मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली आज नेपाल आईपुग्ने

काठमाडौं । नेपालसँगको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्नक लागि बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोली आज (शुक्रबार) नेपाल आईपुग्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशको राष्ट्रिय फुटबल टोली आज राति ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हमाँगाईले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

हमाँगाईले बिहीबार यसअघि प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बाहिर राखेका सबै खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको घोषणा गरेका थिए ।

नेपालले यहि असोज ११ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेलका लागि एन्फाले भिआईपी प्यारापिटतर्फ एक हजार र सामान्य प्यारापिटतर्फ पाँच सयको दरले टिकट शुल्क यसअघि नै तोकिसकेको छ ।

नेपालले फिफा म्याच डेको दिन बंगलादेशसँग एउटा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबिचको खेल साँझ ५ः३० बजेबाट शुरु हुनेछ ।

२३ सदस्यीय नेपाली टोली:

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ

फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :