फिफा विश्वकपमा गोल गरेसँगै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो पाँचवटा फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
घानाविरुद्ध जारी समूह ‘एच’ को खेलमा गोल गरेसँगै रोनाल्डोले पाँचवटा फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर किर्तिमान स्थापित गरेका हुन् । उनले खेलको ६२औं मिनटमा पेनलटीमा गोल गर्दै पोर्चुगललाई १–० गोलले अग्रता समेत दिलाए ।
रोनाल्डोसँगै चारवटा विश्वकपमा गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका पेले, जर्मनीका मिरोस्लाभ क्लोसे र उवी सीलर रहेका छन् ।
तर, रोनाल्डोले खेलेका सबै पाँचवटा विश्वकपको खेलमा गोल गर्ने किर्तिमान बनाएका हुन् । घानाविरुद्ध भने रोनाल्डोको यो दोश्रो गोल हो । उनले सन् २०१४ को विश्वकपको समूह चरणमा घानाविरु४ २–१ गोल अन्तरको जित हात पार्दा एक गोल गरेका थिए ।
सन् २००६ मा पहिलोपटक विश्वकपको मैदानमा उत्रिएका रोनाल्डोले अहिलेसम्म १५ खेलमा ७ गोल गरेका छन् । उनले सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध हयाट्रिक समेत गरेका छन् ।
पाँचपटकका बालोन डी’आर विजेता रोनाल्डोले सन् २००६ मा १७ नम्बरको जर्सि लगाएर पोर्चुगलको राष्ट्रिय टोलिबाट एङ्गोलाविरुद्ध विश्वकपको डेब्यु गरेका थिए । सोही संस्करणको दोश्रो खेलमा इरानविरुद्ध ८०औं मिनटमा पेनल्टीमा गोल गर्दै रोनाल्डोले विश्वकपको मञ्चमा पहिलो गोल गरेका थिए । यो गोलसँगै रोनाल्डोले (२१ वर्ष १३२ दिन) पोर्चुगलका लागि विश्वकपमा गोल गर्नै सबैभन्दा कान्छा खेलाडीको किर्तिमान समेत बनाएका थिए ।
यसपछि सन् २०१० मा रोनाल्डोले रियाल मड्रिडका लागि मात्र नभई पोर्चुगलको जर्सि नम्बर ७ मात्र सम्हालेनन् टोलिको कप्तानीको जिम्मेवारी समेत पाएका थिए ।
समग्रमा रोनाल्डोले २००६ मा एक, २०१० मा एक गोल, २०१४ मा एक गोल गरेका थिए भने सन् २०१८ को विश्वकपमा चार गोल गरेका थिए ।
रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्नेको सूचीको शिर्ष स्थानमा छन् । उनले पोर्चुगलका लागि खेलेको १९२ खेलमा ११८ गोल गरेका छन् ।