धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब र दाङ्गको देउखुरी वारिसर्य क्रीकेट क्लब विजयी भएका छन् ।
बिहीबारको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लबले बुङ्गल क्रिकेट क्लब बझाङ्गलाई ५ विकेटले पराजित गर्याे ।
कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको बुङ्गलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । उसका लागि किरण कुमार ठगुन्नाले ५० रनको अर्धसतकीय पारी खेलेका थिए भने सन्दीप विष्टले ३२ र आदित्य महताले २० रन बनाएका थिए ।
बलिङ्गतर्फ महेन्द्रनगरका सन्तोष भट्ट र सन्दीप जोराले समान ३–३ तथा हेमन्त धामीले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सन्दीप जोरा चुनिए ।
बिहीबारको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीमाथि दाङ्गको देउखुरी वारियर्स क्रिकेट क्लबले ९ विकेटको जित निकाल्यो ।
टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो । धनगढीका लागि अरुण ऐरीले ३२, खगेन्द्र जोशीले २३ र भोजराज भट्टले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
देउखुरीका प्रतिश जिसीले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ३ विकेट लिए ।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको देउखुरीले ११.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका सुरुवाती ब्याट्सम्यान प्रज्वल थापा र विराट भण्डारीले ८७ रनको उत्कृष्ट साझेदारी गरे । प्रज्वल थापाले भने ७ चौका र ६ छक्कासहित नटआउट ७७ रनको पारी खेले ।
खेलको प्लेयर अफ दी म्याच प्रज्वल थापा भए ।
प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा शुक्रबार महेन्द्रनगर क्रिकेट एकेडेमी र देउखुरी वारियर्स प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलको विजेताले लिटल फ्लावरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिटल फ्लावर यस अघि नै ५ मध्य ३ खेलमा जित निकाल्दै ७ अङकसहित फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




