कतार विश्वकप २०२२ को उद्घाटन समारोहको शुभारम्भ ‘एक अर्कालाई चिन्नको लागि’ भन्ने संदेशबाट भएको थियो । उद्घाटन समारोहमा अमेरिकि अभिनेता मोर्गन फ्रिम्यानले ‘किस्सागो’ को भूमिका निभाउँदै कतारी संगीतकार दानासँग मिलेर मानव एकताको कथा सुनाएका थिए । सो क्रममा कतारको संस्कृति र विश्वकप २०२२ मा सहभागि राष्ट्रहरुको परिचय गराएका थिए । जुन फुटबल खेलको माध्यमबाट सम्पूर्ण मानव जातीलाई एकताको सुत्रमा बाँध्नको लागि ठूलो सन्देश थियो र गएको पनि थियो ।
त्यस्तै विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फेन्टिनोले उद्घाटन समारोहमा छोटो मन छुने भावुक भाषण गरेका थिए । इन्फेन्टिनोले आफ्नो भाषणमा भनेका थिए ‘आज म कतारी भएको महसुस गरिरहेको छु, आज म अरवी भएको महसुस गरिरहेको छु, आज म अफ्रिकि भएको महसुस गरिरहेको छु, आज म समलिङ्गि भएको महसुस गरिरहेको छु, आज म विकलाङ्ग भएको महसुस गरिरहेको छु, आज म एक प्रवासी श्रमिक भएको महसुस गरिरहेको छु, मलाई थाहा छ भेदभाव गर्दा कस्तो लाग्छ ?म पिडित भए किनकि मेरो कपाल रातो थियो ।’ इन्फेन्टिनोको यो भावुक भाषणमा कतारको बास्तविता लुकेको थियो ।

त्यस्तै उद्घाटन समारोहमा विटिएस ब्याण्ड्सका विश्व चर्चित कोरियन गायक जुङ्गकुकले आफ्नो गीत ‘ड्रिमर्स’ गाएका थिए । जुङ्गकुकले गायको गीतको बोल थियो –‘हेर हामी को हौं, हामी सपना देख्ने मान्छे हौं, हामी यसलाई पुरा गर्छौं, किनकि हामी यसलाई मान्छौं ।’ उनको यो गीतले विश्वकपमा खेल्ने सपना र कतारको कट्टर संस्कृतिको बारेमा प्रक्षेपण गरेको भान हुन्थ्यो । जुङ्गकुकले उद्घाटन समारोहमा यो गीत गाउँदा रङ्गशालामा उपस्थित सम्पूर्ण फुटबल प्रेमीले बेग्लै किसिमको रश्वादान गरेका थिए । जुन गीत आफैमा सन्देश मुलुक थियो ।
कतारले विश्वकप फुटबल २०२२ को आयोजनाको जिम्मेवारी पाएपछि यहाँ युद्धस्तरमा कार्य भएका थिए । जस अन्तर्गत ७ वटा अत्याधुनिक नयाँ रङ्गशालाको निर्माणसँगै एउटाको पुर्ननिर्माण गरिएको थियो। यसको अलावा नयाँ एयरपोर्ट, नयाँ मेट्रो र नयाँ सडकहरुको समेत निर्माण गरिएको थियो । यी भौतिक पूर्वाधार निर्माणको लागि विश्वका करिब ३० हजार श्रमिकले आफ्नो श्रमको योगदान दिएका थिए । तर ती श्रमिकहरुप्रति कतारले जुन सम्मान दिनुपथ्र्यो त्यस्तो नहुँदा अहिले पनि कतारले आलोचना खेप्दै आउनु परेको छ ।
सन् २०२१ मा मानव अधिकार संस्था वाचले आफ्नो रिपोर्टमा कतारमा विदेशी कामदारले झेल्नु परेको समस्याको बारेमा खुलासा गरेको थियो । जस्मा श्रमिकहरुको पाउने तलवमा गरिएको अवैध कटौति, समयमा तलव नदिएको र विना तलव थुप्रै महिना श्रमिकहरुले काम गर्नु परेको कुरा उल्लेख गरिएको थियो ।
त्यस्तै सन् २०२१ मा एक सञ्चारमाध्यमले विश्वकप फुटबलको पूर्वाधारको निर्माणको क्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका ६ हजार ५ सय प्रवासी कामदारको मृत्यु भएको दाबी गरेको थियो । तर कतारले सन् २०१४ देखि २०२० सम्म विश्वकपका लागि रङ्गशालाहरुको निर्माण गर्दा ३७ जना कामदारको मृत्यु भएको जनाएको छ । साथै ती मध्ये ३४ जनाको मृत्यु कामको कारणले नभएको पनि कतारको जिकिर छ ।
त्यस्तै अन्तर्राष्ट्रिय लेबर अर्गनाइजेशन (आईएलओ)ले कतारमा अचानक र अप्रत्यासित तरिकाबाट भएको श्रमिकको मृत्युको गणना नगरिएको बताएको छ । जस्मा हर्ट अट्याक, हिटस्ट्रोकबाट भएको मृत्युलाई कामको कारणले नभै प्राकृतिक कारणले भएको बताएको छ । जुन अहिलेसम्म आफैमा विवादित बनेको छ । ५० डिग्री भन्दा माथिको ताप र रापमा सेकिएर विभिन्न कारणले मृत्युवरण गरेका श्रमिकको बारेमा लेबर अर्गनाइजेशनको नै यस्तो धारणा आउनुले श्रमिकहरु निकै मारमा परेका छन् ।
कतारले विश्वकप फुटबलको आयोजना गर्ने जिम्मेवारी पाएदेखि नै विवादमा पर्दै आएको छ । अमेरिका, अष्ट्रेलिया, जापान र कोरिया जस्ता राष्ट्रहरुलाई विश्वकपको आयोजनाको जिम्मेवारी नदिएर कतारजस्तो सानो र मुस्लिम देशलाई दिएपछि त्यसै बेला विभिन्न राष्ट्रहरुले फिफाका पदाधिकारीहरु माथि आर्थिक चलखेल भएको आरोप लगाउँदै सवाल खडा गरेका थिए । तर अहिलेसम्म यी आरोपको कुनै ठोस सबुत भने प्राप्त भएको छैन ।
कतार विश्वकपका दौरान अहिले विशेषगरि महिलाहरुप्रति निकै कडा नियम लागु गरिएको छ । महिलाहरुलाई फुटबल हेर्न रङ्गशालामा उपस्थित हुँदा र अन्य स्थानमा घुम्दासमेत घाँटी र घुँडासम्म छोप्ने लुगा लगाउनुपर्ने अनिवार्य गरिएको छ । त्यस्तै विवाहित वाहेक अविवाहित युवा युवतीहरुलाई यौन सम्पर्क गर्नमा समेत प्रतिवन्ध लगाइएको छ । त्यसैले फुटबल खेलाडीहरुका पत्नी र गर्लफ्रेण्डलाई कतार सरकारले क्रुजमा राखेको छ । उनीहरुलाई क्रुजमै बस्न र पार्टी गर्न अपिल गरेको छ । यदि यो कानुन तोडेमा ७ बर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी समेत दिइएको छ ।

यसरी अहिले महिलाहरुले विश्वकपमा आफुले खुलेर स्वतन्त्ररुपमा मनले इच्छाएको कुनै पनि कार्य गर्न पाएका छैनन् । त्यसको लागि महिलाहरुले कतार सरकारलाई महिलाप्रतिको कठोर कानुनलार्ई लचिलो बनाउन अनुरोध समेत गरेका छन् । र पनि, महिलाहरुको अनुरोधलाई कतार सरकारले अनदेखि र अनसुनी गर्दै आएको छ । जस्ले विश्वकपका दौरान रङ्गशालामा देखिने रङ्गीचङ्गी रौनकतामा समेत निकै कमि आएको छ । तर भविष्यमा यो कुराको कस्तो टीका टीप्पणी होला भन्ने कुरामा कतार सरकारले खासै ध्यान दिएको छैन ।
विश्वकपको उद्घाटन समारोहमा विश्वका सम्पूर्ण मानव जातीलाई एकताको सुत्रमा बाँध्नको लागि ठूलो सन्देश दिएपनि महिलाको हकहित र अधिकारको बारेमा कुनै शब्दको उच्चारण गरिएनन् । तसर्थ उद्घाटन समारोहमा रङ्गशालामा उपस्थित केहि महिला तथा पुरुषहरुले ‘महिला अधिकार खै त ?’ भन्ने जस्ता नारा लेखिएका प्ले कार्डहरु प्रदर्शन गरेका थिए । साथै उनीहरुले महिलाहरुको इच्छा आकाङ्क्षा हुन्छ त्यसको स्वतन्त्रता खै ? यस्तो पनि मानव अधिकार हुन्छ भनेर आक्रोश पोखेका थिए । तर कतार आफ्नो इस्लामिक धर्म संस्कृति र नियम कानुनका अगाडि टसको मस भएको छैन ।
त्यस्तै कतार विश्वकप फुटबलको आयोजनाका लागि निर्माण गरिएका पूर्वाधारको निर्माणका क्रममा थुप्रै विदेशी कामदारहरुले ज्यान गुमाएका थिए । यो कुरा केहि हदसम्म कतार सरकारले पनि स्वीकार गरेको छ । तर जस्ले रगत पसिना सुकाएर यी पूर्वाधारहरुको निर्माणमा ज्यान समेत दिएर सहयोग गरे त्यसको बारेमा कतार सरकारले उद्घाटन समारोहमा ‘चुँ’ समेत गरेन । कतारको यस्तो व्यवहारका कारण अहिले विश्व समुदाय चकित पर्दै कतारको आलोचना गर्न पछि परेका छैनन् ।