फाईनल हेर्न आएका दर्शकमाथि एन्फा सुरक्षाकर्मीको दुर्ब्यवहार

सरोज नेपाल

काठमाण्डौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले खटाएको सुरक्षाकर्मीले दर्शकमाथि दुर्ब्यवहार गरेको छ । साफको फाईनल खेल हेर्न दशरथ रंगशाला पुगेका तीन जना दर्शकमाथि एन्फाले सुरक्षाका लागि खटाएका सुरक्षकर्मीले हात पात गर्दै दुर्ब्यवहार गरेको पाइएको छ । सुरक्षा घेरा तोडेर मैदानमा प्रवेश गर्ने दर्शकको संख्या धेरै भएपनि तीनजना भने कुटपिटमै परेका हुन् ।

नेपाल र बंगलादेशबिचको फाईनल खेल सकिएपछि नेपाली महिला टोलिले समर्थनका लागि आएका दर्शकलाई दर्शकदीर्घातर्फ गएर धन्यवाद दिने क्रममा केही दर्शकहरु मैदानमा ओर्लिन पुगेका थिए । त्यसरी प्यारापीटबाट मैदानमा ओर्लिएका दर्शकलाई त्यहाँ एन्फाले खटाएको एक निजि कम्पनीको सुरक्षाकर्मी (बाउन्सर) ले तीनजना दर्शकलाई लाती र मुक्काले हान्दै नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

सुरक्षाकर्मीले यस्तो अभद्र ब्यवहार गरेपछि साधारण प्यारापीटतर्फका बाँकी दर्शकहरुले एन्फाको सुरक्षाकर्मि प्रति नाराबाजि गरेका थिए । दर्शकहरुले सुरक्षाकर्मीले गरेको दुर्ब्यवहार असह्य भएको र शारिरिक रुपमा यातना दिन पाइदैन भन्दै केहीबेर नाराबाजि समेत गरेका थिए ।

दर्शकहरुले नाराबाजि गरेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलपछि केही तनावको अवस्था सिर्जना हुन पुगेको थियो । केही समय नाराबाजी चलेर अवस्था असामान्य बनन्दै गएपछि नेपाल प्रहरीले दर्शकको भिडलाई सम्झाएर नियन्त्रणमा लिन पुगेका थिए ।

विश्वमा खेलकुदका विभिन्न प्रतियोगितामा समेत दर्शकहरु आफूले रुचाएको खेलाडी अथवा टोलि नजिक पुग्न सुरक्षा घेरा तोड्दै मैदानमा प्रवेश गर्ने गरेका छन् । यो चलन भने विश्व खेलकुदमा सामान्य नै मानिन्छ । तर त्यहाँका सुरक्षाकर्मीहरुले त्यस्ता दर्शकलाई सामान्य रुपमा हात लक गरेर पक्राउ गर्ने र पछि छोड्ने गरेको उदाहरणहरु प्रशस्त नै पाइन सकिन्छ ।

तर आज सम्पन्न साफ महिला च्याम्यिनसिपको फाईनलमा भने नेपाली सुरक्षाकर्मीहरुको गैर ब्यवसायिक हर्कतले सम्पूर्ण सुरक्षा क्षेत्रको धज्जी उडाएको उपस्थित दर्शकहरुको भनाइ छ । यस्तै उपस्थित दर्शकहरुले एन्फाले आयोजना गरेको यति ठूलो स्तरको फुटबल प्रतियोगितामा टिकट काटेर खेल हेर्न आएपछि अपमानित भएर फर्कनु पनि लज्जास्पद घटना भएको प्रतिक्रिया दिएका छन् ।

उपस्थित दर्शकहरुले कुटपिटमा पर्ने दर्शकलाई एन्फाले माफि माग्नुका साथै उचित क्षतिपूर्ति समेत तिनुपर्ने माँग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :