काठमाण्डौं । माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप २०२२ मा पदक प्राप्त गर्दैनेपाली टोली स्वदेश फर्किएको छ ।
शुक्रबार स्वदेश फर्किएको शारिरीक सुगठन तथा फिजिक स्पोर्टस्को राष्ट्रिय टोलीलाई नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
यहि श्रावण १ देखि ४ गते सम्म आयोजना भएको च्याम्पियनसिपमा ८० केजी तौल समूहमा उमेश राईले रजत र फिटनेस फिजिक तर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजु राईले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा नजिकै पुगेर पनि राष्ट्रको लागि स्वर्ण जित्दै ओभरअलमा पुग्न नसकेकोमा खिन्न महसुश गर्दै उमेशले आगामी संस्करणमा उत्कृष्टता प्रस्तुत गर्दै स्वर्ण हासिल गर्न लागि पर्ने बताए ।
खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेका छन् ।
नेपाली टोलीको ब्यवस्थापकमा संघका उपाध्यक्ष दिनेश राजभण्डारी तथा निर्णायकहरुमा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डङ्गोल र लक्ष्मण महत रहेका थिए ।
५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । त्यसका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् ।