राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ ।

आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।

सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । सान्डाको पुरुषमा १० र महिलामा ८ गरी १८ स्पर्धा समावेश छन् । प्याटर्नको पुरुष÷महिलामा ४–४ गरी ८ स्पर्धामा खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

बैठकले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति र २ उपसमिति पनि गठन गर्ने निर्णण पनि गरेको छ । ९ सदस्यीय मूल आयोजक समितिमा संघका सचिव महेश महर्जनलाई संयोजक र संघका पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

आर्थिक उपसमितिको संयोजकमा राजदीश नेम्कुल, सह–संयोजकमा अशोक केसी र सदस्यमा जीवन गुरुङ रहेका छन् । प्रचार प्रसार तथा प्राविधिक उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई संयोजक तथा गोपाल थापा, कमल मगर, सिद्धार्थ लामा र भूपेन्द्र गुरुङलाई सदस्य तोकिएको छ ।

बैठकले संघको चुनावी साधारण सभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामाले जानकारी गराए । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर चुनावी साधारण सभा भदौ तेश्रो साता गर्ने गरी प्रकृया अगाडि बढाउने अध्यक्ष लामाले बताए । केन्द्रीय साधारण सभाअघि विभिन्न ५ प्रदेशमा संघ गठन गरिने छ । त्यस्तै हाल १४ जिल्लामा रहेका संघलाई पुनर्गठन गर्ने र थप ११ जिल्लामा संघ विस्तार गर्ने तयारी पनि रहेको अध्यक्ष लामाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :