तर मेरो ठाउँमा कुनै पनि छोरी मान्छेलाई खेल्नको लागि छुट थिएन । विद्यालय सयममा केटा साथीहरुले खेलेको हेरेरै फुटबल खेल्ने मेरो प्यास मेट्थें ।’

यस्तै यस्तै तितो र यादगार क्षणहरुको सँगालोबाट शुरु भयो झापाकी एक प्रतिभावान उदाउँदो फुटबल खेलाडी दिपा शाहीको खेल जिवन ।

समय बित्दै जाँदा फुटबलप्रति म दिनप्रतिदिन लोभिदै गए । खेल्नको लागि केटी साथीहरु त थिएन । त्यसपछि कहिलेकाहीं केटा साथीहरुसँगै भए पनि फुटबल खेल्न थाले । शुरुका दिनहरुमा मैले फुटबल छुन मात्र पाए तर खेल्न पाइन । त्यसपछि साथीहरु बटुलेर मोजाको बल खाली खुट्टाले खेल्न थाले नतर खेलेर घर फर्किएपछि आमा बुबाको गाली नखाएको दिन हुँदैन थियो । मेरो शरीरीको नशा नशामा फुटबल मिसिएपछि समाज अनि परिवारले मलाई फुटबलमा लाग्न नदिन जति नै प्रयास गरेपनि उहाँहरुको प्रयास आखिर बालुवामा पानी खन्याए सरह भयो ।अन्त्यमा जित मेरो भयो ।’ यो भनाई हो, केहि समय अघि राजधानीमा सम्पन्न उपमेयर राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा उत्कृष्ट खेलाडीको अवार्ड जितेकी दिपा शाहीको ।

गत कार्तिक २८ गते ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न उपमेयर राष्ट्रिय महिला लिगमा झापाको कन्काई नगरपालिकाबाट खेलेकी दिपा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सर्वोत्कृष्ट खेलाडी बनेकी दिपाले पुरस्कार स्वरुप नगद ५० हजार पुरस्कार समेत प्राप्त गरेकी थिइन् ।

दिपाको उत्कृष्ट प्रदर्शनको सहयोगमा कन्काई नगरपालिकाले उपमेयर राष्ट्रिय महिला लिग छनौटमा सेमिफाइनसम्मको यात्रा तय गर्न सफल भएको थियो । यद्यपी कन्काई सेमिफाइनलमा ललितपुर महानगरपालिकासँग १–० गोल अन्तरले पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित बनेको थियो ।

प्रतियोगितामा जब कन्काई कुनै क्लबविरुद्ध मैदान प्रवेश गथ्र्यो तब प्रशिक्षक तथा फुटबल समर्थकको ध्यान दिपातर्फ केन्द्रित हुन्थ्यो । यसो त दिपाको खेल कौशल नै त्यस्तै थियो । स्थानिय स्तरको फुटबल प्रतियोगितामा जब जब दिपा मैदानमा प्रवेश गर्थिन् सबैको चासो र उत्साहको विषय दिपा नै हुने गर्थिन्. । नहोस् पनि किन ? उनको खेल्ने शैली जो आकर्षक र कलात्मक अनि लोभलाग्दो नै छ ।

‘प्रतियोगितामा जति जति खेल खेल्दै गइन् उति उति उनको खेल निखारिदै गएको महशुस हुन्थ्यो, उनको प्रदर्शन कुनै राष्ट्रिय स्तरका खेलाडीको भन्दा कम थिएन’,कन्काई नगरपालिकाका प्रशिक्षक सन्तबहादुर रायमाझी भन्छन्,‘स्थानीय स्तरका प्रतियोगितामा मैले दिपाको खेल देखेको थिएं, त्यसयता मैले उनलाई फलो गर्दै आएको थिए र अहिले उनलाई कन्काईबाट खेलाए । हाम्रो टोली प्रतियोगिताको फाइनल पुग्न नसकेपनि दिपा लगायत टोलीका अन्य खेलाडीको प्रदर्शनले मलाई सन्तुष्ट बनाएको छ ।’

प्रशिक्षक रायमाझीको पहलमै महिला लिग छनौट खेलेकी दिपाको राष्ट्रिय स्तरका प्रतियोगितामा यो डेब्यु खेल हो । छनौट प्रतियोगिता खेल्नुअघि दिपा निक्कै नर्भस थिईन् । सबैले विश्वास गरेर राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न टोलिमा स्थान प्रदान गर्नेहरुको विश्वासमाथि खरो उत्रन सकिएला नसकिएला भन्ने चिन्तनले दिपालाई शुरुमा निक्कै गाह्रो बनायो ।

‘म राष्ट्रिय महिला लिग छनौट खेल्ने निश्चित भएपछि तयारीमा त जुटे तर मनमा शंका पैदा भएको थियो कि लिगमा कतै मैले आफ्नो खेल राम्रोसँग प्रस्तुत गर्न सक्छु सक्दिन अथवा भनौ आफूलाई विश्वास गर्नेहरुको परिक्षामा पास हुन्छु वा हुन्न’,दिपाले भनिन्,‘जब लिगमा हामी सेमीफाइनलसम्म पुग्यौं तब मलाई लाग्यो राम्रो प्रस्तुति गरेर नै हाम्रो टोली सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो । जे होस् सोचेको भन्दा राम्रो नै खेल मैले दर्शकहरुलाई देखाए, प्रतियोगितामा सकिनु र उत्कृष्ट खेलाडीको पुरस्कार मैले नै पाउनुले अहिले म आफूलाई नै मेरो खेल्ने शैलीमा सुधार आएको महशुस भएको छ भने डेब्यु लिगमा मिलेको सफलताले मलाई आगामी दिनमा निरन्तर फुटबलमा लाग्ने प्रेरणा मिलेको छ । नेपाली महिला फुटबलको स्तरओन्नतिका लागि अझै राम्रो गर्दै जानुपर्छ भन्ने आत्मविश्वास बढेको छ।’

डेब्यु खेलले दिलाएको परिवारको साथ

हुम्लास्थित ठाकुरनाथ गाउँपालिका वडा नम्बर पाँचमा जन्मिएकी दिपा परिवारको पहिलो सन्तान हुन् । उनको परिवारमा उनको बुबा दलबहादुर शाही, आमा श्रीदेवी शाही, एक भाई र एक बहिनी छन् । फुटबल खेल्नका लागि परिवारको साथ नमिलेपछि पढाईमै केन्द्रित हुँदै आएकी १७ वर्षिय दिपाले राष्ट्रिय लिग खेल्नको लागि निकै प्रयासपछि मन्जुरी पाएकी थिइन् ।

यसअघि परिवारको सहमति बिना नै स्थानीय स्तरको प्रतियोगिता खेल्दा परिवारबाट निक्कै गाली खाएको सम्झदै दिपाले भनिन्,‘हुम्लामा छोरीले खेल्नुहुन्न, पढ्नुपर्छ भन्ने मानसिकता अझै पनि कायमै छ । सानोमा म केटा साथीसँग फुटबल खेल्न गएको कुरा गाउँका मान्छेले थाहा पाएपछि तेरो छोरी बिग्री भनेर मेरो बुबा आमालाई कुरा लगाई दिएको अनि घर फर्किएपछि खानाको सट्टामा गाली खाँदै सुतेको ती दिनहरु मलाई अझै याद छ ।’

आफ्नो चाहँ र ईच्छाले मनमुटुमा तिव्र बेग प्रदान गरिरहेको दिपालाई फेरी पनि गाउँघरको सोच र मानसिकता तगारो बन्ने निश्चित रहेको झै मनमा तिता विषयले घर बनाईरहेको अनुभव सनाउँछिन् ।

‘खेल्नको लागि परिवारको साथ पहिलो प्राथमिकतामा आउँछ तर मैले त्यो साथ नपाउने देखेपछि एक समय अब म फुटबल खेल्दिन र राम्रो पढ्छु भन्ने प्रणगरि पढाईलाई नै प्राथमिकता दिए, बुबा आमाको कुरा सुनेर पढाई पढाई भन्दै फुटबलदेखी पर भागेपनि फुटबलले मेरो पिछा छोडेन, कुनै समय फुटबल खेल्दिन भन्ने मनशाय बनाएकी म अहिले पुनः फुटबल खेल्ने मात्र नभई राम्रो खेलाडीको रुपमा आफूलाई स्थापित गर्छु भन्ने निर्णयमा फर्किएकी छु ।’

दिपालाई पुनः यो हौसला मिल्नुमा उपमेयर राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताले ठूलो भुमिका खेल्यो । जब दिपा लिगको सर्वोत्कृष्ट खेलाडीको उपाधि थाप्न मञ्चमा प्रवेश गर्दैथिइन्, उनकी आमा श्रीदेवी मञ्च नजिकै थिइन् । श्रीदेवी छोरीको खेल हेर्नकै लागि हुम्लादेखी काठमाडौं आईपुगेकी थिइन् । छोरीले उत्कृष्ट खेलाडीको उपाधि लिदै गरेको देख्दा श्रीदेवीको मुहारमा छुट्छै हर्ष थियो ।

‘मैले उत्कृष्ट खेलाडीको उपाधि लिदै गर्दा, मेरी आमा पनि एन्फा मैदानमै थिइन्, जब म उपाधिसहित आमाको नजिक पुगे, पहिलो पटक मेरी आमा मलाई खेल्नको लागि हौसला दिदै हुनुहुन्थ्यो, दिपाले त्यो क्षण सम्झदै भनिन्, अहिले मेरो बुबा आमा दुवै जना हामीले चेतनाको कमिको कारण तिमिलाई खेल्नबाट बञ्चित गराउँदै आयौं, खेलेर पनि राम्रो गर्न सकिदो रहेछ भन्ने बल्ल थाहा पायौं, अब हामी खेल्नको लागि तिमिलाई कहिलै बन्देज लगाउने छैनौं । तिमि खेल्नु आगामी दिनमा अझै राम्रो गर्दै जानु भन्नुहुन्छ ।’

फुटबलसँगै पढाईमा पनि अब्बल दिपा

अट्याकिङ्ग मिडफिल्ड पोजिसनबाट उत्कृष्ट फुटबल खेल्ने दिपा पढाइमा पनि अब्बल छिन् । यसअघि पढाईमा केन्द्रित हुँदै आएकी दिपा अब पढाईसँगै खेललाई पनि अघि बढाउने सोचमा छिन् । दिपा अहिले काठमाडौस्थित केयुसीटी कलेजमा बीबीएसमा अध्ययनरत छिन् ।

कक्षा पाँचसम्म हुम्लाको कलशिल्टा प्राथमिक विद्यालय र त्यसपछि मनेश्वर माध्यमिक विद्यालयमा कक्षा १० सम्मको अध्ययन सकेर दिपा अध्ययनको शिलशिलामा काठमाडौं आएकी थिइन् ।

त्यसपछि उनले प्सल टु काठमाण्डौंस्थित रिलायन्स इन्टरनेशनल कलेजमा विज्ञान विषयबाट पुरा गरिन् । यो बीच दिपा पढाईबाट बचेको खाली सयममा उनी कहिले काही फुटसल खेल्ने गर्थिन् । यस्तै उनले ब्रिजब्लू अन्तर्राष्ट्रिय विद्यार्थी फुटसल प्रतियोगिता, मेगा पावर महिला कप र प्रथम उपमेयर कप झापा लगायत स्थानीय प्रतियोगिता खेलेकी छिन् ।

‘मेरो लागि खेलसँगै पढाई पनि उत्तिकै महत्वपूर्ण छ, अब खेलमा केन्द्रित हुन्छु भनीरहँदा पढाईलाई छाँड्ने मेरो सोच छैन । खेल भएको समयमा खेल अनि अभ्यासलाई समय दिन्छु त्यसपछिको बाँकी समयमा म पढाईलाई पनि सँगै लैजान्छु’ दिपाले भनिन् ।

परिवारको साथले फुटबललाई निरन्तरता दिने र छिट्टै नै राष्ट्रिय टोलीको जर्सी पहिरीएर देशको लागि खेल्ने सपना बुन्दै गरेकी दिपा राष्ट्रिय टोलीकी मुख्य रोजाइकी मिडफिल्डर सरु लिम्बुको खेलबाट निक्कै प्रभावित रहेको बताउँछिन् । राम्रो लाग्ने लाग्ने बताउछिन् ।

‘अन्य दिदिहरुको खेल पनि राम्रो लाग्छ त्यसमध्ये मलाई सरु दिदिको खेल धेरै मनपर्छ उहाँको खेलहरु फलो गर्छु, मलाई विश्वास छ पनि एक दिन उहाँजस्तै राष्ट्रको लागि खेल्न सक्नेछु, सोहि अनुसार अघि बढ्नेछु’,दिपाले थपिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :