आउँदो जुलाई ७ देखि अमेरिकाको अल्बामा सिटीमा ‘वर्ल्ड गेम्स २०२२’ सञ्चालित हुँदैछ । आयोजक खुदले विभिन्न खेलका विश्वका उत्कृष्ट खेलाडीहरुको चयन गर्दै आयोजना गर्ने प्रतियोगिताको यो संस्करणमा ३६ राष्ट्रको सहभागिता रहेको छ । वर्ल्ड गेम्सको यो संस्करणमा नेपालका दुईजना उसु खेलाडी दीपक हमाल र निमा घर्ति मगरलाई आयोजकले छनौट गरेको छ । वर्ल्ड गेम्समा कुनै पनि नेपाली खेलका खेलाडी छनौट भएको यो पहिलो अवसर हो । वर्ल्ड गेम्समा उसु खेल मात्रै छनौट भएपछि अहिले नेपाली खेलकुदमा ठूलो उपलब्धिको रुपमा हेरिएको छ । यसर्थमा कि नेपालले वर्ल्ड गेम्समा पहिलो पटक सहभागिता जनाउने अवसर पाएको छ । वर्ल्ड गेम्समा उसु खेलाडीको छनौट, प्रतियोगिताको स्तरीयता र नेपाली खेलाडीले गर्नसक्ने प्रदर्शनको सरोफेरोमा रहेर नेपाल उसु महासंघका महासचिव लाह्क्पा छिरिङ लामासंग मेरो खेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको कुराकानी :–
० विश्व खेलकुदमा वर्ल्ड गेम्सको खासै चर्चा छैन, वास्तवमा यो वर्ल्ड गेम भनेको कस्तो प्रतियोगिता हो ?
– तपाईले भन्नु भएको सहि हो । विशेष गरेर वल्र्ड गेमको वारेमा मिडियाहरुमा त्यति प्रचार प्रसार नभएका कारण सुन्नमा आएको छैन । वास्तवमा वर्ल्ड गेम भनेको विश्वका चर्चित खेलहरुलाई समावेश गरेर आयोजना गरिने प्रतियोगिता हो । आउँदो महिना अमेरिकामा आयोजना हुने वर्ल्ड गेम्समा ३६ वटा खेलहरुलाई समावेश गरिएकोमा त्यसमा उसु खेललाई पनि परेको छ । यो प्रतियोगिताको व्यापक प्रचार प्रचार नहुँदा विश्व खेलकुद मानचित्रमा अलि छायाँमा परेको जस्तै देखिए पनि मेरो विचारमा यो एशियाली खेलकुद प्रतियोगिता सरहको प्रतियोगिता हो । वर्ल्ड गेम्समा प्रतिस्पर्धा गर्न पाउनु ठूलो कुरो हुन्छ, यसर्थमा कि यो प्रतियोगितामा सहभागिता जनाउन खेलाडीले ठूलो उपलब्धि हासिल गरेको हुनुपर्छ ।
० वर्ल्ड गेम्सको तुलना एशियाली खेलकुदसंग गर्नु भो, आगामी महिना अमेरिकामा आयोजना हुन लागेको कुन संस्करण हो ?
– आगामी महिना हुने वर्ल्ड गेम्स अमेरिकाको अल्बामा सिटीमा हुँदैछ । अहिले हुन लागेको वर्ल्ड गेमको यो ११ औँं संस्करण हो । यो प्रतियोगितामा ३६ वटा इभेन्टमा ३६ वटा राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन । यो गेमको महत्वपूर्ण पक्ष के हो भने यसमा हामीले खेलाडीहरुको छनौट गर्ने नभइ आयोजकबाटै खेलाडीको छनौट हुन्छ ।
० दक्षिण एशियाली, एशियाली र ओलम्पिक जस्तै वर्ल्ड गेम्स पनि अफिसियल गेममा पर्छ कि पर्दैन ?
– वल्र्ड गेम्स साग, एशियाड र ओलम्पिक जस्तो अफिसियल गेममा त सायद नपर्ला, तर छनौटको प्रक्रिया हेर्दाखेरी चाहिँ दक्षिण एशियाली राष्ट्रहरुमा भारत र नेपाल मात्र यो प्रतियोगिताका लागि छनौट भएका छन् । त्यसमा भारतले एउटा र नेपालले दुईवटा कोटा प्राप्त गरेका छन् ।
० वर्ल्ड गेम्स अफिसियल गेम होइन भने यो गेमको आयोजना कस्ले गर्दै आएको छ त ?
– अमेरिकामा हुन लागेको वर्ल्ड गेम्सको आयोजना त्यहाँको युनिभर्सिटीले गर्न लागेको गेम हो । जस्तै उसुको वर्ल्ड च्याम्पियनसिप हुन्छ, यो गेमलाई पनि त्यहि हिसावमा लिन सकिन्छ । त्यसैले यसलाई अफिसियल गेम नै मान्न सकिन्छ ।
० युनिभर्सिटीले आयोजना गर्ने भएकोले वर्ल्ड गेम्समा युनिभर्सिटीका टीमहरु सहभागिता जनाउने हो कि राष्ट्रका टीमहरुले प्रस्ट पारिदिनुहोस् न ?
– वर्ल्ड गेम्समा युनिभर्सिटीको टीमले नभइ सवै राष्ट्रहरुका उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाउने हो । जस्मा दक्षिण एशिया, एशिया, युरोप, अष्ट्रेलिया, अफ्रिका र अमेरिका सबै महादेशका राष्ट्रहरुका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने हो ।

० वर्ल्ड गेम्समा नेपाल पहिलो पटक छनोट भएको भन्नु भो, नेपालमा चर्चा नै नभएको खेलमा नेपाली खेलाडीहरु कसरी छनोट भए, छनोटको प्रक्रिया के हो ?
– यहाँले एकदमै सहि प्रश्न उठाई दिनु भयो, त्यसको लागि धन्यवाद । नेपालको छनोटको प्रक्रिया कस्तो हो भने १३औँ दक्षिण एशियाली गेम हुनुभन्दा पहिले विश्व उसु महासंघको आयोजनामा भएको १५ औं विश्व उसु च्याम्पियनसिपमा १५ जना नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । चीनमा भएको १५ औं उसु च्याम्पियनसिपमा थाउलोतर्फ सहभागि ५६ राष्ट्रमध्येहरुमा थाउलोतर्फ नेपालका अन्तर्राष्ट्रिय उसु खेलाडी दीपक हमाल टप टेन अर्थात नवौं स्थानमा पर्न सफल भएका थिए । त्यहि आधार अर्थात हमाल टप ९ मा परेकाले उतैबाट उनको छनौट भएको हो । दीपकले हङकङ, थाइल्याण्ड, कोरिया, फिलिपिन्स, फ्रान्स र अन्य राष्ट्रका खेलाडी भन्दा राम्रो प्रदर्शन गरेर टप १० भित्र परेकाले उनलाई छनौट गरिएको जानकारी नेपाल उसु महासंघलाई पठाईएको थियो ।
० तपाईले भनेअनुसार दीपक हमालको छनोट उतैवाट भएको बुझियो, अर्को खेलाडीको छनोट चाहिँ कसरी भयो त, प्रस्ट पारिदिनुहोस् न ?
– हो एकदमै । उतावाट हामीलाई मेलमा जानकारी आयो, तपाईहरु अन्य एक्टिभ खेलाडी हुनुहुन्छ, उनीहरु पनि हाम्रो नजरमा परेका छन्, साग गेममा पदक विजेता कोही खेलाडी छन् भने नाम पठाउनु भने । त्यसपछि हामीले तीन जना खेलाडीको नाम यहाँवाट पठाएका थियौं । हामीले नाम पठाइसकेपछि त्यसपछि उहाँहरुले हामीलाई गुड न्युज दिदै एउटा खेलाडी हामी अँझै छनौट गर्ने अवस्था छौं भनेका थिए । त्यसपछि सागमा दुई स्वर्ण जित्न सफल र विश्व उसु च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यो पटक निमा घर्ति मगरको नाम छनोट गरेर पठाएका जानकारी गराएका थिए । साथै अन्य दुई खेलाडीहरुलाई अर्को संस्करणमा छनौट गर्न सकिने भनेका थिए ।
० वर्ल्ड गेम्समा उसुतर्फ दक्षिण एशियाली मुलुकका भारत र नेपालका खेलाडी मात्र छनौटमा पर्नुलाई तपाई कसरी हेर्नु भएको छ । यसलाई उसु खेलको विकासमा सकारात्मक पाटो भन्न मिल्छ हैन त ?
– यो नेपालको उसु खेलको लागि सकारात्मक पाटो मात्र नभै ठूलो उपलब्धि पनि हो । यसर्थमा कि अमेरिका हुन लागेको वल्र्ड गेम्समा नेपालको तर्फवाट उसु खेल मात्रै छनोट हुनु र त्यहाँ प्रदर्शन गर्न पाउनु यो उसु खेलाडीहरुका लागि ठूलो अवसर हो । जस्ले उसु खेलाडीहरुको प्रदर्शनमा सुधार ल्याउनुको साथै अनुभव बटुल्न सहायकसिद्ध हुने मलाई लागेको छ ।
० अव यी दुई खेलाडीहरुकोे वर्ल्ड गेम्समा सहभागिताको लागि कस्तो किसिमको प्रयास गरिरहनु भएको छ ?
– अहिले हामी भिसाकै प्रोसेसमा छौं । भिसाको लागि अमेरिकाको आफ्नै नीति र नियम छ, त्यसको लागि अहिले व्यक्तिगतरुपमा दुई खेलाडी र मैले २१ हजार ५ सय तिरेर भिसाको लागि निवेदन दर्ता गराएको छु । भिसा आएपछि प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई खान र बस्नको लागि आयोजक कमिटिले नै व्यवस्था गरेको छ । त्यस्तै अफिसियलको लागि भने सम्पूर्ण खर्च अफिसिली रुपमै व्यहोर्नु पर्नेछ ।
० भिसाको प्रोसेस चलिरहेको भन्नु भएको छ , तपाई लगायत खेलाडीहरुले भिसा पाउने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?
– साँचो रुपमा भन्नुपर्दा अहिले अमेरिकाको लागि तुरुन्तै भिसा पाउन निकै गाह्रो छ । अहिले पनि कोरोना कारण २०२० र २०२१ मा भिसाका लागि दिएका आवेदनहरु पेन्डिङमा छन, उनीहरुको पालो आएको छैन । भिसाको पाउन निकै कठिन भएको वारेमा हामीले आयोजक कमिटीलाई जानकारी गराएका छौं । अहिले आयोजक कमिटीले नै अमेरिकि राजदुतावासमा सम्पर्क गरिरहेको अवस्था छ । यस्तोमा भिसा पाउन आशा गर्न सकिन्छ । नेपाल सरकारकोतर्फवाट पनि पहल गराउन हामी परराष्ट्र मन्त्रालय जाँदैछौं ।
० यदि भिसा पाउनु भएन भने त अवसर गुम्यो, यस्तोमा कस्तो सोच बनाउनु भएको छ ?
– यस्तोमा के छ भने आउन सक्ने अवस्था नै भएन भने त हाम्रो केहि लागेन । तर हामी पोजेटिभ छौं भिसा आउने कुरामा । यदि कदमकदाचित आएन भने खेलाडीहरुले भिसाको प्रोसेसको लागि गरेको खर्च उसु महासंघ तिरिदिने सोच बनाएका छौं ।

० प्रसङ्ग बदलौं, उसुलाई जहिले पनि सम्भावित अन्तराष्ट्रिय पदक जित्ने खेलको रुपमा हेरिन्छ, हालै राष्ट्रिय खेलकुद परिषदले १९ औं एशियाडको लागि पहिलो चरणको विशेष प्रशिक्षणको शुभारम्भ गरिरहेको छ, यस्तो अवस्थामा एशियन गेम पदक जित्नको लागि उसु खेल तयारी कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईलाई ?
– हामी १८ एसियाडलाई एकदमै नजिकवाट नियाल्न अवसर पाएका थियौं, त्यसबाट हामीले खेलाडीहरुलाई एशियाडजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नको लागि मानसिक र शारिरिक रुपमा कसरी तयार गर्नुपर्छ भन्ने ठूलो पाठ सिकेका छौं । पहिले दुई तीन महिना टे«निङ गरेर एसियाडमा प्रतिस्पर्धा गर्नुपर्ने वाध्यता थियो भने अहिले राखेपले यसलाई खुकुलो सहज बनाई दिएको छ । १९ औं एशियाडको आयोजनाको मिति अनिश्चित भएपनि उक्त प्रतियोगिताको तयारीको लागि अहिलेदेखि नै खेलाडीहरुलाई तयारी अवस्थामा राख्ने समय प्राप्त भएको छ । साथै एसियन गेमको मिति तोकिएपछि ५–६ महिना सम्भावित पदक जित्ने खेलाडीहरुलाई वैदेशिक प्रशिक्षण दिन सकियो भने उसुले एसियाडमा पदक जित्न सक्ने प्रवल सम्भावना छ । यसको लागि हामीले अन्तर्राष्ट्रिय उसु महासंघसंग समन्वय गरेर चीनमै वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने प्रयास गरिरहेका छौं ।
० तपाईले भने जस्तो नेपाली खेलाडीलाई ५–६ महिना वैदेशिक प्रशिक्षण गराउन सम्भव छ त ?
– एकदमै सम्भव छ । यो भन्दाअघि पनि १८ औं एसियाडको लागि नेपाली खेलाडीहरुलाई चीनमै लगेर प्रशिक्षण गरिएको हो । तर त्यो एक दुई महिनाको समय ज्यादै छोटो हो । त्यसैले एक, दुई महिनाको प्रशिक्षणले केहि हुनेवाला छैन । किनकी त्यहाँका वातावरणमा घुलमिल गर्नको लागि पनि खेलाडीहरु निकै समय लाग्छ ।
० १९ औं एसियाडमा उसुका दुई विधाहरु (सान्सौ र थाउलो)मध्ये कुनमा नेपालले पदक जित्ला जस्तो लाग्छ तपाईलाई ?
– यस्तो छ, दुइटैमा सम्भावना नभएको होइन, दुईटैमा पदक जित्ने सम्भावना उत्तिकै छ । तर १३ औं सागको पदक तालिकालाई दृष्ट्रिगत गर्दा थाउलोमा बढी पदक प्राप्त भएको छ । सान्सौ भनेको फाइट गेम हो, फाइटमा पनि हाम्रा खेलाडी राम्रै छन्, नराम्रो भन्न् मिल्दैन । त्यसैले हामीले दुवै विधामा पदकको लागि उत्तिकै सम्भावना देखेका छौं र बराबरी खेलाडीलाई प्रतिस्पर्धाको लागि छनोट गर्दै आएका छौं ।
० अन्त्यमा, दक्षिण एशियाली मुलुकमा नेपाली उसुलाई तपाई कहाँ पाउनु हुन्छ र यो भन्दा माथि लैजान कस्तो किसिमको रणनीति र योजना बनाउनु भएको छ ?
– कोरोनाका कारण हामीले २ वर्ष उसुको लागि केहि नै गर्न सकेनौ यो सत्य हो, तर अहिले समय परिस्थिति बद्लिएको छ, । हामी पनि योजनाबद्ध तरिकाले उसु खेललाई अगाडि बढाउने सोचमा छौं । जस्को लागि हालै हामीले प्रशिक्षक र खेलाडीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिसकेका छौं । उहाँहरुको सुझाव सल्लाह बमोजिम नै अव उसुको हरेक क्रियाकलाप अगाडि बढ्ने छ । त्यसको लागि हामीले बार्षिक क्यालेण्डर समेत बनाएका छौं । जसअनुसार वर्षको तीनवटा राष्ट्रियस्तरको प्रतियोगिता, दुइटा जुनियर च्याम्पियनसिप र अन्तर स्कुलहरुको च्याम्पियनसिपको कार्यक्रमहरुलाई हामीले अगाडि ल्याउँदैछौं । त्यस्तै प्रत्येक तीन देखि चार महिनाको अन्तरमा प्रशिक्षक र खेलाडीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने छौं । समग्रमा भन्नुपर्दा अब हामी उसुको वार्षिक क्यालेण्डर बनाएर यो खेलको विकास र विस्तारका लागि लाग्ने छौं ।