सानै उमेरदेखि फुटबल भनेपछि हुरुक्कै हुने उनी शुभारम्भमा कागजको फुटबल बनाएर खेल्थे । रमाइलोको लागि फुटबल खेल्दाखेल्दै कक्षा ४ मा पढ्दा नै ७ कक्षासम्मको फुटबलको कप्तान बनेर भविष्यमा उत्कृष्ट खेलाडी बन्ने छनक देखाएका थिए । समयको प्रभावसँगै १३ बर्षको उमेरमा लोकल क्लबकाट फुटबल खेल्ने अवसर पाएका उनले १५ बर्षको उमेरमा ‘वर्ड डे कप’ खेलेर सबैलाई आश्चर्य चकित पारिदिए । वर्ड डे कपमा गरेको उत्कृष्ट प्रदर्शनपश्चात् आरसिटी क्लबमा अनुबन्धित भएका उनलाई त्यसपछि एन्फाले आँखा गाड्दै युथ–१६ को लागि ट्रेनिङमा राखेको थियो । त्यसपछि राष्ट्रिय फुटबल टीममा फड्को मारेका उनले राष्ट्रिय टीमबाट मिडफिल्डको भूमिका निभाउँदै एकपछि अर्को सफलताको स्वाद चाख्दै गए । आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा गरेको अभुतपूर्व प्रदर्शनले उनी राताराता नेपाली फुटबलको ‘हिरो’ बन्न पुगे । आठौं साफलाई आफ्नो सफलताको राज मान्ने उनै चर्चित फुटबल खेलाडी वसन्त गौचनसँग मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले २०५६ साल अर्थात् आजभन्दा २३ अगाडि लिएको विशेष अन्तर्वार्ताः

० कहिलेदेखि फुटबल खेल्न थाल्नु भएको हो, फुटबलप्रति नै कसरी रुचि बढ्यो, यसको खास रहस्य थियो कि ?
– फुटबल त सानै उमेरदेखि खेल्न थालेको हुँ, खासगरि साथीहरुसँग रमाईलोको लागि कागजको फुटबल बनाएर खेल्दाखेल्दै फुटबलप्रति रुचि बढेको हो, फुटबलप्रति आकर्षित भएको हुँ । त्यस्तो कुनै रहस्य थिएन, सानोमा रमाईलोका लागि फुटबल खेल्दाखेल्दै फुटबल मन प¥यो, कुरो यहि हो ।
० सानै उमेरदेखि फुटबल खेलेको भन्नु भो, विद्यालयस्तरमा चाहिँ कहिलेदेखि फुटबल खेल्ने अवसर प्राप्त भयो नी ?
– म सानै उमेरदेखि फुटबल भनेपछि हुरुक्कै हुन्थे । विद्यालयस्तरमा कक्षा ४ देखि नै पोखराको छोरेपाटन स्कुलबाट फुटबल खेल्न थालेको हुँ । त्यसबेला म ७ कक्षासम्मका विद्यार्थीहरुको क्याप्टेन बनेर फुटबल खेल्थे ।
० विद्यालयस्तरबाट खेल्दाखेल्दै कुनै स्थानिय फुटबल क्लबसँग खेल्ने अवसर पाउनु भएको थियो ?
– मैले विद्यालयस्तरका फुटबलका प्रतियोगितामा राम्रो प्रदर्शन गरेको हुनाले घर छेउकै लोकल क्लब ‘ड्याम साइड युथ क्लब’बाट पहिलो पटक खेल्ने मौका पाएको थिए । म त्यसबेला १३ बर्षको थिए । मैले उक्त क्लबबाट राम्रो प्रदर्शन गरेको हुनाले कास्की जिल्लाको टीमले बोलाएपछि मैले त्यहाँ दुई वर्ष प्रशिक्षणगरि १५ बर्षको उमेरमा क्लब च्याम्पियनसिप ‘वर्ड डे कप’ खेलेको थिए ।
० ‘वर्ड डे कप’ खेलिसकेपछि तुरुन्तै राष्ट्रिय फुटबल टीममा स्थान पाउनु भएको कि अँझै अरु संघर्ष गर्नुपर्यो ?
– ‘वर्ड डे कप’मा मेरो खेलको तारिफ भएपनि राष्ट्रिय टीममा स्थान पाउनका लागि मैले क्षेत्रिय प्रतियोगिता, त्रिभुवन क्लब च्याम्पियनसिप र खुकुरी कप जस्ता फुटबल प्रतियोगिता खेल्नु पर्यो । पहिलो खुकुरी कपमा मैले कास्की जिल्लाबाट खेलेर उत्कृष्ट प्रदर्शन गरेको हुँदा मलाई सर्वप्रथम आरसिटीले अनुबन्धित गरेको थियो । आरसिटीबाट एक वर्ष खेलिसकेपछि त्यहाँँबाट एन्फाले मलाई युथ–१६ को लागि ट्रेनिङ्गमा बोलाएको थियो । युथ–१६ बाट खेलिसकेपछि मात्रै म राष्ट्रिय टीममा पर्न सफल भएको हुँ ।
० सानै उमेरमा राष्ट्रिय फुटबल टीमको हिस्सा बन्न पाउँदा कस्तो अनुभव भयो ?
– पहिलो पटक राष्ट्रिय फुटबल टीमको हिस्सा बन्दा ज्यादै खुशी लाग्यो । सबै खेलाडी आफूभन्दा सिनियर हुनाले अफठ्यारो पनि लाग्यो । टे«निङ्ग गर्दा गाह्रो हुन्छ कि भन्ने सोचेको थिए तर सबै सिनियर खेलाडीहरु र गुरुहरुले माया गर्नु भएकोलेपछि त्यस्तो केहि लागेन । म सन् १९९७ मा राष्ट्रिय टीममा परेपनि त्यो साल गेम भने खेल्न पाइन् ।
० राष्ट्रिय टीममा परेपछि कहिलेदेखि खेल्ने अवसर पाइयो त ?
– सन् १९९८ मा बैङ्ककमा भएको एशियन कप क्वालिफाईका लागि भारतविरुद्धको खेलमा खेल्ने मौका पाए पनि मैले खासै राम्रो प्रदर्शनचाहिँ गर्न सकिन । राष्ट्रिय टीमबाट खेल्दा क्लबहरु भन्दा बढी मिहिनेत गर्नु पर्दो रहेछ भन्ने कुरा थाहा भयो ।
० फुटबल मैदानमा उत्रिदा तपाईलाई खास गरेर कुन पोजिसनमा खेल्न मनपर्छ ? त्यसको कारण के हो नी ?
– मैले सानैदेखि मिडफिल्डरबाट खेलेको हुनाले मलाई त्यहि पोजिशनबाट खेल्न मन पर्छ । अँझ मेरो शारिरीक बनोट पनि त्यस्तै भएकोले मलाई मिडफिल्डबाट मात्र खेल्न सुहाउँछ ।

० अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दाको अनुभव कस्तो रह्यो र अहिलेसम्म कतिवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनु भएको छ ?
– अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा राष्ट्रको मान सम्मान र प्रतिष्ठा दाउमा लाग्ने भएकोले जहिले पनि राम्रो प्रदर्शन र सफलता प्राप्त गर्नुपर्ने भएकोले प्राय सबै खेलाडीहरु दबावमा हुन्छन् । म राष्ट्रिय टीममा परिसकेपछि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएको छु ।
० वर्तमान अवस्थामा वसन्त गौचन यति धेरै चर्चित हुनुको कारण के होला नी ?
– आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) अगाडि सायद मलाई कमै फुटबलप्रेमीहरु चिन्दथे । मैले आठौं साफमा गरेको प्रदर्शनले गर्दा एकाएक म चर्चित हुन पुगेको हुँ । मेरो सफलताको राज नै आठौं साफ हो ।
० आठौं साफमा देखाएको असाधारण प्रतिभाको बारेमा तपाईलाई केहि भन्नु छ, कसरी सम्भव भयो नी ?
– त्यो सबै कडा मिहिनेत र प्रशिक्षणको फल हो । हामीले आठौं साफका लागि ६ महिना कठोर प्रशिक्षण गरेका थियौं । र पनि, भुटानसँगको पहिलो खेलमा मलाई मैदानमा उत्रिदाखेरी अलि डर लागेको थियो। तर पछि उक्त खेलमा राम्रो प्रदर्शन गर्न सफल भएपछि म अब कुनै पनि राष्ट्रको टीमसँग राम्रो खेल्न सक्छु भन्ने कन्फिडेन्स बढ्यो । त्यसपछि मैले अन्य राष्ट्रसँगका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए । मेलै यस्तो उत्कृष्ट प्रदर्शन गर्नुमा गुरुहरुको विशेष हात छ ।
० आठौं साफमा आकर्षक ड्रिबलिङ, सुन्दर पास र सुट हानेर सबैको मन जित्न सफल हुनुभएकोमा के भन्नुहुन्छ ?
– यी सबै कुराहरु हामीलाई प्रशिक्षणको बेला गुरुहरुले सिकाउनु भएको हुन्छ । यी सबै कुरा खेलाडीहरुले जानेका हुन्छन् र गर्न सक्छन् पनि । तर आठौं साफमा उहाँहरु भन्दा मेरो प्रदर्शन राम्रो भएकोले सबैको वाहवाही मैले बटुलेको हुँ ।
० आठौं साफको फाइनलमा नेपालको पराजयपश्चात् गौचनले आफु मात्रै नरोएर सबैलाई रुवाईदिएको थियो, खासमा यस्तो हट्ली फिलिङ के कारणले भएको थियो ?
– सर्वप्रथम त नेपाली फुटबल टोलीलाई जिताउन त्यत्रो दर्शक दशरथ रङ्गशालामा आउनु भएको थियो, त्यसमा पनि कति त दुई छाक खान धौधौ पर्नेहरु महङ्गो टीकट किनेर हेर्न आउनु भएको थियो होला । उहाँहरुले जुन विजयको कामना गरेर आउनु भएको थियो त्यो इच्छा हामीहरुले पुर्याउन नसक्दा र मिहिनेतका साथ राम्रो खेल्दाखेल्दै पनि पराजित हुँदा ज्यादै मन दुखेर रोएको हुँ ।
० आठौं साफको फाइनलमा नेपाल पराजित हुनुमा आपसी तालमेल नमिलेर हो कि, दुर्भाग्यले हो ?
– आठौं साफमा हाम्रो खेल असाध्यै राम्रो थियो, सबैको तालमेल मिलेकै थियो । हामीले बंगलादेशलाई पुरै खेल अवधिभरि पेलेका पनि थियौं । तर हाम्रो दुर्भाग्य नै हो, हामीले फाइनल खेल जित्न सकेनौं । यदि दुर्भाग्य नहुँदो हो त हरि खड्का दाईले हानेको बल पोलमा लागेर फर्किदैन थियो होला ।
० यति सानो उमेरमा आफुले सर्वश्रेष्ठ खेलाडीको सम्मान पाउँदा कस्तो महसुस भइरहेको छ तपाईलाई ?
– मैले फुटबलमा हाम फाल्दादेखि नै राष्ट्रिय खेलाडी बनेर देशको लागि केहि गर्छु नै भन्ने सपना देखेको थिए । आज त्यो सपना मैले सानै उमेरमा पुरा गर्न पाउँदा असाध्यै खुशी छु । आफुले सर्वश्रेष्ठ खेलाडी घोषित भएर सम्मान पाएपछि अँझ मैले यो भन्दा राम्रो खेल्नुपर्ने ममा महसुस भएको छ ।
० वसन्त गौचन ‘सर्वश्रेष्ठ खेलाडी’ भएर रोएको भन्छन् नी, यसमा तपाईको केहि भन्नु छ ?
– म सर्वश्रेष्ठ खेलाडी हुनुमा फुटबल प्रेमी र खेलकुद पदाधिकारीहरुको विशेष हात छ । उहाँहरुले फुटबलको मैदानमा मेरो प्रतिभा देखेर नै मलाई सर्वश्रेष्ठ खेलाडी घोषित गर्नु भएको हो । मैले पनि पछि मेरो गेमहरु हेर्दा म रोएको भन्दा पनि प्रतिभा देखाएर सर्वश्रेष्ठ खेलाडी भएको हुँ भन्ने लागेको छ ।

० पुरस्कारबाट पाएको मोटरसाईकल लाइसेन्सबिना चलाउँदा ट्राफिकले लगेको कुरा कहाँसम्म सत्य हो ?
– मैले मोटर साइकल चलाउन जानेको भए पनि पहिले लाईसेन्स नभएकोले मैले मोटरसाइकल नचलाएको मात्रै हो । ट्राफिकले लगेको कुरा साँचो होइन् ।
० आठौं साफ पश्चात् तपाईको खेलस्तरमा ह्रास आउनु र खेलप्रेमीले सोचेअनुरुप प्रदर्शन गर्न नसक्नुको कारण के हो नी ?
– म यो कुरा स्वीकार्छु । मेरो आठौै साफपश्चात् खेलेका प्रतियोगितामा स्तर खस्किएको छ । कुनैपनि खेलाडीले कहिल्यै पनि नराम्रो खेल्न नचाहने हुँदा मैले पनि राम्रै खेल्ने प्रयास गरिरहेको छु । खास गरेर प्रशिक्षणको समयमा म ‘घाइते’ भएकोले मैले मेरो गेम देखाउन नसकेको मात्रै हो । बाँकि यसमा अरु कुनै कारण छैन् ।
० राष्ट्रियस्तरका खेलहरुमा नेपाली खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्न सफल हुने भएपनि अन्तर्राष्ट्रियस्तरमा यस्तो किसिमको प्रदर्शन गर्न नसक्नुको कारण के होला नी ?
– वर्तमान अवस्थामा अरु देशको तुलनामा नेपालको फुटबल हरेक कुरामा कमजोर छ । अँझ अन्तर्राष्ट्रियस्तरमा हामीले सिकेको कुरा ग्राउण्डमा उतार्न नसक्नु नै हाम्रो लागि दुर्भाग्य भइरहेको छ । र पनि, भविष्यमा अन्तर्राष्ट्रियस्तरमा एन्फा एकेडेमीबाट उत्पादन भएका खेलाडीहरुले निकै सफलता पाउने कुरामा म ढुक्क छु ।
० नेपाली फुटबलको स्तरबृद्धिका लागि विदेशी प्रशिक्षक नै चाहिन्छ कि स्वदेशी भएपनि हुन्छ ?
– प्रशिक्षक भनेको विदेशी वा स्वदेशी जो भएपनि फरक पर्दैन । खालि उहाँहरुले कसरी सिकाउनु हुन्छ त्यसैमा भरपर्ने कुरा हो । तर अहिले नेपालमा प्रशिक्षण दिइराख्नु भएको विदेशी प्रशिक्षक स्टेफनचाहिँ ज्यादै राम्रो हुनुहुन्छ । उहाँले प्रशिक्षण मात्रै नभएर खेलाडीहरुको वाहिरको क्रियाकलाप पनि हेर्नुहुन्छ ।
० तपाईलाई स्टेफनले आफ्नै छोरासरह माया गर्नुको कारण के हो नी ?
– गुरुले सबै खेलाडीहरुलाई उत्तिकै माया गर्नुहुन्छ । र पनि स्टेफनले मलाई धेरै माया गर्नुको कारण मेरो कडा प्रशिक्षण र प्रदर्शनले गर्दा नै हो जस्तो लाग्छ ।
० नेपाली फुटबल टीममा टीम वर्क र असहयोगको भावनाले गर्दा असफल भएको चर्चा गरिन्छ, यसमा के भन्नुहुन्छ ?
– नेपाली फुटबल टीममा टीम वर्क असहयोगको भावना छ भन्ने कुरालाई म मान्य पक्षमा छैन । हो, बाहिरतिर व्यक्तिगतरुपमा नमिले पनि ११ जना मैदानमा उत्रिसकेपछि त्यस्तो हुँदैन । सबै खेलाडीले जित्ने भावनाले खेलेका हुन्छन् ।

० नेपाली फुटबलको विकासका लागि क्लबहरु बढी सक्रिय हुनुपर्छ कि एन्फा ?
– फुटबलको विकासको लागि त क्लबहरु त सक्रिय हुनैपर्छ, अँझ त्यसमा एन्फा सक्रिय भएर लाग्यो भने सुनमा सुगन्ध हुन्छ । वर्तमान अवस्थामा एन्फाले क्लबहरुलाई गरेको सहयोगले गर्दा आज नेपाली फुटबल राम्ररी अगाडि गइरहेको छ ।
० एन्फाले राष्ट्रिय खेलाडीहरुलाई मासिक रुपमा दिदै आएको भत्ता दिएको छ कि छैन ?
– दिएको छ, हामीलाई एन्फाले मासिक दुई हजार रुपैयाँ भत्ता दिदै आएको छ ।
० आठौं साफपश्चात फुटबलको हिरो हुनुको साथै केटीहरुको पनि हिरो बन्न सफल हुनुभएको छ, यसको रहस्य के होला नी ?
– मैले पनि अहिलेसम्म यो रहस्य बुझ्नै सकेको छैन् । आठौंमा मैले गरेको उत्कृष्ट प्रदर्शन पछि एकै दिनमा थुप्रै केटीहरुको फोन आयो । केटीहरुको यसरी फोन आएपछि म अत्तालिए पनि । तर अहिले फोन आउन कम भएको छ, किनकी म अहिले पोखरामा बस्छु । फोनमा धेरै केटीहरुले मलाई विवाह भइसकेको जसरी कुरा गर्थे तर मैले अहिलेसम्म विवाह गरेको छैन ।
० रेष्टुरेन्टमा केटीहरु डुलाउन थालेपछि तपाईको खेल खस्केको भन्छन् नी, के यो साँचो हो ?
– केटीहरुको त कुरै छोडौं, म एक्लै पनि अहिलेसम्म रेष्टुरेन्ट गएको छैन् । जहाँसम्म केटी डुलाएर मेरो खेलस्तर खस्किएको भन्ने आरोप लागेको छ, त्यो सत्य होइन् । मेरो इन्जुरीले हो ।
० तपाईको गर्लफ्रेण्ड छ कि छैन ?
– छ ।
० कहाँको हो नी ?
– काठमाण्डौंको ।
० नाम भन्नुहोस् न त के हो ?
– नाम नभनौं, नाम भन्यो भने उसको बाबाले म कहाँ पुर्याइदिनुहुन्छ । (हाँस्दै )
० भविष्यको योजना के छ त ?
– सबैभन्दा पहिले मैले मेरो गेममा सुधार ल्याउनु छ । त्यसपछि ब्यावसायिक खेलाडी भएर विदेशबाट पनि खेल्ने योजना बनाएको छु ।