१० बर्षको उमेरमा खेलकुदमा पर्दार्पण गर्दा उनी भारतको मुम्बईमा थिए । खेलकुदप्रतिको अघात रुचिकै कारण क्रिकेट र कराँते उनको पहिलो रोजाईमा परेको थियो । विद्यालय जीवनमा मुम्बईवाट क्रिकेट खेलेका उनी २५ बर्षको उमेरमा नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालयवाट क्रिकेट खेल्दै ०५३–५४ सालमा टीयूको क्याप्टेन समेत बन्न सफल भए । आफ्नो जीवनको एउटा पाटोको रुपमा खेलकुद बनाउँदै आएका उनी ०७३ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य बन्दै ०७७ मा दोश्रो पटक राखेपको कार्यकारि समतिको सदस्यसमेत बन्न पुगे । वर्तमान अवस्थामा नेपाल बिच भलिबल संघको अध्यक्ष, एनआरएन नेपालको सल्लाहकार संयोजक समेत रहेका छन् । उनै बहुचर्चित खेलकुदका भर्सटाइल तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत समारोह समितिका संयोजक एकेन्द्र कुँवरसंग नवौंको तयारीको सेरोफेरोमा रहेर मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानीः–
० नवौं राष्ट्रियको सवैभन्दा महत्वपूर्ण समिति ‘समारोह समिति’को जिम्मेवारी पाउनु भएको छ, यसलाई चुनौंति वा अवसर कस्तो रुपमा लिनु भएको छ तपाईले ?
– साँचो अर्थमा भन्नुुपर्दा समारोह समितिको जिम्मेवारीलाई मैले चुनौंति र अवसर दुवै रुपमा हेरेको छु । समारोह समिति भनेको त्यस्तो समिति हो, जस्को जिम्मेवारी निकै चुनौंतिपूर्ण हुन्छ । जति राम्रो गर्दा पनि जस पाउने भन्दा पनि अपजस् पाउने ठाउँ धेरै हुन्छ । यस्तो तीतो सत्य जान्दाजान्दै पनि नवौंमा समारोहको विशिष्ट भूमिका रहने हुँदा मैले यसलाई अवसरको रुपमा लिएको छु । यसलाई सफलताको मूर्तरुप दिन हाम्रो टीम युद्धस्तरमा लागि रहेको छ ।
० चुनौंति र अवसरको मझधारमा यतिबेला समारोह समिति खडा हुँदा तपाई यसको विश्लेषण कसरी गर्नुहुन्छ ?
– सर्वप्रथम हाम्रो लागि चुनौंति भनेको नवौं राष्ट्रिय कसरी सफल बनाउने हो । त्यसको पहिलो झलक नै समारोह हुने भएकोले त्यसलाई कसरी प्रभावकारी बनाउने त्यो कुरामा समारोहको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले यसमा वातावरणदेखि पूर्वाधार र सामाग्रीहरुसम्मको तालमेल मिल्नुपर्छ । जुन आफैमा चुनौंतिपूर्ण भएपनि विगतको अनुभव बोकेका साथीहरु टीममा भएकाले अहिलेसम्म समारोह सम्वन्धि कार्य निकै सहज तरिकाले अगाडि बढिरहेको छ । साथै अवसरको कुरा गर्दा नवौंको समारोह परम्परागत शैली भन्दा भिन्नै हुनेछ । यो पटक हामीले नयाँपनको स्वरुपमा नवौंको समारोहलाई प्रस्तुत गर्ने योजना बनाएका छौं ।
० नयाँपन र स्वरुपमा जाने त भन्नु भो, कस्तो नयाँपन र स्वरुपमा जाने रणनीति र योजना बनाउनु भएको छ, त्यसको वारेमा जानकारी गराई दिनहोस् न ?
– म समारोह समितिको संयोजक बनेपछि त्यसको केहि समयपछि हाम्रो टोली पोखरा गएका थियौं । सो क्रममा हामीले विभागिय टोलीहरु सशस्त्र, जनपथ र आर्मीका प्रमुख र विद्यालयका प्रिन्सिपलहरुसंग भेटेर नवौंको समारोहलाई कसरी सभ्य र भव्य बनाउन सकिन्छ भनेर छलफल गरेका थियौं । अहिलेको अवस्थामा लगभग हामीले आन्तरिक गृहकार्य पुरा गरिसकेको अवस्था हो । अव केहि दिनपछि बोलपत्रको टुङ्गो लागेपछि समारोहका सम्पूर्ण कार्यहरु पोखराबाटै सञ्चालन हुनेछन् । त्यसपछि त्यहाँको स्थानिय निकाय, नगरपालिका र खेलकुद मन्त्रालयसंग समन्वय गरेर हामी द्रुतगतिमा अगाडि बढ्ने छौं । सवैको सरसल्लाह बमोजिम नवौंलाई नयाँपन दिने प्रयास गर्नेछौं ।
० विगतका राष्ट्रिय प्रतियोगिताहरुका उद्घाटन समारोह निकै लामो हुँदा आलोचना खेप्नु परेको थियो । यस पटक समय छोट्याउने बारेमा कुनै सोच बनाउनु भएको छ ?
– डेफिनेट्ली , यो पटक हामीले उद्घाटन समारोहलाई दुईदेखि तीन घण्टाको विच राख्ने छौं । किनभने हामी यो पटक उद्घाटन समारोहलाई छोटो मीठो गर्ने गृहकार्यमा जुटिसकेका छौं । साथै यो कुरालाई मध्यनजर राख्दै राखेपको कार्यसमिति वैठकले २ घण्टा ३० मिनेटका बनाउने मोटामोटी छलफल भएको छ । यसरी नवौं राष्ट्रियको उद्घाटन समारोहलाई ‘राम्रो भयो’ भन्ने आम खेलप्रेमीहरुलाई सन्देश दिने कोशिस गर्नेछौं । अहिलेसम्मको कार्य प्रगति हेर्दा म ‘राम्रो हुन्छ’ भन्ने कुरामा विश्वस्त छु ।
० राखेपको कार्यसमितिले २ घण्टा ३० मिनेटमा उद्घाटन समारोह गर्ने छलफल भएको भन्नुहुन्छ ,के यो समयमा सम्भव होला त ?
– २ घण्टा ३० मिनेटमै उद्घाटन समारोह सक्ने भनेर त हामीले अहिलेसम्म औपचारिक निर्णय त गरेका छैनौं । राखेपका कार्यकारि प्रमुख सदस्यसचिव टंकलाल घिसिङ्गले उद्घाटन समारोह छिटो मिठो बनाउनु पर्छ भन्नु भएको छ । त्यसैले अहिले कति समयको बनाउने भन्ने वारेमा पनि गम्भिर छलफल भइरहेको छ । अहिले हामी यहि कुरालाई दृष्टिगत गर्दै उद्घाटन समारोहको समयको खाका तयार पारिरहेका छौं । सायद केहि मिनेटको तलमाथि भए पनि तीन घण्टा भन्दा लामो उद्घाटन समारोह हुने छैन, यो मेरो ग्यारेण्टी हो ।
० यो पटक नवौंको समारोहको लागि ३ करोडको बजेट मात्र छुट्याइएको छ, के यो बजेट समारोहको लागि पर्याप्त छ त ?
– समारोहका लागि यो बजेट कति लाग्ने भन्दा पनि कस्तो समारोह बनाउने भन्ने कुरा प्रमुख हो । यो कार्यक्रममा भर पर्ने कुरा हो । भनेजस्तो समारोहको आयोजना गर्दा त १५ देखि २० करोडसम्म पनि लाग्न सक्छ । तर हाम्रो बाध्यता के हो भने हामीले राज्यले प्रदान गरेको ३ करोडभित्र नवौंको समारोहको उत्कृष्ट आयोजना गर्नु हो । त्यसैले बजेट अनुसारको समारोहको कार्यक्रम हुनेछ । जस्लाई हामी थोरै बजेट भएपनि उत्कृष्ट बनाउने कोशिस गर्नेतर्फ लागेका छौं ।

० बजेट पुग्दैन, कमी भो भन्ने चर्चा छ, यसले कतै उद्घाटन समारोह फितलो हुँदैछ, के भन्नुहुन्छ ?
– यो भन्दाअघि समारोहको बजेट ९ करोडको थियो । तर अहिले देशकाल परिस्थितिले गर्दा खेलकुदमा मात्र नभइ अन्य क्षेत्रमा पनि बजेटको खडेरी छ । यहि कारणले पनि समारोहको लागि ३ करोड छुट्याएको हुनसक्छ । र पनि केहि छैन, हामी यहि ३ करोडको बजेटमा पनि उत्कृष्ट समारोहको आयोजना गरेर देखाउने छौं । जुन खेलकुदमा सधैं उदाहरणीय बन्ने मेरो विश्वास छ ।
० प्रसङ्ग बदलौं, अहिले खेलकुदमन्त्री देखि सदस्यसचिवसम्म माओवादीका छन्, तपाईचाहिँ एमाले, कसरी तपाईलाई समारोहको संयोजक बनाइयो प्रस्ट पारिदिनुहोस् न ?
– सर्वप्रथम त, म खेलकुदमन्त्री र सदस्यसचिव ज्यूलाई धन्यवाद दिन चाहन्छु । विशेषगरि प्रत्येक व्यक्तिको आइडोलोजी र फिलोसोफी आ–आफ्नो ठाउँमा हुन्छ । म खेलाडी, खेलकुद प्रेमी र खेलकुद पदाधिकारी भएको नाता र मैले यो चुनौंतिलाई पार लगाउन सक्छु भनेर नै उहाँहरुले मलाई विश्वास गरेर समारोह समितिको संयोजक बनाउनु भएको छ । त्यसैले यसमा म कुनै राजनीति आग्रह पूर्वाग्रह देख्दिन, यो सवै मेरो योग्यताको मापन गरेर मलाई जिम्मेवारी दिइएको हो ।
जहाँसम्म एमाले भन्नुभयो, खेलकुदवाट बाहिर निस्किएपछि मेरो क्रियाकलाप नितान्त व्यक्तिगत हुन्छ । त्यसबेला म एमाले हुँला, कुनै अन्य पार्टीसंग आवद्ध हुँला त्यो व्यक्तिगत जीवनको कुरा हो । तर जव म खेलकुदमा प्रवेश गर्छु, म कुनै पार्टीको रहन्न, खेलकुद नै मेरो पार्टी हुन्छ । त्यसैले खेलकुदमा राजनीति गर्नुहुन्न भन्ने मेरो मान्यतामा म सधैं अडिग् छु । जुन विश्वास गरेर मलाई अवसर दिनुभएको छ त्यसलाई मैले अवसरको रुपमा लिएको छु ।
० तपाई समारोहको विज्ञ त होइन तर तपाईलाई समारोहको जिम्मेवारी दिइएको छ, आखिर कारण के होला ?
– यसमा विज्ञ र अविज्ञ भन्दा पनि विश्वासको कुरा हुन्छ । यो समारोहको आयोजना मैले मात्र व्यक्तिगतरुपमा गर्ने होइन । यो हाम्रो टीमले सामुहिक रुपमा गर्ने हो । अहिले हाम्रो टीममा पाँचौं, छैठौं, सातौं र आठौं राष्ट्रियको समारोह सञ्चालन गरेका व्यक्तित्वहरु छन् । मैले उहाँहरुसंग सरसल्लाह लिएर काम गर्ने हो । साथै म पनि खेलकुद बुझेको व्यक्ति भएकोले मलाई पनि यो विषयमा केहि आइडिया भने अवश्य छ । जहाँसम्म विज्ञको कुरा छ, म विज्ञ नभए पनि कसरी यसलाई सफलताको मूर्तरुप दिने त्यो कुरा मलाई थाहा छ । अर्को कुरा कुनै पनि कुरा पेट देखि नै कसैले जानेर आएको हुँदैन, सवैले सिकेरै जान्ने हो । सातौं र आठौं राष्ट्रिय खेलकुदले गर्दा पनि यो वारेमा धेरै सिक्ने र अनुभव गर्ने अवसर पाएको छु । त्यसकारण म त्यतिबेला समारोहकै संयोजक नभएपनि समारोह कसरी गर्नुपर्छ भन्ने मलाई ज्ञान छ, त्यो कुरा हाम्रो टीमले नवौं राष्ट्रियमा देखाउने छ ।
० ठूलो बजेट भएको समितिमा आर्थिक अनियमितता हुने धेरै सम्भावना हुन्छ, समारोहमा पनि ठूलो बजेट छ, आर्थिक चलखेल हुने कत्तिको सम्भावना देख्नु भएको छ ?
– यसमा के छ भने विगतमा के भयो मलाई थाहा छैन । अहिले हामी सवै कुराकोे पारदर्शिताको लागि टेण्डर सिस्टममा जाँदैछौं । जस्मा १ लाखसम्म हामीले व्यक्तिगतरुपमा खर्च गर्न पाउने, १ लाखदेखि १० लाखसम्म ७ दिने बोलपत्र हुन्छ, १० देखि २० लाखसम्म शिलबन्दी बोलपत्र हुन्छ, २० लाख देखिको माथिमा हामीले टेण्डरको आह्वान गर्छौं । त्यसैले यसमा आर्थिक चलखेल होला जस्तो मलाई लाग्दैन र हुनै सक्दैन । सवै कुरा पारदर्शी रुपमा भएपछि कहाँबाट आर्थिक अनियमितता हुन्छ ? । साथै हाम्रो विचमा आर्थिक अनियमितता हुने कुरामा मलाई विश्वास छैन ।
० अहिलेसम्म समारोह समितिले काठमाण्डौंमा बसेर काम गरिरहेको छ, पोखरामा गएर चाहिँ कहिलेदेखि काम गर्छ त ?
– यतिबेलासम्म हामीले पोखरामा समारोह समितिको कार्यालय स्थापना गरिसकेका छौं । यसै साता हामीले कार्यालय उद्घाटन गर्ने योजना बनाएका छौं, त्यसपछि केहि साथीहरु पोखरामा नै बसेर काम गर्नेछन् भने केहि साथी काठमाण्डौं । आउँदो २२ गतेदेखि पछि भने हामी पोखरा नै वसेर काम गर्ने छौं ।
० अनि समारोह समितिको जिम्मेवारी पाउनु भएको छ । यसपटकको प्रतियोगिताको आधिकारिक गीत निर्माण प्रक्रिया कहाँ पुग्यो ? कस्तो बन्दैछ ?
राम्रो विषयको प्रश्न गर्नुभयो । नवौंको आधिकारिक गित मात्र नभई यसपटक हामीले मेडल वितरण गर्दा पनि आफ्नै नयाँ रचना बजाउने भएका छौं । दुबैंको काम करिब करिब अन्तिम चरणमा छ । यसपटक नवौंका गित र मेडल वितरण गर्दा बजाउने गितको रचना दिनेश अधिकारीले गर्नुभएको छ भने त्समा संगित भर्ने काम प्रकाश गुरुङ्गले गर्नुभएको छ । तर दुबैको अन्तिम रेकर्डिङ्ग हुन बाँकी छ र अबको एक सातामा उहाँहरुले राखेपलाई गितहरु हस्तान्तरण गर्नुहुन्छ ।

० उद्घाटन समारोहमा आतिसबाजीका लागि प्रयोग हुने सामानहरुको व्यवस्था कसरी मिलाउनु भएको छ, यो पटक पनि आर्मीले नै यसको व्यवस्था गर्ने हो कि ?
– आतिसबाजीको लागि यो पटक हामीले भारतको लखनउको एउटा कम्पनीसंग समन्वय गरेका छौं । अव केहि दिनपछि नै फायरवर्कसंग जानकार व्यक्तिले उक्त कम्पनीसंग एग्रिमेन्ट गर्ने कार्यक्रम छ । त्यसपछि गृह मन्त्रालयसंग समन्वय गरेर भन्सारवाट आवश्यक सामग्री ल्याउने व्यवस्था मिलाएका छौं ।
० आतिसवाजीका सामान ल्याउँदाको प्रक्रिया के हो त ? कसरी ल्याउँदै हुुनुहुन्छ ?
– यो सवै कोटेशन प्रक्रियावाट ल्याउने हो । १ लाखभन्दा बढीको सामान ल्याउँदा कोटेशन मार्फत ल्याउनु पर्छ । हामीले नियममा बाँधिएर प्रक्रिया पुर्याएर आतिसवाजीको सामान ल्याउन लागेका हौं ।
० आतिसवाजीको लागि कति बजेट छुट्याउनु भएको छ नी ?
– हामीले उद्घाटन समारोह र समापन समारोह दुवैको आतिसवाजीको लागि ७ देखि ९ लाखको बजेट छुट्याएका छौं । यसमा केहि तलमाथि हुनसक्ला तर बजेट यतिकै हाराहारीमा रहन्छ ।
० त्यसोभए उद्घाटन समारोहको तयारीचाहिँ कहिलेदेखि शुरु हुन्छ त ?
– राज्यले नवौं राष्ट्रियको मिति घोषणा गर्दाको समयदेखि नै हामी तयारीमा लागि सकेका थियौं । उद्घाटन समारोहका लागि आवश्यक पर्ने कुराको पहिलो चरणको सवै कार्य सम्पन्न भइसकेको छ । अव २२ गतेदेखि पछि पोखरामै बसेर युद्धस्तरमा काम गर्ने योजना छ ।
० तपाईहरुले पोखरामा बसेर कार्यगर्दा उद्घाटन समारोहको तयारीको लागि लगभग एक महिनाको समय मात्र बाँकि रहन्छ, यस्तो अवस्थामा कत्तिको सफलता पाउने अपेक्षा राख्नु भएको छ ?
– मेरो सातौं र आठौं राष्ट्रियको अनुभवले के भन्छु भने एक महिना समय पनि पर्याप्त हुन्छ, यसको लागि कुनै चिन्ता र चिन्तन गर्नुपर्ने कुरै छैन । त्यसको लागि हाम्रो टीमले राष्ट्रलाई सर्वोपरि स्थानमा राखेर ग्रास रुटदेखि काम गर्छ र उत्कृष्ट नतिजा दिने कुरामा पनि म विश्वस्त छु । म तपाईलाई विश्वास दिलाउन चाहन्छु नवौंको उद्घाटन समारोह इतिहासकै सभ्य, भब्य र नौलो हुनेछ ।
० सभ्य र भब्य भन्नु भयो, आखिर यसको निचोड के हो त ?
– यसको अर्थ उद्घाटन समारोहलाई भब्य र सभ्य बनाउन मेरो व्यक्तिगत प्रयासले मात्र केहि हुनेवाला छैन । यसको लागि सञ्चारमाध्यमहरुको भूमिका सवैभन्दा महत्वपूर्ण हुन्छ । सफल र असफल बनाउने कुरामा सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहने हुँदा तपाईहरुले महत्वपूर्ण भुमिका खेल्नु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
० अन्त्यमा समारोह समितिको बारेमा नखुलेका केहि कुराहरु छन् भने बताई दिनुहोस न ?
– यसमा म सञ्चारकर्मी साथीहरुलाई के भन्न चाहन्छु भने केहि कमिकमजोरी हामीमा पनि होला । यो कुरा म स्वीकार्छु पनि । त्यसैले तपाईहरुको पनि विगतको अनुभव, सल्लाह सुझाव हामीले प्राप्त गर्न आशा गरेका छौं । नवौं राष्ट्रिय मेरो मात्रै नभई राष्ट्रकै प्रतियोगिता भएकोले यसको सफलताको लागि तपाईहरुको विशेष सहयोगको मैले अपेक्षा गरेको छु ।