ब्रुनाईले एन्फालाई पठायो मैत्रीपूर्ण खेलको प्रस्ताव,आन्तरिक किचलोका कारण सहभागि नहुने संकेत

काठमाण्डौं (ब्रेकिङ्ग) । ब्रुनाई दारुस्सलाम फुटबल संघ (एएफबीडी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्रिदेशीय अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा सहभागिताका लागि प्रस्ताव पठाएको छ ।

एफएबीडीले १० दिन अघि एन्फालाई नोभम्बरमा आयोजना गर्न लागेको त्रिदेशीय अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि प्रस्ताव पठाएको हो ।

एएफबीडीले निर्माण गरेको एफएबीडी मिनी स्ट्याण्डको उद्घाटनको अवसरमा आयोजना गर्न लागेको त्रिदेशीय अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आयोजक ब्रुनाई र नेपालसँगै लाओसको सहभागिता गराउने योजना रहेको जनाएको छ ।

एएफबीडीले एन्फालाई जुलाई २० तारिखमा प्रस्तावना पत्र पठाउँदै चाँडोभन्दा चाँडो जवाफ फर्काउन समेत आग्रह गरेको छ ।

स्रोतका अनुसार एन्फाले नयाँ कार्यसमितिभित्रको आन्तरिक किचलोका कारण ब्रुनाईलाई मैत्रीपूर्ण प्रतियोगितामा नेपाल सहभागि नहुने जवाफ फर्काएको बुझिन आएको छ ।

ब्रनाइले पठाएको प्रस्तावनामा एन्फाले नेपालको राष्ट्रिय टोली पठाउँदा विमान खर्चबाहेक अन्य सबै जिम्मेवारी ब्यवहोर्ने स्पष्ट लिखित रुपमा उल्लेख छ । तर नवनिर्वाचित एन्फा कार्यसमिति अन्तराष्ट्रिय भ्रमण समेत ब्यवहोर्न नसक्ने स्थितीमा रहेकोले ब्रुनाइको निमन्त्रणालाई अस्विकार गर्न बाध्य बनेको स्रोतको भनाई छ ।

प्रस्तावनामा एएफबीडी मैत्रीपूर्ण प्रतियोगिताको निम्ति तयारी गर्नुपर्ने हुदाँ चाँडो जवाफ पठाएर सहयोग गर्न आग्रह समेत गरेको थियो । एएफबीडीले नेपाली राष्ट्रिय टोली सहभागि हुन नसक्ने भए अन्य कुनै राष्ट्रलाई निमन्त्रण गर्ने समेत स्पष्ट रुपमा जनाएको छ ।

ब्रुनाइले पठाएको पत्रमा नेपालले यसै वर्षको नोभम्बर २१ मा लाओससँग खेल्नुपर्नेछ भने २४ तारिखमा ब्रुनाईसँग खेल्ने तालिका पठाएको छ ।

नेपालले पछिल्लोपटक जेठमा एएफसी एशियन कप छनौटको तेश्रो चरणमा सहभागिता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :