प्रधानमन्त्री कपः लगातार तेश्रो जितसँगै एपीएफ सेमिफाइनल नजिक

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेश्रो जित हासिल गरेको छ ।

मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको समूह बी अन्तर्गतको खेलमा गण्डकी प्रदेशलाई २ रनले पराजित गर्दै एपीएफले लगातार तेश्रो जित हासिल गरेको हो ।

यसअघि एपीएफले प्रदेश २ र बागमती प्रदेशलाई पराजित गरेको थियो । जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ ।

गण्डकीको भने प्रतियोगितामा यो लगातार दोस्रो हार हो । गण्डकीले पहिलो खेल प्रदेश २ सँग २ विकेटले पराजित भएको थियो ।

आजको खेलमा जितका लागि एपीएफले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।

गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ बनाउँदा विधान श्रेष्ठले २९ रन जोडे ।

एपीएफका कमल ऐरीले तीन विकेट लिदा किशोर महतोले दुई तथा अविनाश बोहराले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो ।

एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रन बनाए ।

गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पार्दा विशाल पौडेलले दुई विकेट तथा कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले १-१ विकेट लिए ।

प्रतियोगितामा सहभागि १० टोलिलाई दुई समूहमा विभाजित गरेर पहिलोपटक टि २० फर्म्याटमा खेलाइएको छ । यसअघि यो प्रतियोगिता ५० ओभरको एकदिवसीय फर्म्याटमा हुँदै आएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत नेपाल एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

सिङ्गल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको समूहको विजेता र उपविजेता टोलिले सेमिफाईनलमा स्थान बनाउनेछ ।

प्रतियोगिताको फाइनल खेल आगामी माघ ५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :