सर्वोच्चद्वारा राणा र अन्सारी अध्यक्ष रहेका दुवै कुस्ती संघ खारेज

बिभा थापा

काठमाण्डौं । सर्वोच्च अदालतले नारायणदेव राणा र राज महम्मद अध्यक्ष रहेको दुवै नेपाल कुस्ती संघलाई खारेज गरेको छ ।

माननीय न्यायाधिस दीपकुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले राणा अध्यक्ष रहेको नेपाल कुस्ती संघको पदावधि समाप्त भएको र राज महम्मद अध्यक्ष रहेको कुस्ती संघ अवैधानिक भएको जिकिर गर्दै दुवै संघलाई खारेज गर्ने फैसला सुनाएको हो ।

राष्ट्रिय खेलकुद परिषदले २०७६ असार ९ गते राणा अध्यक्ष रहेको कुस्ती संघलाई खारेज गर्दै राज महम्मद मियाँ अन्सारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

राखेपले कानुन विपरित आफ्नो संघलाई विघटन गरेपछि राणाले आफ्नो संघ वैधानिक भएको र यसको निरन्तरताको लागि सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

यसअघि २०७२ साल जेठ २५ गते सम्पन्न नेपाल कुस्ती संघको निर्वाचनवाट राणा अध्यक्षमा निर्वाचित भएका थिए ।

राणा अध्यक्ष रहेको नेपाल कुस्ती संघको कार्यकाल २०७६ जेठ २४ मा समाप्त भएको थियो । यसपछि राणा अध्यक्ष रहेको संघले नेपाल कुस्ती संघको नयाँ निर्वाचनको लागि राखेपमा निवेदन दर्ता गर्दा सदस्यसचिव रमेशकुमार सिलवालले स्वीकृति दिएनन् ।

नयाँ निर्वाचनको लागि २०७६ जेठ २ गते निर्वाचन समिति गठन भैसक्दा समेत उल्टै यसलाई नजरअन्दाज गर्दै सिलवालले अन्सारीको अध्यक्षमा तदर्थ समिति गठन गरेका थिए । सिलवालको यस्तो गैरकानुनी कार्यले कुस्तीको विवाद सर्वोच्चमा पुगेको थियो ।

सर्वोच्चले पनि कानुन अनुसार निवेदन परेपछि त्यसको सम्वन्धमा निर्णयगरि स्वीकृति प्रदान गर्नुपर्ने पदीय जिम्मेवारी भएका सदस्यसचिववाट कुनै निर्णय नगरि त्यत्तिकै राख्नु कानुन विपरित भएको फैसलामा उल्लेख गरिएको छ ।

साथै सर्वोच्चले यतिबेला दुवै संघ खारेज भएको अवस्थामा नेपाल कुस्ती संघ पदाधिकारी विहिन रहने हुँदा आदेश प्राप्त भएको तीन महिनाभित्र रिट निवेदकले पेस गरेको निर्वाचन समितिलाई आवश्यक परिमार्जन गरि निर्वाचन गर्नु गराउनु भनि राखेपको नाममा परमादेश आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :