प्रायजसो राजनितिक दलका नेता र खेलकुद पदाधिकारीहरुले भन्ने गरेको वाक्य हो–‘खेलाडीहरु देशका गहना हुन् ।’ साँचो अर्थमा भन्ने हो भने खेलाडीहरु देशका गहना नै हुन् । सिमित साधन स्रोतका बावजुद पनि नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा नेपालको मान सम्मान र प्रतिष्ठालाई बढाउन जुन महत्वपूर्ण भूमिका निभाएका छन् त्यसले पनि यो कुरालाई पुष्टि गर्छ ।
खेलाडी छैनन् भने कुनै पनि खेल निकायको महत्व र अस्तित्व रहँदैन । खेलाडीकै कारण ति निकाय अस्तित्वमा छन् । तसर्थ खेलाडी विनाको खेल निकाय अर्थहिन हुने कुरा धुव्र सत्य नै हो । यस्तो अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई राज्य र सम्वन्धित निकायका पदाधिकारीहरुले गर्नुपर्ने ‘व्यवहार र सम्मान’ उच्चकोटीको हुनुपर्नेमा सायदै कसैको दुईमत होला । विडम्वना, नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जितिसकेका एकाद खेलाडीहरु बाहेक अन्यको अवस्था निकै नाजुक र दयनिय छ ।
यसको ज्वलन्त उदाहरणको रुपमा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जितेका कञ्चनपुरका महिला खेलाडीहरु म्यादी प्रहरीमा भर्ना हुनुलाई लिन सकिन्छ । ति खेलाडीहरुले गहभरि आँशु पार्दै आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाका कारण म्यादी प्रहरीमा भर्ना भएको बताउँदा नेपालमा राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरुको कस्तो बेहाल र दुर्दशा छ त्यो तीतोसत्यलाई छताछुल्ल पारिदिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा पदक जितिसकेका खेलाडीहरु यस्तो पीडादायि अवस्थामा हुँदा समेत सम्वन्धित निकायले उनीहरुको वारेमा कुनै खोजखवर नगर्नु यो भन्दा अर्को लाजमर्दो कुरा अर्को हुन सक्दैन । यो मुलुककै लागि सर्मनाक कुरा हो । तर सम्वन्धित निकायको गैरजिम्मेवारीको पराकाष्ठाले खेलाडीहरुलाई यस्तो अवस्थामा पुर्याएको हो भन्दा अतिसयोक्ति नहोला । यो सत्यतथ्यले खेलाडीहरु राज्यका गहना हुन् कि दास ? गम्भिर सवाल खडा गरिदिएको छ ।
खेलाडीहरुको यस्तो दुदर्शा हुनुमा जिल्ला, प्रदेश र केन्द्रका खेलकुद निकाय मात्र नभइ खुद खेलाडीहरु नै प्रमुख जिम्मेवार छन् । खेलाडी भइसकेपछि खेलाडीले पालना गर्नुपर्ने अनुशासन, गर्नुपर्ने मिहिनेत र आफ्नो खेलस्तरको वृद्धि विकासभन्दा पदाधिकारी र प्रशिक्षकहरुको अनावश्यकरुपमा गरेको चाकरी र चाप्लुसीको परिणामले आज नेपाली खेलाडीहरुको कमजोरी नै दास मानसिकता बन्न पुगेको छ । जस्ले खेलाडीहरुलाई उत्कृष्ट खेलाडी बन्नमा ठूलो अवरोध खडा गरिदिएको छ । यो कुरा खेलाडीहरुले बुझेका छन् तर बुझेर पनि किन बुझपचाइ रहेका छन् या खुद अञ्जान छन् ।
पदाधिकारी र प्रशिक्षकहरुद्वारा अनाहकमा पीडित हुँदा समेत खेलाडीहरुले उनीहरुको विरुद्धमा एउटै आवाज समेत उठाउन सक्दैनन् । आफ्नो अधिकारको लागि आवाज उठाउँदा समेत खेल्न नपाउने हो कि भन्ने सन्त्रासवाट उनीहरु ग्रस्त छन् । यदि सञ्चारमाध्यमले खेलाडीहरुले पाउनुपर्ने हकअधिकारको वारेमा समाचार सम्प्रेषण गरे उल्टै तिनै पदाधिकारी र प्रशिक्षकको वकालत गरेर सञ्चारमाध्यमलाई झूठो सावित गर्न सक्रिय हुन्छन् । आखिर किन त भन्दा यो सवै खेलाडीहरुको दास मानसिकताको उपज हो । अहिले यहि दास मानसिकता नै खेलाडीहरुको ठूलो कमजोरी बन्न पुगेको छ । जस्को इलाज खुद खेलाडीहरुले नै गर्नुपर्ने देखिएको छ ।
आफुमा योग्यता र प्रतिभा छ भने कसैको चाकरी गर्नुपर्ने आवश्यकता छैन, यो कुराप्रति खेलाडीहरु गम्भिर बन्नुपर्ने आवश्यक भइसकेको छ । आफ्नो हकअधिकारको कुरामा निडर भएर कुरा राख्ने र सत्यतथ्यको पर्दाफास गर्ने कुरामा कहिल्यै बिचलित हुनु हुँदैन । नेपालीमा एउटा चर्चित उखान छ, ‘बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ तसर्थ खेलाडीहरु माथि भएका अन्याय अत्याचारको वारेमा खुद खेलाडीहरु नै अग्रसर हुनुपर्छ ।
विडम्बना, नेपाली खेलाडीहरु आफुमाथि हुने अन्याय, अत्याचार सहेर ‘मरिच’ झैं चाउरिन तयार छन् तर सत्यतथ्य बाहिर ल्याउन चाहदैनन् । जस्ले नेपाली खेलाडीहरुमा दिन प्रतिदिन दास मानसिकताले जरो गाड्दै गएको छ । जस्ले नेपाली खेलकुदमा विकृति बिसंगति भित्र्याएको मात्रै नभई नेपाली खेलकुदलाई अनुपात्पदक बनाउनमा ठूलो रोल प्ले गरेको छ । यदि यसरी नै नेपाली खेलकुद अगाडि बढ्ने हो भने भोलि यसले भयावह रुप धारण गर्ने कुरामा सायदै कसैको दुईमत होला ।
तसर्थ खेलकुदलाई कर्मभूमि ठान्नेहरुले नेपाली खेलकुदको दयनिय अवस्थाको फाइदा उठाउँदै खेलाडीहरुको मर्ममा प्रहार गर्दै दासत्वको साङ्गलोमा बाँध्नुभन्दा उनीहरुलाई स्वतन्त्ररुपमा पखेटा फिजाउन र उड्न दिए नेपाली खेलकुदको कल्याण हुने देखिन्छ । अन्यथा खेलाडीहरु राष्ट्रका गहना नभइ खेलकुद पदाधिकारी र प्रशिक्षकहरुको दास बन्ने कुरालाई नकार्न मिल्दैन ।