प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको पहिलो जित

काठमाडौं । लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको समूह बी अन्तर्गतको खेलमा प्रदेश २ लाई ४२ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित हासिल गरेको हो ।

लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनको पराजय भएको थियो ।

प्रदेश २ को भने तीन खेलमा दोस्रो हार हो । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग २४ रनको हार बेहोरेको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा जितका लागि लुम्बिनी प्रदेशले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो।

प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन बनाउँदा हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन जोडे ।

लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पार्दा कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो ।

लुम्बिनीका लागि देव खनालले ५४ रनको अर्धशतकिय इनिङ्स खेल्दा बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे ।

प्रदेश २ का विवेक यादव र रुपेश सिंहले समान २-२ विकेट लिदा हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान १-१ विकेट हात पारे ।

प्रतियोगितामा सहभागि १० टोलिलाई दुई समूहमा विभाजित गरेर पहिलोपटक टि २० फर्म्याटमा खेलाइएको छ । यसअघि यो प्रतियोगिता ५० ओभरको एकदिवसीय फर्म्याटमा हुँदै आएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत नेपाल एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

सिङ्गल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको समूहको विजेता र उपविजेता टोलिले सेमिफाईनलमा स्थान बनाउनेछ ।

प्रतियोगिताको फाइनल खेल आगामी माघ ५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :