कतारमा नेपालको प्रशिक्षण शुरु (फोटो फिचर)

काठमाण्डौं । एशियन कप छनौटको तयारीका निम्ति कतार पुगेको राष्ट्रिय फुटबल टोलीले पहिलो दिन शारिरिक ब्यायामबाट प्रशिक्षण शुरु गरेको छ ।

एशियन कप छनौटको तेश्रो चरणको तयारीका लागि कतारमा रहेको राष्ट्रिय टोलीका खेलाडीहरुले बिहिबार सामान्य शारिरिक ब्यायामबाट भ्रमणको शुरुवात गरेको हो ।

कतारमा रहँदा नेपालले तीनवटा अभ्यास खेलहरु खेल्ने तालिका रहेको छ । तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल जेठ १४ मा टिमोर लिस्टे र दोस्रो मैत्रीपूर्ण खेल जेठ २०) गते ओमानसँग खेल्नेछ । यस्तै तेश्रो मैत्रीपूर्ण खेलको बारेमा केही खुलाइएको छैन ।

कतारको तयारी पश्चात् नेपाली टोली कुवेतमा आयोजना हुने एशिन कप छनोटका लागि जेठ २१ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

एशियन कप छनोटका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । जसको कप्तानीको जिम्मेवारी एन्फाले नवयुग श्रेष्ठलाई दिएको छ ।

प्रशिक्षक अल्मुताइरीले आफ्नो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै क्याम्प छाँडेका सिनियर टोलीका ११ खेलाडीलाई बाहिर राख्दै एशियन कप छनोट खेल्ने टोली घोषणा गरेका हुन् । १० खेलाडीले बैशाख १३ गते बन्द प्रशिक्षण छाडेका थिए ।

यो पनि पढ्नुहोस्ः फुटबल खेलाडीहरुले आफ्नो खुट्टामा बन्चरो हानेकै हुन् त ?

एशियन कप छनोटको समूह ए मा परेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोट खेलहरु जेठ २५ देखी ३१ गतेसम्म संचालन हुनेछ।

नेपालले पहिलो खेल जेठ २५ मा जोर्डनसँग खेल्दै छनोटको शुरुवात गर्नेछ ।

यस्तै नेपालले दोस्रो खेल जेठ २८ मा कुवेतसँग र तेस्रो तथा अन्तिम खेल जेठ ३१ मा इण्डोनेसियासँग खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोलीले २०२३ मा चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् ।

नेपाली टोलीः

गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्डर : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :