फुटबलमा दुर्गन्ध फैलाउँदै थापाको जिल्ला भ्रमण

श्रीविक्रम भण्डारी

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले हालै गरेको जिल्ला भ्रमणले विभिन्न शंका उपशंका उत्पन्न गराएको छ । फिफाद्वारा प्रतिबन्धित थापाले एन्फाका जिल्लाका केहि पदाधिकारीलाई भेटेको तस्वीर सामाजिक सञ्जालमा राखेर फुटबलमा दुर्गन्ध फैलाउने दुःस्साहस गरेका छन् । थापाको यो हरकतले फुटबल तरङ्गित हुनुको साँटो उनको जिल्ला भ्रमणको अभिष्ट के थियो त्यसको पर्दाफास भएको छ ।

जिल्लाका पदाधिकारीमध्ये कसैलाई प्रत्यक्ष र कसैलाई अप्रत्यक्ष (फोन वार्ता) मार्फत भेटेका थापाले यो जिल्ला भ्रमणलाई ठूलो उपलब्धि मान्नुको साथै अहिले पनि एन्फा आफ्नो मूठ्ठीमा रहेको आवरणमा देखाउन खोजका छन् । जुन कुरालाई थापाले सामाजिक सञ्जालमा ति एन्फाका पदाधिकारीसंग भेटेर राखेको तस्वीरले पनि प्रमाणित गर्छ ।

थापाले भारत भ्रमण गर्ने क्रममा मार्गमा पर्ने गोरखा, तनहुँ, रौतहट, सिरहा, सर्लाही, मोरङ, सुनसरी र झापाका एन्फाका पूर्व र वर्तमान एन्फा पदाधिकारीलाई भेटेका थिए । यी मध्य कतिपय पदाधिकारीले थापालाई आत्मियरुपमा भेटेपनि केहिले अनौपचारिकरुपमा जवरजस्ती तरिकाले मात्र भेटेका थिए ।

थापाको कथित भारत भ्रमणको क्रममा वर्तमान एन्फाका उपाध्यक्ष पंकज नेम्वाङ्गले स्वागत र विदाई गरेका थिए । काठमाण्डौंवाट स्वागत गर्न झापा पुगेका उपाध्यक्ष नेम्वाङ्गले सोहि दिन थापालाई भारतको लागि विदाई गरेर काठमाण्डौं फर्केका थिए । सो कुरालाई थापाले सामाजिक सञ्जालमा राखेको नेम्वाङ्गसहितको तस्वीरले पुष्टि गर्छ ।

थापासंगकै सामिप्यका कारण पटक पटक विवादमा पर्दै आएका नेम्वाङ्ग यस पटक पनि यहि सामिप्यका कारण विवादमा तानिएका छन् । फिफाले १० वर्षे प्रतिबन्ध लगाएको व्यक्तिसंग एन्फाका कार्यसमितिका कुनै पनि पदाधिकारीको साँठगाँठ अवैधानिक मानिन्छ । तर नेम्वाङ्गले यो कुरा लत्याउँदै लामो समयदेखि थापासंग हिमचित बढाउँदै आएका छन ।

शेख हमाम एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्षमा उठेको बेलादेखि नै थापा र नेम्वाङ्गविच लगनगाँठो कसिएको थियो । एएफसीको निर्वाचनमा थापासंगै नेम्वाङ्ग पनि साथै गएका थिए । शेख हमामले सलमान शेखलाई २३–२१ अन्तरले जितेको उक्त निर्वाचनमा थापाको भोट निर्णायक बनेको थियो ।
फिफाले १० वर्षे कारवाही भनेपनि यो आजीवन कारवाहि सरह हो । आजिवन कारवाहीमा परेको व्यक्तिले फुटबलको कुनैपनि गतिविधिमा संलग्न हुन पाउँदैन । फुटबलको क्लब समेत खोल्न पाउँदैन, रङ्गशालामा वसेर फुटबल चाहिँ हेर्न पाउँछ । त्यसमा चाहिँ प्रतिवन्ध लाग्दैन ।

थापा फिफाको कारवाहिमा परेपछि उनलाई २० हजार स्वीस फ्रेङ्क अर्थात करिब २१ लाख नेपाली रुपैयाँ जरिवाना भएको थियो । तर उनले उक्त जरिवाना तिरेको नतिरेको कुरालाई अहिलेसम्म गोप्य राखिएको छ । हुन्डीबाट तिरे कारवाही हुने र राष्ट्र बैङ्क मार्फत तिर्दा फिफाको स्वीकृति लिनु पर्ने हुँदा थापाले उक्त जरिवाना कसरी तिरे अहिलेसम्म खुलासा भएको छैन । त्यस्तै थापाले उक्त रकम हमामसंग सापटी लिएर तिरेको आशंका छ । प्राप्त जानकारीका अनुसार थापाको मलेसियामा खाता भएकोले त्यहिँवाट तिरेको हुन सक्छ ।

नेम्वाङ्ग र थापाको सम्वन्धलाई फैलाउन, फुलाउन र सुनमा सुगन्ध भर्ने काम नविन पाण्डे भन्ने नेपाली मूलका विदेशी नागरिकले गरेका थिए । यहिवाट ढकमक्क फुल्न पुगेको थापा र नेम्वाङ्गको सम्वन्ध अहिले नङ्ग र मासुजस्तै बनेको छ । अँझ थापाले नेम्वाङ्गलाई एन्फाको अध्यक्ष वनाइदिन्छु भन्दा अहिले नेवाङ थापाको हनुमान नै बनेका छन । त्यसैले उनी थापाको चाकरी गर्न कहिल्यै चुकेका छैनन् । यो कुरालाई हालै थापाको जिल्ला भ्रमणको क्रममा झापामा नेम्वाङ्गले थापालाई स्वागत र विदाई गरेको घटनाले पनि पुष्टि गर्छ ।

यतिबेला फुटबलमा थापाको कति पकड छ, त्यो उनले गृह जिल्ला मकवानपुरमा गुमाएको पकडले पनि प्रस्ट पार्छ । अन्य जिल्लाको कुरा गर्दा थापा बबुरो नै हुन् भन्दा अतिसयोक्ति नहोला । थापाको यस्तो दयनिय अवस्थाको ज्ञात हुँदाहुँदै पनि नेम्वाङ्गले थापाको पुच्छर समातेर बैतरणी तर्ने मूर्खता किन गरेका हुन्, त्यो अहिले चर्चाको विषय बनेको छ ।

यतिबेला थापाको पछि लागेर आफ्नो खुट्टामा आफैले बञ्चरो हानिरहेका नेम्वाङ्गलाई थापाले कुन औषधिको घुट्कि पिलाएका छन् त्यो समझ भन्दा बाहिरको कुरा बनेपनि नेम्वाङ्गको काँधमा बन्दुक राखेर एन्फामाथि निशाना लगाउन भने थापा सफल भएका छन् । प्रतिक्षा गरौं, नेम्वाङ्गलाई अध्यक्ष र आफ्नो छोरा गौरव थापालाई एन्फाको महासचिव वा सिइओ वनाउन थापा कत्तिको सफल हुन्छन् ।

यो सामाग्रीमा प्रयोग भएको सम्पूर्ण तस्विर गणेश थापाको फेसबुकबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :