स्वर्ण विजेतालाई पुरस्कार

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले मात्र ४ स्वर्ण जितेको थियो । तिनै ४ स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

व्यक्तिगत स्पर्धामा स्विकार रजक, सुस्मिता मोक्तान र रन्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए । चारै स्वर्णका लागि समान ५–५ हजार नगद पुरस्कार प्रदान गरियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकाल, बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले स्वर्ण विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा उक्त प्रतियोगितामा रजत र कांस्य पदक जित्न सफल काठमाडौंका खेलाडीलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टिम प्रशिक्षकत्रय गौरव रजक, रञ्जन श्रेष्ठ र कमल श्रेष्ठ पनि प्रशंसा पत्रबाट सम्मानित भए ।

त्यस अवसरमा काठमाडौं जिल्लाका विभिन्न ११ नगरपालिकामा तेक्वान्दोको विकास र विस्तारका लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्ना कार्यसमितिका पदाधिकारीलाई संयोजक तोक्दै पत्र पनि हस्तान्तरण गर्यो ।

संखरापुरमा घनश्याम कार्की र मुना खवास, कागेश्वरी मनोहरामा घनश्याम कार्की, गोकर्णेश्वरमा सारदा धिमाल, बूढानीलकण्ठमा गणेश तामाङ, टोखामा कविता श्रेष्ठ, तार्केश्वरमा सानुबाबु महर्जन, काठमाडौंमा राजेन्द्र पुजारी, नागर्जुनमा सरोज बाँस्कोटा, चन्द्रागिरीमा प्रदीप आले, दक्षिणकालीमा मनोजकुमार शाह र कीर्तिपुरमा दशरत्न शाहीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै काठमाडौं जिल्ला तेक्वान्दो संघले विभिन्न समिति गठन गर्दै संयोजकलाई पनि सोही कार्यक्रममा पत्र हस्तान्तरण गर्यो । प्रतियोगिता समितिमा सरोज बाँस्कोटा, ग्रेडिङ समितिमा मनोजकुमार शाह, निर्णायक समितिमा अशोक खड्का, जिल्ला टिम तयारी समितिमा गौरव रजक, अनुशासन तथा अनुगमन समितिमा गणेश तामाङ र आर्थिक समितिमा सारदा धिमाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ, युकेका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेको २५ थान कुर्सी पनि काठमाडौं जिल्ला तेक्वान्दो संघलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :