साइक्लिङको डाउनहिलतर्फ पुरुष तथा महिला दुवै स्वर्ण आर्मीलाई

पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैमा नेपाल आर्मीका खेलाडीले स्वर्ण जितेका छन् ।

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दुरी पुरा गरि कास्य पदक जित्न सफल भएका छन् ।

यता महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दुरी पुरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्न सफल भइन् ।

आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १÷१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १÷१ कास्य पदक जित्न सफल भए ।

सात प्रदेश र तीन विभागिय गरी दश क्षेत्रबाट प्रतिस्प्रर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ । भोली (आइतबार) पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :