झापालाई हराउँदै भारतको मानेभञ्ज्याङ्ग सेमिफाईनलमा

इलाम । इलाममा जारी माईजोगमाई अध्यक्ष कपमा भारतको मानेभञ्ज्याङ्ग फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजार स्थित बालागुरु खेलमैदानमा आज सम्पन्न दोश्रो क्वार्टरफाईनल खेलमा मानेभञ्ज्याङ्गले झापाको गाडागल्ली इनोभेटिभ सोसाइटीलाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मानेभञ्ज्याङ्गको जितमा कप्तान इलाले दुई तथा सुराग क्षेत्रीले एक गोल गरे । झापाका लागि पुजन र योमेले एक एक गोल गरे ।

खेलको सुरुवाती अग्रता मानेभञ्ज्याङ्गले लिएको थियो । डिबक्सभित्र झापाका गोलरक्षकले फाउल गरेपछि पाएको पेनल्टी किकको मौकालाई कप्तान इलाले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको झापाले दोश्रो हाफमा गोल फर्कायो । मौसमले अवरुद्ध बनेको खेलको ३५ औ मिनटमा सब्स्टिट्युट खेलाडी पुजनले खेलमा बराबरी गोल फर्काए ।

खेलको ४३ औ मिनेटमा अफ्रिकी खेलाडी योमेले गोल गर्दै झापालाई २–१ गोलको अग्रता दिलाए ।

खेलको अन्तिम समयमा इला र सुराग क्षेत्रीले गोल गर्दै मानेभञ्ज्याङ्गलाई ३–२ गोल अन्तरको जित दिलाए ।

खेलको म्यान अफ दि म्याच सुराग क्षेत्री घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोली २ वटा क्वार्टरफाइनलका खेलहरु हुँदैछन् । पहिलो खेलमा रेडहर्स इलाम र पाँचथर फुटबल क्लब भिड्दैछन् ।

यसैगरी दोश्रो खेलमा आयोजक रातो र जनता सेभेन सूर्योदयन नगरपालिका प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :