राखेपको विषय अदालतमा पुग्नु दुर्भाग्यपूर्ण : खेलकुदमन्त्री गहतराज

काठमाण्डौं । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव सम्बन्धिको मुद्दालाई लामोसमय सम्म झुलाएर राखेको आरोप लगाएका छन् ।

आजबाट शुरु भएको पीएम कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री गहतराजले अदालतले राखेपको सदस्यसचिव सम्बन्धिको मुद्दालाई लम्ब्याएर झुलाउने प्रयास गरेको आरोप लगाएका हुन् ।

मन्त्री गहतराजले राखेप जस्तो संस्थाको विषय अदालतमा पुग्नु आफैमा दुर्भाग्यपूर्ण रहेको बताउँदै मुद्दालाई थप लम्ब्याउँदै झुलाउनु अझै दुर्भाग्यपूर्ण रहेको जिकिर गरे ।

‘राष्ट्रिय खेलकुद परिषद् जस्तो संस्थाको केस अदालतमा जानु आफैमा दुर्भाग्यपूर्ण कुरा हो र त्यसपछि फेरी यो अदालत गइसकेपछि पनि यसलाई लामो समय झुलाउनु भनेको झनै दुर्भाग्य हो’,मन्त्री गहतराजले भने,‘किनकी यो संक्रमणकालिन अवस्थालाई छिट्टै चिरिनेछ र टंकलाल घिसिङ्गले काम गर्ने आधार तयार हुनेछ ।’

उनले चाँडै नै यो संक्रमणकालिनको छिट्टै अन्त्य हुँदै राखेपले कार्यकारी नेतृत्व हासिल गर्दै खेल क्षेत्र चलायमान हुने विश्वास रहेको बताए । उनले प्रतिक्रिया दिने क्रममा कार्यकारी नेतृत्वको रुपमा टंकलाल घिसिङ्गले काम गर्ने आधार तयार हुनुपर्ने जिकिर गरेका थिए ।

गहतराजले भने,‘राखेपले कार्यकारी नेतृत्व प्राप्त गरेर अगाडी जाने आधार र काम गर्ने आधार छिट्टै मिल्नेछ भन्ने हाम्रो बुझाई छ ।’

यस्तै मन्त्री गहतराजले क्रिकेटमा देखिएको समस्यालाई क्यान पदाधिकारी र खेलाडीसँग छिट्टै बसेर छलफल गर्ने बताए । उनले अन्तराष्ट्रिय स्तरमा नेपालले देखाएको सम्भावना र अवसरलाई बरकरार राख्न छलफल समेत चलिरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :