अनुशासनहिनताका कारण गणेश थापालाई त्यतिबेला निकालिएको हो– धनबहादुर बस्नेत

श्रीविक्रम भण्डारी

नेपाली फुटबलसंगै सधैं चर्चामा आईरहने एउटा सिद्धहस्ती व्यक्तित्वको नाम हो धनबहादुर बस्नेत । सिङ्गो जीवन फुटबलमा समर्पित गरेर फुटबलको अमृत र विषपान गरेका उनी विगतमा भएका फुटबलका क्रियाकलापप्रति कहिल्यै सन्तुष्ट हुन सकेनन् । फुटबल संघमा बढेको व्यक्तिवादी प्रवृतिले अहिले उनलाई कट्टर आलोचकको रुपमा समेत उभ्याएदिएको छ । उनले फुटबलको बारेमा बोल्दै आएको र उठान गर्दै आएको मुद्दा आफैमा स्वागतयोग्य छ । र पनि, फुटबलले काँचुली फेर्न नसक्दा उनले ठूलो कुठराघातको महसुस गरिरहेका छन् । खेलाडीहरुलाई फुटबलको सम्पत्ती मान्ने र खेलाडीहरुको श्रीवृद्धिका लागि संघ जवाफदेहि हुन नसकेकोमा उनको ठूलो गुुनासो छ । फुटबलमा निडर, स्पष्टवक्ता, आलोचक र उत्कृष्ट प्रशिक्षकको पगरि गुँथेका उनै फुटबलका वरिष्ठ प्रशिक्षक धनवहादुर बस्नेतसंग मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले फुटबलमा भित्रिएको विकृति, विसंगति, नातावाद, कृपावाद र राजनीतिमा केन्द्रीत रहेर आजभन्दा २५ बर्ष पहिले अर्थात २०५४ साल मंसिर १५ गते गरेको विशेष कुराकानी :–

० तपाईले खेलकुद जीवनको शुरुवात कसरी गर्नु भयो ?
– पहिला प्रहरीमा जागिर खाइयो । सन् १९६८ तिरबाट ज्ञानेश्वर टीमबाट फुटबल खेल्न शुरु गरियो । पछि ठमेलबाट खेलियो, अनि बोइज युनियनबाट फरवार्डमा खेलियो । खेल्न त भलिबल पनि खेल्थे तर फुटबल नै बढी खेलियो । २०३२ देखि २०३४ सम्म खेलियो । त्यसपछि खेल्न छोडियो । सन् १९६९ देखि १९८२ सम्म मैले राष्ट्रिय टीमबाट खेले । राष्ट्रिय टीमबाट १२ बर्षसम्म खेलेपछि दिल्लीको एशियाडपछि खेल्न छोडिदिए ।

० तपाईले राष्ट्रिय टीमबाट खेल्दा फुटबलको स्थिति कस्तो थियो, तपाई कसरी राष्ट्रिय टीममा पर्नु भयो ?
– त्यतिबेला फुटबल राम्रो स्थितिमा रहनुमा क्लबहरुको ठूलो भूमिका थियो । क्लबहरु सबै बलिया थिए । त्रिभुवन च्यालेञ्ज शिल्ड, शुभजन्मोत्सव कप जस्ता प्रतिष्ठित फुटबल प्रतियोगिताहरु भइरहन्थे । यी प्रतियोगिताहरुमा महावीर क्लब, आरसिटी, ठमेल, संकटा, बोइज युनियन आदि क्लबहरु बारम्बार प्रतियोगितामा सामेल हुन्थे । ति क्लबहरुमा राम्रो खेल्नेलाई छानेर राष्ट्रिय टीममा राखिन्थ्यो । मुख्यतः क्लबहरु धेरै सक्रिय भएकाले खेलाडीहरुलाई प्रतिभा प्रदर्शन गर्न सजिलै थियो ।

० १२ वर्षसम्मको राष्ट्रिय खेलाडीको अनुभव कस्तो रह्यो त ?
– अनुभव धेरै खालका छन् । शुरुवातमा प्रशिक्षककै अभाव थियो । हामीले धेरै पटक प्रशिक्षकको अभाव सहनु पर्याे । पछि भारतीय प्रशिक्षकले प्रशिक्षण दिनु भयो । त्यसपछि त नेपालमै पदमकृष्ण र धिरेन्द्र श्रेष्ठ बन्नुभयो । धिरेन्द्र श्रेष्ठले त पछि खेलकुद नै छोड्नु भयो । समग्रमा भन्नुपर्दा त्यसबेलाको ठूलो समस्या नै अभाव नै अभाव थियो । सबैको अनुभव त्यस्तै खालको हुन्थ्यो । हामीले खेल्दाखेरी कहिल्यै पनि सुविधा भने पाएनौं ।

० प्रशिक्षणतर्फ चाहिँ कहिले देखि लाग्नु भयो त ?
– १९८१ तिर पटना पढ्न गइयो । पछि मलाई कमल थापाले प्रशिक्षणमा लाग्न जोड दिनु भएकोले प्रशिक्षणमा लागियो । म प्रशिक्षक भएर आएपछि उहाँसंग कतिपय कुराहरुमा मत मिलेन । उहाँ फुटबल संघको अध्यक्ष भएपनि म प्राय बाहिर बसेरै काम गर्थे । त्यो भन्दाअघि पदमकृष्ण र र धिरेन्द्र श्रेष्ठ नै फुटबल प्रशिक्षक थिए ।

० प्रशिक्षकको रुपमा तपाई सधैं विवादित हुनुभयोे, यसको कारण चाहिँ के होला ?
– प्रशिक्षकको रुपमा मेरो अफिसियलहरुसंग सधैं मतभिन्नता रह्यो । म नेपाली फुटबल टीमलाई सधैं राष्ट्रिय भावना अनुरुप, योग्यता, क्षमता र दक्षताको आधारमा खेलाडी समावेश गरेर अघि बढाउने प्रयासमा रहे । तर अफिसियलहरु हरेक कुरामा आफु हावी हुन चाहन्थे । जस्तै संघको अध्यक्ष कमल थापा भएकै बेलामा पनि यहि भयो । व्यक्तिगत फाइदालाई महत्व दिएर टीमलाई बेवास्ता गर्ने गरिन्छ । म त्यसको विपक्षमा सधैं रहे । यसैले मेरो मतभिन्नता फुटबलमा व्यक्तिवाद अन्त्य गरेर मूल्य र मान्यता स्थापित गराउने सवालमा रह्यो ।

० पुरुषोत्तमप्रसाद श्रेष्ठ एन्फाको अध्यक्ष भएको बेलामा त तपाईले मतभिन्नता राख्नु भएन नी ?
– पुरुषोत्तमप्रसाद श्रेष्ठ संघको अध्यक्ष हुँदा म प्रशिक्षक थिएन । पछि उहाँले मलाई बोलाएर प्रशिक्षक बन्न भनेपछि मैले उहाँको आग्रहलाई स्वीकारेको हुँ । मैले त्यसपछि प्रशिक्षकको रुपमा राम्रोेसंग काम गर्ने अवसर पाए । उहाँले प्रशिक्षकको रुपमा मलाई स्वतन्त्र छोडि दिनुभयो । उहाँले आफ्नो व्यक्तिगत विकासको नभइ टीमको विकासका लागि आवश्यक वातावरण बनाई दिनुभयो । र आफ्नो तहवाट सकेसम्मको प्रयास पनि गर्नुभयो । उहाँको नेतृत्व र व्यवस्थापन दुवै पक्षको सहयोग प्राप्त भयो ।
राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्यसचिव राजबहादुर सिंहले राष्ट्रिय टीमको विजयको लागि मलाई प्रशस्त सहयोग गर्नुभयो । उहाँहरुले आफ्नो व्यक्तित्व विकासको लागि नभई फुटबल विकासमा ध्यान दिनु नै हाम्रो सफलताको कारण थियो । हामी त्यसवेला सामुहिक विकासको पथमा इमान्दारीपूर्वक आ–आफ्नो तहबाट लागेको परिणाम सफलतामा पुगेको थियो ।

० अहिले काम कारवाहिप्रति तपाईको प्रतिक्रिया कस्तो छ ?
– अहिले त फुटबल संघ नै कहाँ छ र ? अहिले भएको त केटाकेटी संघ पो हो त । अहिले जो अध्यक्ष हुनुहुन्छ नी उहाँले त आफ्नो दाईको बिँडो मात्रै थाम्नु भएको हो । जसरी कमल थापाले एक व्यक्ति स्टाइलले पहिले चलाउनु भाथ्यो, अहिले उहाँले पनि त्यस्तै गरिरहनुभएको छ । अरुलाई हप्काएर वा थर्काएर अरुको कुरा नसुनी, आफुलाई जे मन लाग्यो त्यहि गर्ने जुन जंगली शैली उहाँको दाइमा थियो, उहाँले पनि ठिक त्यहि हिसाबले काम गरिरहनु भएको छ ।

० त्यसो त संघले फुटबलको विकासका लागि धेरै काम गरिरहेको दाबी गरिरहेको छ नी ?
– जति जे गरे पनि के भो त खै ? फुटबलको नाममा जति काम भएका छन् अध्यक्षको नाम चम्काउनका लागि मात्रै भएका छन् । संघको लागि, टीमको लागि खेलाडीहरुका लागि त केहि पनि गरिएको छैन । उहाँले पत्रिकामा नाम चम्काउने काम मात्रै गर्नु भा छ । तपाई मलाई भन्नुहोस्, अध्यक्ष कतिचोटी विदेश घुम्छन् ? नेपाली टीम कति पटक बाहिर खेल्न जान्छ वा गएको छ ? पदाधिकारी कति चोटी विदेश घुम्छन् र खेलाडीहरुले कति विदेशी सुविधा पाएका छन् ? पदाधिकारीहरुले कति पद ओगटेका छन् र खेलाडीहरुको हालत के छ ? जब संघको स्रोतलाई दुरुपयोग गरेर यस्ता काम गरिन्छ भने यसलाई के भन्ने ? यसैबाट प्रस्ट छ, अहिलेको अध्यक्षले नेपाली फुटबलको विकासको लागि केहि पनि गरेका छैनन् ।

० अहिले र तत्कालिन राष्ट्रिय फुटबल टीममा तपाईले पाउनु भएको भिन्नता के हो ?
– त्यो बेला खेलाडीहरु राम्रा थिए । एक अर्काका समझदारी थियो । विदेशी कोचहरुलाई झिकाइ दिएर तत्कालिन राखेपका सदस्यसचिव शरदचन्द्र शाहले टीमको विकासको लागि राम्रो प्रयत्न गर्नु भएको थियो । अहिलेको अवस्थामा त संघका पदाधिकारीहरुले खेलाडीहरुलाई काखि च्यापेर आफ्नो हनुमान बनाउने, टीमभित्र झगडा गराई दिने जस्ता तुच्छ काम गरिरहेका छन् ।

० फुटबल संघको वर्तमान नेतृत्वले पनि तपाईलाई प्रशिक्षकमा राख्यो तर तपाई त्यहाँ नटिक्नुको कारण के हो ?
– अहिलेका अध्यक्षसंग मेरो पहिलेदेखिकै व्यक्तिगत मतभिन्नता रहेकै थियो । पछि मोहन राई, आरआर गुरुहरुले लगेर मिलाई दिनुभयो । स्वयं अध्यक्ष गणेश थापाले मलाई बोलाउनुभयो । तर उहाँले मलाई प्रयोग गर्न मात्र खोज्नु भयो । अध्यक्षले म जापान जान्न भन्दाखेरी पनि पठाउनु भयो । उहाँले मलाई हरेक कुरामा प्रयोग गर्न खोज्नुभयो तर मैले मानिन । किनभने त्यो तरिकाले खेल र खेलाडी दुबै बिग्रन्छ जस्तो लाग्थ्यो मलाई ।

० भन्नाले कस्तो तरिका ?
– उहाँहरु माथि बसेर हामीहरुलाई निर्देशन गर्ने, हामीहरुले उहाँहरुले चाहेको कुरा गरिदिनु पर्ने थियो । हामीले उहाँहरुले चाहेका खेलाडी राख्न नसक्ने, हामीले छानेका खेलाडी उहाँ राखेको देख्न नसक्ने यस्तै थियो ।

० खेलाडी छनौटको सबै जिम्मा प्रशिक्षकलाई दिएको भनिन्थ्यो नी त ?
– होइन, होइन । यो कुरा सत्य होइन । हामी सबै संगै थियौं, कस्ले भन्छ सक्छ यो कुरा । सोधे हुन्छ नी, अरु प्रशिक्षकले के भन्छन् । उहाँहरुले त्यसरी कहिल्यै जिम्मेवारी दिनु भएको छैन ।

० तपाईले राष्ट्रिय टीमको प्रशिक्षणको जिम्मा लिएपछि झन् खेलाडीहरुलाई माइनसमा पुर्याउनु भयो भन्ने फुटबल संघको दाबी छ नी त ?
– भन्ने त उहाँहरुको बानी धेरै छ नी , माइनस प्लस गर्न त मलाई समय चाहिन्थ्यो नी । हाम्रो टीम जापान जाँदा मलाई जम्मा एक महिनाको समय पनि दिईएको थिएन । तै पनि मकाउ र जापानसंग हारेपनि गेमचाहिँ राम्रै थियो । ओमानसंग खेल्दाचाहिँ मैले खुल्ला खेल्न दिईएको हो । संघका पदाधिकारीहरु बारम्बार खेलाडीहरुलाई सुविधा दिएको घुर्कि लगाउँछन् तर त्यो बेला अनुदानमा आएको जर्सी र ट्रयाकसुट समेत खेलाडीहरुलाई दिएनन् । यो कुराले पनि खेलाडीहरुमा पनि मानसिक प्रभाव पर्याे र नतिजा पनि खराब आयो ।

० तपाई संघमा भित्रिने र बाहिरिने मात्रै किन गर्नुहुन्छ ?
– भित्रिने, बाहिरिने होइन । म त पहिला पनि बाहिरै बस्या हो । जब गणेश थापा अध्यक्ष भएर आए तब म पनि बाहिर बस्नेवाला थिए । किनभने उसको काम गर्ने शैली ठिक छैन भन्ने मलाई थाहा थियो । हामीले त उसलाई खेलाडी हुँदा देखि नै चिनेका थियौं । पछि मेरा गुरु र साथीहरुले झगडा गर्नु हुँदैन मिल भनेपछि मैले प्रशिक्षणको जिम्मेवारी सम्हालेको हुँ । म उहाँले भने जस्तै गर्छु, उहाँको भनाई मान्छु भनेकोले मैले टीम सम्हाल्न गए । तर म गएपछि उहाँले भनेको जस्तो केहि कुरा गर्नु भएन । त्यसपछि म आफै बाहिरिए ।

० त्यसो भए गणेश थापाले तपाईसंग बदला लिएका हुन् त ?
– बदला लिन खोज्या हो, तर सकेन । बदला लिने हिसाव चाहिँ उसको थियो ।

० कस्तो खालको बदला लिन खोजेका थिए थापाले तपाई संग ?
– जब हामीले थापालाई राष्ट्रिय टीमबाट निकालिदियौ, त्यस्तै उसले पनि मलाई टीममा ल्याएर निकाल्ने सुर गर्याथ्यो । मैले पहिल्यै थाहा पाएर छोडिदिए ।

० तपाईले थापालाई के कारणले टीमबाट निकाल्नु भएको हो, के उनी अनफिट थिए ?
– अनफिटको कारणले भन्दापनि अनुशासनहिनताको कारणले उसलाई त्यतिबेला निकालिएको थियो । उसले खेलाडीहरुको मोरललाई डिप्रेस गर्ने काम गर्दथ्यो । तिमीहरु बहुदलमा खेलेर के पाउँछौ, पहिलाको जस्तो (कमल थापाको जस्तो) खेलेर केहि पाउँदैनौं आदि भनेर खेलाडीहरु भड्काउने काम गर्दथ्यो । दिनभरि ट्रेनिङ्ग गरायो, उ रातभरि खेलाडीहरुलाई हतोत्साहि बनाउँदथ्यो । अनि पछि त्यो कुरा थाहा पाएर संघका पदाधिकारीहरु, सदस्यसचिव राजवहादुर सिंह सबैसंग बसेर अनुशासनको हिसावले उसलाई निकालिएको हो ।

० अहिले त थापा संघदेखि राखेप हुँदै फिफाको उपसमितिमा पुगि सके नी त ?
– संघमा लागिसकेपछि कुनै व्यक्ति माथि पुग्नु नेपालमा ठूलो कुरा होइन । जो कोहि पनि माथि पुग्छ । पहिले रुक्मशम्शेर जी पनि फिफाको उपसमितिमा हुनुहुन्थ्यो । आज गणेश थापाको ठाउँमा अर्को मान्छे भएको भए पनि पुग्थ्यो । किनभने नेपाल न्युट्रल भएकोले सबै देशसंग राम्रो सम्बन्ध छ । अझ थापाले त संघमा आएदेखि आफु माथि जाने हिसाबले मात्रै काम गर्याे ।

० नेपाली फुटबलले प्राप्त गरिरहेको विदेशी सहयोगलाई यहाँले कसरी हेर्नु भएको छ ?
– मैले भने नी, नेपाललाई हेरेर सबैले सहयोग गरेका हुन् । फिलिपिन्स्, नेपाल, पाकिस्तान र बंगलादेशजस्ता कमजोर देशहरुलाई फिफाले सहयोग गरिरहेको छ, त्यो उनीहरुको नीति नै हो । धनीभन्दा कमजोर देशलाई सहयोग गर्नुपर्छ भन्ने फिफाको नीतिअनुसार सहयोग आएको हो ।

० थापा त यसलाई आफ्नो सफल नेतृत्वको उपज भन्नुहुन्छ नी ?
– यो थापाको पुरुषार्थले होइन भन्या । यो त समयको उपज हो त । खेलकुद परिषदको उपाध्यक्ष भएकोले वा अन्य कमिटीमा बसेको पुरुषार्थले हो भने त अरु सहयोग पनि आईहाल्थ्यो नी । नेपाल गरिव र न्युट्रल भएकोले सहयोग पाएको हो । नेपाललाई पद दिएको फुटबल प्रमोशनको लागि हो ।

० सबै बरिष्ठ प्रशिक्षक बाहिर हुनुहुन्छ, र पनि फुटबल त गतिशिल नै छ नी हैन र ?
– अध्यक्ष थापा त हामी भन्दा जुनियर हो । उसले हामीलाई लियो भने उसले हामीलाई मान्नुपर्छ र मनपरि गर्न पाउँदैन । पैसा, सेलेक्सन र म्यानेजमेन्टमा मान्छेको कुरा गर्दा हामी उ संग कम्प्रमाइज गर्दैनौं । त्यसैले उसले जहिले पनि हामीलाई बाईपास गरेर जान्छ । हामीलाई बाहिर राखेपछि त उसले जे गरेपनि भयो नी ।

० एन्फामा गुट छ रे हो ?
– छ, मैले देख्या छु, भोग्या छु । सबै एक से एक छन् । सबै व्यक्तिवादी छन् । जसले जता लाग्दा जस्तो फाइदा हुन्छ, त्यतै लागेर फाइदा लिएर लुटिराख्या छन् । यी गुटहरु हामीसंग एकथरि कुरा गर्छन् फाइदा लिने बेलामा सुटुक्क मिल्छन् ।

० तपाई एक खेलाडी र प्रशिक्षकको नाताले भन्नुहोस् एन्फा र खेलाडीहरुको सम्बन्ध कस्तो हुनुपर्छ ।
– प्रशिक्षकको रुपमा एन्फा र खेलाडीहरुको सम्बन्धलाई शुद्धसंग हेर्ने हो भने सुमधुर हुनुपर्छ । एन्फाले खेलाडीहरुलाई इज्जत दिनुपर्छ । यहाँ एन्फाले खेलाडीहरुलाई गालि पो गर्छ । अँझ एन्फा र खेलाडीहरुको विचमा प्रशिक्षकहरु हुनुपर्छ । खेलाडीहरु प्रशिक्षक मार्फत एन्फासंग सम्वन्धित हुनुपर्छ । यहाँ त्यो छैन ।

० यदि राष्ट्रिय टीमको जिम्मेवारी तपाईको हातमा दियो भने कुन तरिकाले लैजानु हुन्छ त ?
– यदि त्यो जिम्मेवारी फेरि मलाई दिइयो भने रि–इलेक्सन त एक पटक गर्नैपर्छ । र, दीर्घकालिन योजना बनाएर लैजानुपर्छ । जसले यो प्रतियोगिताको लागि यति ट्रेनिङ्ग, यो पछि यो खेल्ने, साफमा यो रिजल्ट ल्याउने भनेर लामो योजना बनाउनुपर्छ । दुर्भाग्य, यहाँ यसोे गर्याे र उसो गर्याे भन्ने मात्रै छ । अहिलेको अध्यक्षले १२ वर्षे बालकको योजना राख्नुु भा छ तर त्यसले कुनै फाइदा हुँदैन । किनकी यो अरुले गरेर फेलियर भएको प्रोजेक्ट हो । यो त फ्रेमको लागि मात्रै हो ।

० फुटबल संघ थुप्रै राजनीतिक पार्टीका मान्छेले भरिएको छ, के यो फुटबलको विकासकै लागि हो त ?
– जति पार्टीका जति मान्छे भएपनि सबैको व्यक्तिवादी प्रवृतिको सोच छ । म नै हुँदा कति पटक देखेको छु । अन्यथा आफ्नै सदस्यलाई खेलाडीहरुका अगाडि अध्यक्षले कदापी मनपरि गाली गर्दैन । यसरी अध्यक्षले मनपरि गाली गर्दा समेत केहि फाइदा नपाई त सदस्यहरु गाली सहेर त्यसै बसेका छैनन् होला नी ।

० अब भन्नुहोस, फुटबलको विकासका लागि तपाईको योजना र सल्लाह के त ?
– मेरो हिसावले भन्नुपर्दा सर्वप्रथम अहिलेको संघ नै विघटन गर्नुपर्छ । यसर्थमा कि उसले अहिलेसम्म केहि काम नै गर्न सकेको छैन । यति धेरै सहयोगको पैसा आईरहेको छ, तर कहिँ लगानी गरेको छ ? कसैलाई केहि थाहा छैन । अलि पारदर्शि र स्पष्ट हुनुपर्याे । १२ वर्षे खेलाडीहरुलाई काठमाण्डौं राखेर विश्वकप जित्ने भईदिएको भए त अमेरिका, साउदी अरेविया जस्ता देशहरुले कति लगानी गर्थे कति । त्यसैले मैले त यो संघको विघटन नगरि केहि हुनेवाला देखेको छैन ।

० त्यसो भए कस्तो खालको व्यक्तिलाई फुटबल संघमा ल्याउनु पर्ला त ?
– हामी जस्ताले सम्मान गर्ने, खेलाडीको सम्मान गर्ने, पैसाको लोभ नभएको मान्छे आउनु पर्याे । अँझ आर्मीको जर्नेल बराबरको मान्छे आउनु पर्याे । यस्तो हुनसक्यो भने फुटबलमा सुधार हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :