सदस्य–सचिव घिसिङद्वारा पदवहाली

काठमाडौें । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदवहाली गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए ।

घिसिङलाई सोमबारको मन्त्री परिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि मंगलबारै सदस्य–सचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरे ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्य–सचिव घिसिङलाई नियुक्ती पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले काम काज सहि र सरल ढंगले अगाडि बढाउनु पर्ने बताउदै खेलाडीको मनोबल उच्च बनाउन र पूर्वाधार विकासमा जोड दिनु पर्ने बताए । मन्त्री गहतराजले मन्त्रालयसंग जवाफदेही हुँदै खेल संघसंग घनिष्ठ सम्बन्ध राख्दै काम अगाडि बढाउनु पर्ने बताउदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपले एउटा योग्य नेतृत्व पाएको धारणा व्यक्त गर्दै नवनियुक्त सदस्य–सचिवलाई अवसर र चुनौती दुवै रहेको बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले विद्युतमा कुलमान घिसिङले जस्तै खेलकुदमा नवनियुक्त सदस्य–सचिवले उदाहरणीय र प्रशंसनीय कार्य गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त सदस्य–सचिव घिसिङले नेपाल सरकारले जुन विश्वास र जिम्मेवारी सुम्पिएर पठाएको छ त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय टोलीको सुधार गर्नु पर्ने आवश्यकता औल्याए । नेपाल रग्बी संघका अध्यक्ष घिसिङले उक्त पदबाट राजिनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :