बाल्यकालदेखि नै खेलप्रति अघात रुचि राख्ने उहाँ अर्थात् किशोरबहादुर सिंहले खेलकुदको नम्र्स थाहा पाएदेखि नै ब्याड र कर्कमा आँखा पुगेको थियो । अँझ परिवारिक वातावरण नै खेलकुद भएकोले उहाँलाई यस क्षेत्रतर्फ हाम फाल्दा पनि प्रोत्साहन नै मिल्यो । पहिले पहिले चोक, गल्ली र चउरहरुमा ब्याडमिन्टन सिक्ने र खेल्ने उहाँ २०२२ सालदेखि मात्र सक्रियरुपमा ब्याडमिन्टन खेल्न थाल्नु भएको हो। त्यसबेलाका प्रमुख चार खेलहरु बक्सिङ, फुटबल, टेबलटेनिस र ब्याडमिन्टन भएपनि ब्याडमिन्टनतर्फ आकर्षित हुनमा उहाँँको बाल्यकालको रुचि थियो । आफ्नो सक्रिय ब्याडमिन्टन खेलको प्रादुर्भाव त्रिचन्द्र कलेजबाट भएको मान्ने उहाँले त्रिचन्द्र कलेजकै सहयोगले गर्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)को बाटो छिटो भएको कुरा बताउनु हुन्छ ।
सन् १९४२ मा बुवा इन्द्रबहादुर र आमा रत्न राज्यश्वरी सिंहका छोराको रुपमा यस धर्तिमा पदार्पण गरेका सिंहले विसं २०२२ सालदेखि २०२९ सालसम्म ब्याडमिन्टन खेलमा निकै संघर्ष गर्नु पर्यो । मिहिनत र संघर्षले नै सफलताका मार्गहरु खोल्ने कुरा राम्रोसँग बुझेका उहाँलाई २०२९ सालमा नेपालको नम्वर एक ब्याडमिन्टन खेलाडीको रुपमा स्थापित गराई दियो । एक पटक सफलता पाउँदैमा गम्किनु र फुर्किनुभन्दा पनि यो भन्दा बढी सफलता हासिल गर्न उहाँले मेहनत र संघर्ष गर्न कहिल्यै छोड्नु भएन । त्यसैले होला मेहनतको फल स्वादिस्ट हुन्छ भन्ने कुरालाई यथार्थमा परिणत गर्दै उहाँले ब्याडमिन्टनको सिंहासनमा लगातार ६ वर्ष नम्वर एक खेलाडी भएर बस्नु भयो । उहाँले यस अवधिमा राष्ट्रिय एकल उपाधि, युगल उपाधि र मिश्रित युगल उपाधि थुप्रै पटक जितेर कीर्तिमान कायम गर्नु भएको थियो ।
नेपालको ब्याडमिन्टन खेलमा तहल्का मच्चाइसकेपछि सिंहले पहिलो पटक सन् १९७० मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर प्राप्त गर्नुभयो । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता अनुभवमै सिमित रहेपनि छैठौ, सातौं र आठौं एशियाली खेलकुद प्रतियोगितामा भने उहाँले उत्कृष्ट प्रदर्शन गर्दै सफलताको स्वाद चाख्न सफल हुनु भएको थियो । यी प्रतियोगिताहरुमा उहाँले भारत, श्रीलंका, बंगलादेश, भुटान फिलिपिन्स र बर्माका नम्वर एक खेलाडीहरुलाई पराजित गर्न सफल भएपनि कुनै उपाधि भने हात पार्न सफल हुनु भएन । आफ्नो ब्याडमिन्टन खेलाडी जीवनमा त्यस्तो ऐतिहासिक सफलता प्राप्त गर्न नसकेपनि डब्लुबीएफद्वारा हङकङमा आयोजित वल्र्ड च्याम्पियनसिपको प्रीक्वाटर फाइनलसम्म पुगेर टीम इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्न सफल हुनु भएको थियो ।
विगतमा ब्याडमिन्टनको खेलको स्तर निकै राम्रो भएको बताउने सिंह अहिले भौतिक पूर्वाधारको कमिले गर्दा यो खेलमा ह्रास आइरहेको उहाँको ठम्याई छ । कुनैपनि खेलको विकास गर्न सहि दृष्ट्रिकोण भएमा मात्र खेलको स्तर बढ्छ । तर नेपालमा यो खेलको भविष्य राम्रो भएपनि आजभन्दा ३५ वर्षअघि जतिको पनि सुविधा छैन । जसले गर्दा दिनप्रतिदिन खेलाडीहरु निराश हुनुको साथै खेल स्तरमा समेत ह्रास आईरहेको छ । यस्तो अवस्थामा आफु यसै खेलको खेलाडीदेखि पदाधिकारी अर्थात् अध्यक्ष भइसकेको नाताले गर्दा यस खेलको विकासमा नेपाल ब्याडमिन्टन संघकै सक्रियतामा एउटा कभर्ड हलको निर्माण गर्नेतर्फ लागिरहेको उहाँले बताउनु भयो । जापानको सहयोगमा अहिलेसम्म ८ लाख रुपैयाँ संघको खातामा जम्मा गरिसकेको बताउने सिंहले निकट भविष्यमा जग्गा पाएमा हल निर्माण कार्य शुभारम्भ गर्ने समेत बताउनु भयो ।

ब्याडमिन्टन खेलको विकासको आधार विद्यालयलाई मान्ने सिंह अहिले विद्यालयमा नै यस खेलको आधार स्तम्भ राख्ने प्रयासमा जुट्नु भएको छ । बेलाबेलामा अन्तर विद्यालय च्याम्पियनसियको आयोजना गरेर त्यसलाई राष्ट्रिय खेलाडीहरुको छनौटको माध्यम बनाई राख्नु भएको छ । वर्तमान अवस्थामा यस खेलको स्तर उकास्न पुराना महिला तथा पुरुष ८ जना खेलाडीहरु छनौट गरेर तीन महिनाको बन्द प्रशिक्षण राख्ने सिंहले योजना बनाउनु भएको छ । त्यस्तै सिंहले अण्डर १९ भन्दा मुनीका र १६ वर्षमुनीका खेलाडीहरुको छनौट गरेर अर्को तीन महिने बन्द प्रशिक्षणमा राख्ने सोच बनाउनु भएको छ । यो कार्यक्रम पहिले ट्रयायलको रुपमा हुने र यसमा सफलता मिल्यो भने एउटा एकेडेमी खोल्ने उहाँको दीर्घकालिन योजना छ ।
खेलाडीदेखि पदाधिकारीको दौडमा सिंह सफल भएपनि अतितको खेलाडी जीवनको बारेमा बताउँदा उहाँ अहिले अलि निराश देखिनु हुन्छ । राष्ट्रियस्तरका प्रतिस्र्धाहरुमा म अन्य खेलाडीहरुलाई अण्डर १० मा हराउँथे, त्यतिबेला म जस्तो खेलाडीलाई सम्बन्धित निकायले विदेशमा प्रशिक्षणको लागि पठाएको भए अँझ राम्रो प्रदर्शन गर्थे कि भन्ने खड्किएको बताउनु भयो । पहिले आफु खेलाडी हुँदा यो पुगेन, उ पुगेन भनेर डिमाण्ड गरिन्थ्यो । तर अहिले आफु यो ठाउँमा पुग्दा उनीहरुलाई केहि गर्न नसक्दा कति समस्या हुँदो रहेछ बल्ल थाहा भएको छ । त्यसैले यस्तो समस्या समाधान गर्न हामीले राखेपले छुट्याएको वार्षिक बजेटको मात्र मुख नताकि संघको व्यक्तिगत प्रयासबाट पनि अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।
खेलाडीले नै खेलाडीको समस्याहरु राम्रोसँग केलाउन सक्छ भनेर नै ब्याडमिन्टन खेलको विकासमा होमिनु भएको सिंहले खेलाडीलाई हौसला र प्रोत्साहन दिन बेलाबेलामा आफुले जानेको सिप अर्थात् टेक्निकल कुराहरुको प्रायजसो ज्ञान दिदै आउनु भएको छ । आफ्नो सबैभन्दा खुशीको क्षण राष्ट्रिय च्याम्पियनसिपलाई मान्ने सिंहले उक्त प्रतियोगितामा तत्कालिन राष्ट्रिय च्याम्पियन अर्थात् नम्बर एक खेलाडी पुरुषोत्तम केसीलाई पराजित गरेर नम्बर एक खेलाडी बनेको क्षणलाई मान्नु हुन्छ । त्यस्तै ब्याडमिन्टन खेल्दा आफुलाई त्यस्तो दुःखको अनुभव कहिल्यै नभएको बताउनु हुन्छ ।
र पनि, २०४६ सालको कुरा हो, जब म खेलाडीहरुलाई कवर्डहलमा खेलाई रहेको थिए, तब तत्कालिन सदस्यसचिव राजवहादुर सिंहले को हो त्यो बाहिरको मान्छे खेलाउने भनेर खेल नै बन्द गराइयो, यो घटनाबाट भने म ज्यादै दुःखी छु । म ब्याडमिन्टन संघमा नहुँदा गरिएको यो अमानविय कार्य सम्झदा मलाई अहिले पनि ज्यादै नरमाइलो लाग्छ ।
भारतको पटियालाबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा डिल्पोमा गर्नु भएका सिंहले २०२२ सालमा सर्वोकृष्ट खेलाडीको पुरस्कार पाउन सफल हुनु भएको थियो । त्यस्तै २०२४ सालमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन महासंघद्वारा ब्याडमिन्टन खेलको विकासमा महत्वपूर्ण योगदान निर्वाह गरेवापत ‘मेरिरियोस सर्भिस अवार्ड’ पनि प्राप्त गर्न सफल हुनु भएको थियो ।
सन् १९८२ देखि १९८४ सम्म एशियन ब्याडमिन्टन कन्फेडरेशनको सदस्य बन्ने सौभाग्य पाउनु भएको सिंहले अन्तर्राष्ट्रिय ब्याडमिन्टन महासंघद्वारा सञ्चालित एड्भान्स कोचिङ कोर्सहरु ( जुन हङकङ र भारतको गोवामा सञ्चालन भएका थिए ) मा भाग लिनु भएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा सञ्चालित ओलम्पिक सोलिडारिटी स्पोर्टस् एड्मिनिष्ट्रेशन कोर्समा भाग लिएर खेलकुद सम्बन्धि विशेष ज्ञान हासिल गर्नु भएको थियो ।
ब्याडमिन्टन खेलको भविष्यको बारेमा कुरा गर्दा सिंहले अँझै पनि अभिभावकहरुले खेलकुदलाई नबुझेकोले निकै राम्रा प्रतिभाहरु लुकेर बसेको स्वीकारे । युरोप, अमेरिकामा क्षेत्रियस्तरमा पनि खेलाडीहरुको छनौट भयो भने ति खेलाडीहरुका अभिभावकहरुले आफ्नो बच्चालाई प्रोत्साहन गर्न सबै ठाउँमा मेरो बच्चा यस्तो ठाउँमा छनौट भयो भनेर हिड्छन् । विडम्वना, हाम्रो देशमा भने ठिक उल्टो छ, यहाँ यसरी छनौट भयो भने खेलकुदमा लागेर छोरा छोरी बिग्रने त होइन ? भन्ने मानसिकरुपमा ग्रस्त छन् । त्यसैले जबसम्म आम नेपालीहरु खेलकुद प्रतिको आफ्नो गरिब मानसिकतालाई हटाउँदैनन् तबसम्म खेलकुदमा केहि हुनेवाला छैन । नेपालको सन्दर्भमा यो कुरालाई पूर्व च्याम्पियन खेलाडीहरुले आफ्ना छोराछोरीलाई खेलकुदमा नलगाउनुले पनि प्रमाणित गर्छ ।
नेपालमा कुनैपनि खेलको विकास गर्न सर्वप्रथम खेलाडीहरुको अवकाशपछि जागीरको ग्यारेन्टी हुन अति आवश्यक छ । यहाँ त खेलाडीपछि खालि प्रशिक्षक मात्रै बन्ने हुँदा खेलाडीहरुमा वितृष्णा पैदा भइरहको छ । यसको लागि विभिन्न संस्थाहरुले जागीरको ग्यारेन्टी लिइदिएको खण्डमा अवश्य पनि नेपाली खेलकुदको स्तर माथि पुग्ने कुरामा कुनै शंका छैन । अर्को कुरा खेलाडीहरुको प्रशिक्षणमा अहिलेसम्म कुनै वैज्ञानिक तरिकाको प्रयोग नगरिएकोले यसतर्फ पनि राखेपले बुद्धि पुर्याए नेपाली खेलकुद केहि वर्षभित्रमै अन्तर्राष्ट्रियस्तरमा पुग्ने कुरामा सिंहले विश्वास प्रकट गर्नुभयो ।

(नोट: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष समेत रहेका स्वर्गीय किशोरबहादुर सिंहसँग मेरोखेल डटकमका प्रधानसम्पादक श्रीविक्रम भण्डारीले २०५६ साल असार २४ गते अर्थात् आजभन्दा २३ बर्ष अगाडि सिंहसँग गरेको कुराकुनीमा आधारित यो सम्वादलाई समय सान्दिर्भिक ठान्दै जस्ताको त्यस्तै पुनः प्रकाशित गरिएको छ ।)
यो पनि पढ्नुहोस् : राखेपका पूर्व सदस्यसचिव किशोर बहादुर सिंहको निधन