उसुको दीपक र जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित,सागका पदक विजेता र प्रशिक्षक पनि सम्मानित

काठमाण्डौं । नेपाल उसु महासंघले प्रथम राष्ट्रिय उसु अवार्ड तथा सम्मान समारोह २०७९ को आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले गरेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहन, प्रशिक्षकहरुको मनोबल उच्च बनाउन र अन्तर्राष्ट्रियस्तरमा प्राप्त गर्न यो अवार्ड कार्यक्रमको आयोजना गरिएको उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले बताए ।

अवार्ड समारोहमा विभिन्न विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सो अवसरमा डिप्लोमा तथा सेमिनारमा उत्कृष्ट भएका प्रशिक्षकहरुलाई पनि सम्मानित गरिएको थियो । त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजत र काँश्य पदक जित्ने उसु खेलाडीहरु पनि सम्मानित गरिएको थियो ।

त्यस्तै अवार्ड समारोहमा साग गेम्समा स्वर्ण पदक जित्ने पाँच जना खेलाडीहरु निमा घर्तिमगर, सुस्मिता तामाङ्ग, विजय सिञ्जाली, जुनी राई र दीपक हमाल प्रत्येक खेलाडीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । त्यस्तै नवौं, दशौं र १२ औं सागमा स्वर्ण पदक जित्ने क्रमस राजकुमार रसाइली, आङबाबु लामा र निमा घर्तिमगरलाई पनि सम्मानित गरिएको थियो ।

उसु महासंघले पहिलो पटक आयोजना गरेको यो अवार्ड कार्यक्रममा ‘वेष्ट प्लेयर अफ दि इयर’ पुरुषतर्फ दीपक हमाल र महिलातर्फ जुनी राई लाई प्रदान गरिएको थियो । यी दुवै खेलाडीहरुलाई नगद २५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै ‘वेष्टकोच अफ दि इयर’को अवार्ड सासौंतर्फ गणेशप्रसाद अर्याल र थाउलोतर्फ प्रकाशबहादुर लामा प्रदान गरिएको थियो । दुवै कोचलाई नगद २५ हजार प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्पूर्ण सम्मानित हुने खेलाडी तथा प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री मोहन बस्नेत, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल उसु महासंघका अध्यक्ष बीरवहादुर तामाङ्ग, संघका उपाध्यक्ष दधिराज सिटौला र एनओसीका सदस्य रमेश सिवाकोटीले सम्मानसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा साँस्कृतिक कार्यक्रमको अयोजना समेत गरिएको थियो । नृत्यतर्फ सरस्वती कला केन्द्रका कलाकारहरुको प्रस्तुति रहेको थियो भने गायनतर्फ राजु तामाङ्गले आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :