अनुज्ञालाई स्वर्ण

काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटाले बागमतीस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेकी छन् ।

जैशीदेवल युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ४२–४६ केजीको फाइनलमा अनुज्ञाले काठमाडौं महानरपालिकाकी दिया रजकलाई पराजित गरिन् ।

महिला ४६–५० केजीमा गोदावरी नगरपालिकाकी रोसल्यान ओझाले काठमाडौंकी सुमिना खड्गीलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारिन् । महिला ३५–३८ केजीमा काठमाडौंकी पुनम खत्री तथा ३८–४२ केजीमा काठमाडौंकै आकृति गुरुङले स्वर्ण चुमे ।

पुम्से एकलको पुरुषमा गोदावरीका श्रृजल श्रेष्ठ र महिलामा कागेश्वरीकी सन्ध्या लामा तथा पेयरमा नागर्जुनका आशिष श्रेष्ठ र मोनिका मगरले शीर्ष स्थान हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ३१–३४ केजीमा काठमाडौंका रोहन भुजेल, ३४–३८ केजीमा आयोजक जैशीदेवलका राहुल लिम्बू तथा ३८–४२ केजीमा पनौती नगरपालिकाका कैलाश थापाले स्वर्णमाथि कब्जा जमाएको प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जनाएका छन् ।

विजेतालाई नागर्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेत, नागर्जुन नगरपालिका वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठलगायतले पुरस्कृत गरे ।

सोमबार सम्पन्न हुने प्रतियोगितामा २० स्पर्धा समावेश छन् । उत्कृष्ट विधाका साथै हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई नगदबाट पुरस्कृेत गरिने आयोजकका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :