नेपाल उसु महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १९ औं एशियाली खेलकुद प्रतियोगिताका लागि प्रथम चरणको विशेष प्रशिक्षण कार्यक्रम घोषणा गरेपछि महासंघले बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
जेठ २४ गतेदेखि असार मसान्तसम्म संचालन हुने प्रथम चरणको विशेष प्रशिक्षणमा उसु खेलका महिला र पुरुषगरि ३२ खेलाडी परेका छन् ।
अन्तरक्रिया कार्यक्रममा खेलाडीले विशेष प्रशिक्षणका दौरान राखेपले दिएको डाइट भत्तालाई कसरी उपयोग गर्ने सम्बन्धमा महासंघ र उसुका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीबिच विशेष छलफल भएको थियो।
राखेपले विशेष प्रशिक्षणमा सहभागि हरेक खेलका खेलाडीहरुलाई डाइट भत्ता स्वरुप दैनिक १ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

महासंघले ४० दिनको विशेष प्रशिक्षणका दौरान प्रत्येक खेलाडीहरुलाई राखेपले दिनको १ हजार रुपैयाँ प्रदान गरेको जानकारी गराउँदै खेलाडीहरुलाई उक्त रकम कसरी खर्च गर्ने भन्ने बोरेमा खेलाडीहरुको राय सुझाव लिएको थियो ।
विगतमा केहि खेलका खेलाडीहरुले पाउने भत्तामा विवाद आएको र त्यसमा खेलाडीहरुले असन्तुष्टि जनाएको संस्मरण गराउँदै त्यस्तो किसिमको कुनै पनि विवाद आगामी दिनमा नआओस् भनेर महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुसँग अन्तरक्रिया गरेको जनाएको छ ।
साथै राखेपले प्रदान गरेको डाइड भत्ता कसरी सदुपयोग गर्ने त्यसको निर्णय खेलाडीहरुले नै गर्नुपर्ने र खेलाडीहरुको निर्णय अनुसार नै महासंघ अगाडि बढ्ने कुरामा छलफल भएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा खेलाडीहरुले १ हजार रुपैयाँ डाइटको लागि पर्याप्त नभएको भन्दै यस्तो महङ्गीको बेलामा दैनिक भत्ता अलि बढी भएको भए राम्रो हुने सुझाव दिदै यस्तो अवस्थामा महासंघले गर्ने व्यवस्थापन उत्कृष्ट हुनुपर्ने बताए ।
सो क्रममा महासंघले राखेपले खेलाडीहरुलाई यो रकम डाइडका लागि प्रदान गरेको स्पष्ट पार्दै डाइट नखाई रकम बचाउनेतर्फ नलाग्न खेलाडीहरुलाई अनुरोध गरेको थियो ।

त्यस्तै एशियन गेम्सको तयारीको लागि महासंघका सह–कोषाध्यक्ष नारायण गिरीलाई व्यवस्थापकको जिम्मेवारी प्रदान गरिएको छ । अब गिरीले खेलाडीको डाइटदेखि लिएर उचित प्रशिक्षणको ब्यवस्था गर्नुपर्नेछ ।
नेपाल उसु महासंघका अध्यक्ष बीरवहादुर तामाङको अध्यक्षतामा सञ्चालित उक्त अन्तरक्रिया कार्यक्रममा महासचिव लाक्पा छिरिङ लामाले नेपाल उसु महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आधिकारिक मान्यता पाएको पनि जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रममा महासंघका कोषाध्यक्ष लानम लामा र सह–कोषाध्यक्ष नारायण गिरीको पनि उपस्थिति रहेको थियो ।
यस्तै उसु महासंघले सोमबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु प्रशिक्षकहरुसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षकहरुको समस्याप्रति महासंघले सम्बोधन गर्दै उसु खेलको विकास र विस्तारमा महासंघ र उसु प्रशिक्षकहरु एक ढिक्का भएर अगाडि बढ्ने सहमति भएको थियो ।