फुटबल खेलाडीहरुले आफ्नो खुट्टामा बन्चरो हानेकै हुन् त ?

श्रीविक्रम भण्डारी

यतिबेला असन्तुष्ट १० जना राष्ट्रिय फुटबल खेलाडीहरुले गिडगिडाएर बिलौना गरेको देख्दा उनीहरुले आफ्नो खुट्टामा आफैले बन्चरो हानेको कुरा स्पष्ट हुन्छ । विवेक प्रयोग गर्नु भन्दापनि कसैको लहलहै र उक्साहटमा उत्तेजित भएजस्तो लाग्ने निर्णयप्रति अहिले खेलाडीहरु पछुतो गरिरहेका छन् । अगाडि, पछाडि केहि नहेरी आफ्नो भविष्यमाथि आफैले खेलवाड गर्दा उनीहरु अहिले न घरको न घाटको स्थितिमा पुगेका छन् । परिणाम, हिजोसम्म हात्तीसरि देखिएका र सिंहजस्तै गर्जिदै आएका खेलाडीहरु अहिले मूसा बन्न पुगेका छन् । आफ्नो अस्तित्व जोगाइदिन र राष्ट्रिय फुटबल टीममा फर्काइदिन विभिन्न निकाय र व्यक्तिहरुसंग हारगुहार गरिरहेका छन् । आखिर फुटबल खेलाडीहरुलाई यस्तो दयनिय अवस्थामा कस्ले पुर्यायो त ? जवाफ सरल छ, अहम, अहंकार र अनुशासनहिनताले ।

खेलाडीले खेल्ने हो, उत्कृष्ट प्रदर्शन गर्ने हो, खेलेरै मान सम्मान प्रतिष्ठा आर्जन गर्नुको साथै दाम पनि कमाउनु हो । असन्तुष्ट भनिएका यी १० जना खेलाडीहरुले माथि उल्लेखित यी सबै केही हदसम्म आर्जन गरेका थिए । उनीहरुलाई कुनै किसिमको कमिकमजोरी थिएन, जहाँबाट जेजे पाउनु पर्ने थियो त्यो सबै पाएका थिए । तर विडम्बना, उनीहरुलाई पाकेको र पस्केको खानामाथि राखेको घ्यू पचेन । खुरुखुरु खेलेर आ–आफ्नो करियर बनाउनुको साँटो अनर्गल क्रियाकलापमा आफुलाई क्रियाशिल बनाउन उद्दत देखिए । जो उनीहरुको खेल जीवनको पाटोसंग कुनै सरोकार राख्दैनथ्यो ।

अन्यथा, प्रशिक्षकसंगको एउटा सामान्य विवादलाई फुटबल खेलाडीहरुले तीलको पहाड कदापी बनाउँदैन थिए । खेलाडीहरुलाई बहाना चाहिएको थियो, त्यसैले उनीहरुले नीहुँ खोजे, त्यसलाई सार्थक तुल्याउन उनीहरुले होटेल छोडेर गए । बहाना थियो, प्रशिक्षकले ‘जा भन्यो, हामी गयौं’ । खेलाडीहरुले आफुलाई अनुशासनको अनुयायी भएको प्रमाणित गर्दै यस्तो भनिरहँदा खुद उनीहरुको अनुशासनमाथि प्रश्नचिन्ह खडा भएको छ । यति मात्रै होइन, खेलाडीहरुलाई कसैले परिचालित गरेको गन्ध समेत यतिबेला फुटबलमा मगमगाईरहेको मात्र नभइ प्रस्टरुपमा देखिएको पनि छ । जसको जिउँदो जाग्दो उदारहण हुन्, एन्फा उपाध्यक्ष वीरवहादुर खड्का ।

यतिबेला १० जना फुटबल खेलाडीहरुले आफुलाई चोख्याउन जौं, तील, कुश,गहुँत र सुन मिसाएको गंगाजल छर्के पनि चोखिने अवस्था देखिदैन । यसर्थमा कि उनीहरु एन्फा निर्वाचनलाई प्रभावित पार्न कसैबाट चालिएका गोटी अर्थात चेसको प्यादाका रुपमा प्रयोग भएको देखिएको छ । यो कुरालाई उपाध्यक्ष खड्काले एन्फा उम्मेदवारी घोषणासभाको क्रममा दिएको अभिव्यक्तिले पनि प्रस्ट पार्छ ।

खड्काले आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रममा भनेका थिए–‘ अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा खेलाडीसंग भेट्नै चाहदैनन्, खेलाडीहरुको हक अधिकारको लागि लड्नै चाहदैनन्, उनीहरुलाई न्याय दिनै चाहदैनन्, त्यसैले अहिले खेलाडीहरु उनीप्रति निकै आक्रोशित छन् । खेलाडीहरुले मलाई भनेका छन्–‘अध्यक्ष शेर्पालाई फुटबलबाट ब्याण्ड गर्नुपर्छ, तपाईहरु आउनु पर्छ । अध्यक्ष शेर्पा राजनीति गर्ने मान्छे हो, अहिले स्थानिय निर्वाचन सकिएको छ, अब आउने निर्वाचनको लागि तयारी गरे हुन्छ, उनलाई नेतृत्वमा बस्न मिल्दैन ।’

के उपाध्यक्ष खड्काले असन्तुष्ट खेलाडीको हवाला दिदै भनेको यो कुरा सत्य हो त ? प्रश्न उठ्नु स्वभाविकै हो । होइन भने खेलाडीहरुले खड्काले भनेको यो कुराको अहिलेसम्म किन खण्डन गर्न सकेका छैनन् ? यो कुुरा आफु बोलेको होइन भनेर किन भन्न सकेका छैनन् ? खेलाडीहरुको यो मौनताले उनीहरुको विवाद गर्नुको आसयलाई समेत अहिले कठघरामा खडा गरिदिएको छ । सरसर्ति हेर्दा उनीहरु एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग गुटबाट परिचालित भएको जस्तो देखिएका छन् । अन्यथा खेलाडीले उपाध्यक्षसंग भनेकै भए पनि खड्काले उम्मेद्वारी घोषणा कार्यक्रममा निर्वाचनलाई प्रभावित पार्नेगरि यसरी खेलाडीहरुको आक्रोश भनेर कदापी सुनाउँने थिएनन् ।

अध्यक्ष शेर्पाले खेलाडीहरुलाई भेटेर गरेको कुराकानी जगजाहेर नै छ । त्यसपछि शेर्पाले घटनाको सत्यतथ्य छानविन गर्न छानविन समिति गठन गरेका थिए । उक्त छानविन समितिले गतसाता मात्रै एन्फामा आफ्नो प्रतिवेदन बुझाएको थियो । छानविन समितिले बुझाएको प्रतिवेदनमा एन्फा, प्रशिक्षक र खेलाडीहरुकोे कमजोरी औल्याउँदै त्यसमा सुधार ल्याउनुपर्ने, प्रशिक्षकको विकल्प खोज्नु पर्ने खेलाडीहरुले अनुशासनमा बस्नुपर्ने प्रस्टरुपमा उल्लेख गरेको थियो । समितिको प्रतिवेदन खुलासा भएपछि विवाद समाधान भएको अनुमान गरिएको थियो । तर खेलाडीहरुले एसियन कप छनोट चरणमा खेल्न नपाउँदा यो विवादलाई अँझै चुँइगम झैं तन्काएर फुटबलको हुर्मत लिन भने छोडेका छैनन् । खेलाडीहरुको यो हरकतलाई अहिले हार्ने गोरुको छेरुवा दाउको रुपमा चित्रण गरिन थालिएको छ ।

अहिले असन्तुुष्ट खेलाडीहरु अप्रत्यक्षरुपमा एन्फाको निर्वाचनमा होमिएका छन् । उनीहरुले यो कार्य आगामी एन्फा निर्वाचनसम्म गर्ने पक्का छ । अन्यथा खेलाडीहरुले नेम्वाङ्ग समुहलाई तपाईहरु आउनुहोस, फुटबल बचाउनु होस् कदापी भन्ने थिएनन् । यसबाट फुटबल खेलाडीहरु कहाँवाट परिचालित छन् र किन यस्तो हरकत गरिरहेका छन् त्यो कुरालाई प्रस्ट पार्छ । साँचो अर्थमा भन्नुपर्दा अहिले खेलाडीहरु नेम्वाङ्ग समुहको पुच्छर समातेर वैतरणी तर्ने तयारी गरिरहेको जस्तो देखिन्छन् । यो कुरालाई उपाध्यक्ष खड्काको हालै दिएको अभिब्यक्तिले पनि प्रस्ट पार्छ भन्दा अतिसयोक्ति नहोला ।

यतिबेला फुटबलमा खेलाडीहरुको मात्र नभइ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको चुरीफुरी बढेकै हो । खेलाडीहरुले नेम्वाङ्गको पुच्छर समात्दा अल्मुताइरीले पनि अध्यक्ष कर्मा शेर्पालाई काखि च्यापेकै हुन् । कर्मा नभए आफुले काम गर्न नसक्ने भन्नु गलत हो । यसर्थमा कि अल्मुताइरी फुटबलका प्रशिक्षक हुन्, कर्माका नीजी प्रशिक्षक होइनन् । यतिबेला फुटबलको वास्तविक तस्वीर भनेको यहि नै हो । जस्मा खेलाडी र प्रशिक्षकले आ–आफ्नो रोटी सेक्दै आएका छन् । आसन्न एन्फा निर्वाचनपछि खेलाडी र प्रशिक्षकमा कुन भाले बन्नेछ, त्यो निर्वाचन परिणामले देखाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :