प्रधानमन्त्री कपः एपीएफ र पुलिस सेमिफाईनलमा

काठमाण्डौं । समूहको सबै चार खेलमा जित निकाल्दै नेपाल एपीएफ क्लब पीएम कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुग्न सफल भएको छ ।

मुलपानीस्थित क्यानको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न समूह बी को खेलमा लुम्बिनी प्रदेशमाथि ७ विकेटको शानदार जित निकाल्दै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

जितसँगै एपीएफ ४ खेलमा ८ अंक जोडेर समूह विजेताको रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुग्यो ।

लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

एपीएफको जितमा ओपनर आशिफ शेखले २६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४३ रनको पारी खेले । यस्तै अर्का ओपनर प्रदिप ऐरीले २० बलमा ३६ रनको योगदान गरे ।

लुम्बिनीका लागि बलिङ्गमा बसिर अहमदले दुई तथा सिद्धान्त शाहीले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ्ग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४ रनको कुल योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि देव खनालले सर्वाधिक ४३ रनको योगदान गरे भने सुशान्त थापाले १८ रन जोडे ।

एपीएफका लागि कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दिपक बोहराले समान दुई–दुई विकेट लिए ।

यो पनि पढ्नुहोस्: पुलिस पीएम कप टि २० को सेमिफाईनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :