एपीएफले आर्मीलाई हरायो

काठमडौं । पहिलो संस्करणको सगरमाथा कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी शुरुवात गरेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको पहिलो दिनको दोश्रो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

आर्मीले दिएको १ सय ३९ रनको लक्ष्य एपीएफले अन्तिम ओभरको ३ बल बाकीँ रहँदा ८ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागि सुमित महर्जनले अविजित रहँदै सर्वाधिक ३७, पुरन विकले २१, विपिन खत्रीले अविजित १६ तथा लोकेश बमले १६ रन जोडे ।

बलिङ्गमा एपीएफका हरि चौहानले ४ तथा बसिर अहमदले २ विकेट लिए । यस्तै बिक्रम सोब र शुसन भारीले समान १-१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ्ग गरेको आर्मीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३८ रनको कुल योगफल तयार पारेको थियो ।

आर्मीका लागि कुशल मल्लले अविजित ४९, सचिन शर्माले ३० र बिक्रम सोबले २० रन जोड्दा हरि चौहान र भिम सार्कीले ११-११ रन बनाए ।

यस्तै कप्तान विनोद भण्डारी ८ रनमा अविजित रहे ।

एपीएफका लागि कमल सिंह ऐरीले २ तथा विपिन खत्रीले १ विकेट लिएका थिए ।

जितसँगै एपीएफले महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ ।

यो पनि पढ्नुहोस् : प्रदेश १ को विजयी शुरुवात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :