पीएपम कप क्रिकेटमा सुदुरपश्चिम प्रदेशको पहिलो जित

काठमाडौं । सुदुरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले पहिलो जित हासिल गरेको हो ।

यसअघिको खेलमा सुदुरपश्चिम नेपाल पुलिस क्लबसँग २ रनको पराजित भएको थियो ।

यता तीन खेल खेलिसकेको कर्णालीको भने यो दोश्रो हार हो । त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको कर्णालीले प्रदेश १ लाई ३१ रनले हराएको थियो ।

आजको खेलमा जितका लागि सुदुरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने कर्णालीले १९ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो ।

कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको जोड्दा अर्जुन घर्तीले ३० रन जोडे ।

सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिदा हेमन्त धामीले २ तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो ।

सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा वसन्त कार्कीले २८, दिपक बोहराले २५ तथा खडक बोहराले २२ रन जोडे ।

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पार्दा रविन्द्र शाही र दिवान पुनले १-१ विकेट लिए भने दिनेश अधिकारीले १ विकेट हात पारे ।

यस्तै आजका लागि तय भएको समूह ए अन्तर्गतकै अर्को खेल भने गयराति भएको वर्षाका कारण प्रभावित बनेको छ । मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको आजको खेल मैदान भिजेका कारण स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :