दीपराजको गैरकानुनी धन्धा, कुकिवानको डान सर्टिफिकेट बेचेर कमाए लाखौं रुपैयाँ

श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालै दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले भारतीय नागरिकहरुलाई कुकिवनको डान सर्टिफिकेट बिक्रि वितरण गर्दै आएको खुलासा भएको छ । गुरुङ्गले भारतीय नागरिकहरुलाई कुकिवनको सर्टिफिकेट दिलाउन नेपाल तेक्वान्दो संघको नाम बेच्दै गैरकानुनी तरिकाले सिफारिस गरेको सर्टिफिकेटमा प्रस्टरुपमा देखिएको छ । यो सत्यतथ्य बाहिर आएसँगै गुरुङ्गले वर्षौंदेखि तेक्वान्दोमा यस्तो गैरकानुनी धन्धा चलाउँदै आएको रहस्यको पनि पर्दाफास भएको छ ।

कुकिवनको डान सर्टिफिकेट प्राप्त गर्न निश्चित प्रक्रिया पुर्याउनु पर्छ । सर्वप्रथम ‘रेड वेल्ट’ हुनुको साथै उक्त ‘रेड वेल्ट’ लिएको कम्तिमा १ वर्ष पुगेको हुनुपर्छ । त्यसपछि मात्रै उसले ट्रेनिङ्गमा सहभागि हुन पाउँछ । ट्रेनिङ्ग निश्चित दिनसम्मको हुन्छ । ट्रेनिङ्ग सकिएपछि परिक्षा हुन्छ, उक्त परिक्षामा ट्रेनिङ्ग लिनेले त्यसमा पास हुनुपर्छ । परिक्षामा पास हुन विशेषगरि पुम्सेको ज्ञान भएको हुनुपर्छ । पुम्सेमा कम्तिमा पनि १ देखि १० नम्बर ल्याउनु पर्छ । साथै किकिङ्ग र बेसिक पनि राम्रो हुनुपर्छ । यसको साथै डेमोस्ट्रेशन र सेल्फ डिफेन्समा पनि राम्रो हुनुपर्छ । यी सबै प्रक्रियामा पास भएपछि मात्रै डानको लागि कुकिवनमा सिफारिस गरिन्छ । महत्वपूर्ण कुरा नेपालले नेपाली खेलाडीलाई मात्र सिफारिस गर्न पाउँछ, विदेशीलाई पाउँदैन् । तर गुरुङ्गले विदेशी नागरिकको लागि सिफारिस गरेको प्रस्टरुपमा देखिएको छ ।

यो कुराले महासचिव दीपराज गुरुङ्गले नेपाल तेक्वान्दो संघको नामबाट भारतीय नागरिकहरुलाई कुकिवनको सर्टिफिकेट प्रदान गर्न नियम विपरित कार्य गरेको प्रमाणित गर्छ । यसरी गुरुङ्गले एकै वर्षमा भारतीय नागरिकहरुलाई सयौंको संख्यामा कुकिवन सर्टिफिकेट बिक्रि वितरण गर्दै लाखौं रुपैयाँ लुम्ल्याउँदै आएको देखिन्छ । प्राप्त जानकारीका अनुसार एक कुकिवन सर्टिफिकेटको लागि गुरुङ्गले भारतीय नागरिकहरुबाट ५ हजार देखि १५ हजार भारतीय रुपैयाँ लिने गरेको पनि श्रोतले खुलासा गरेको छ । यसरी नेपालले नेपाली खेलाडीहरुलाई मात्र दिन मिल्ने कुकिवनको सर्टिफिकेट गुरुङ्गले विदेशी भारतीय नागरिकलाई बेचेर नेपाल तेक्वान्दो संघलाई व्यापार गर्ने अखडा बनाएको प्रस्ट हुन्छ ।

नियम कानुन सम्मत विदेशी नागरिकलाई कुकिवनमा डानको लागि सिफारिस नै गर्न मिल्दैन । तर गुरुङ्गले नियम कानुनको खिल्लि उडाउँदै हचुवाको भरमा डान सर्टिफिकेटको लागि कुकिवानमा सिफारिस गरेका हुन् । गुरुङ्गले सन् २००६ मा मात्रै विना प्रक्रिया सयौं भारतीय नागरिकहरुलाई डानको लागि सिफारिस गरेको प्रमाण मेरोखेल डटकमलाई प्राप्त भएको छ । जुन कुराले गुरुङ्ग तेक्वान्दोको विकासको लागि नभई व्यक्तिगत विकासमा लागेको कुरालाई प्रमाणित गर्छ । अर्को कुरा गुरुङ्ग चार दशकभन्दा बढीको समयदेखि तेक्वान्दोमा किन टाँसिइरहेका छन् र अँझै किन टाँसिन चाहन्छन् त्यसको समेत पर्दाफास भएको छ ।

गुरुङ्गले सन् २००६ मा भारतीय नागरिक बुद्धदेव दत्त, कमलेस सरकेर, तरुण मजुन्दार, राजकिशोर परिडा, रोहित सधुखन, रुप कमल नन्दी, सुजय राहा, सोहम सधुखन र सुलभ मित्रा समेतलाई विभिन्न डान प्राप्तिका लागि कुकिवनमा सिफारिस गरेका थिए । यसरी कुनै प्रक्रियाबिना आर्थिक चलखेलमा कुकिवनको सर्टिफिकेट पाउने व्यक्तिहरु प्राय सबै भारत कोलकोता निवासी छन् । उनीहरुलाई गुरुङ्गले पहिलो र दोश्रो डानको लागि कुकिवनमा सिफारिस गरेका थिए । जब कि स्वदेशी खेलाडीहरुलाई कुकिवनको डान प्राप्त गर्न विभिन्न प्रक्रिया र चरणहरुको पार गर्नुपर्छ । त्यसमा सफल भएपछि मात्रै सिफारिसको प्रक्रिया अगाडि बढाइन्छ ।

तर ती विदेशी भारतीय नागरिकहरुलाई भने कुनै प्रक्रिया नै नपुर्याई हचुवाको भरमा दीपराजले आफुले हस्ताक्षर गरेर सिफारिस गरेको देखिन आएको छ । यहाँ सोचनिय कुरा के छ भने एउटा देशले अर्को देशको नागरिकलाई सिफारिस गर्र्दा कुकिवनले कसरी डान सर्टिफिकेटको प्रमाणपत्र प्रदान गर्यो ? त्यो अहिले समझभन्दा बाहिरको कुरो बनेको छ । कुकिवनको यस्तो कार्य शैलीले अहिले कुकिवनको विश्वसनियतामा समेत प्रश्नचिन्ह खडा गरिदिएको छ । अन्यथा नियम कानुन विपरित विदेशी नागरिकलाई कुकिवनले कसरी प्रमाणपत्र दिन मिल्छ त ? अहिले यो छानविनको विषय बन्न पुगेको छ । सम्बन्धित निकायले यसको सुक्ष्मरुपमा अध्ययनगरि तेक्वान्दोलाई अवैध व्यापारको धन्धा बनाउने गुरुङ्गलाई कानुनी कठघरामा उभ्याउनु जरुरी भइसकेको छ ।

यसर्थमा कि गुरुङले भारतीय नागरिकहरुलाई कुकिवनमा सिफारिस गर्दा डान प्राप्त गर्ने कुनै किसिमको प्रक्रिया अपनाएको देखिदैन् । उनले सिधै पैसा कुम्ल्याउँदै उनीहरुलाई सर्टिफिकेटको लागि सिफारिस गरेको प्रस्टरुपमा देखिन्छ । यी त उदाहरण मात्रै हुन, यस्ता हजारौं सर्टिफिकेट बेचेको गुरुङ्गमाथि अहिले आरोप लागेको छ । त्यस्तो हरकतलाई अन्जाम दिन अहिले पनि गुरुङ्गले तेक्वान्दो संघकै एक दुई व्यक्तिलाई आफ्नो दाहिने हातको रुपमा प्रयोग गरिरहेको श्रोतको दाबी छ । उनीहरुले नै दार्जिलिङ्गमा भारतीय नागरिकसँग साँठगाँठगरि यस्तो तारतम्य मिलाउँदै आएको पनि बुझिन आएको छ ।

आफुलाई नेपाली तेक्वान्दोको मसिहा ठान्ने दीपराज गुरुङ्गले तेक्वान्दो खेलको आडमा गरेको यो कर्तुतले उनी तेक्वान्दोको विकास भन्दा व्यक्तिगत विकासमा लागेको प्रस्ट हुन्छ । यदि कोहि जिम्मेवार व्यक्ति नियम विपरित चल्छ भने त्यसले कानुनको अपहेलना गरेको मानिन्छ । यहाँ महासचिव गुरुङ्गले तेक्वान्दोमा रहँदा गरेको गैरकानुनी कार्यले तेक्वान्दोलाई मात्र नभई खेलकुदलाई नै कमाई खाने श्रोत र साधनको रुपमा उपयोग गरेको प्रस्टरुपमा देखिएको छ । तसर्थ यस्तो नियम विपरित गैरकानुनी कार्य गर्नेलाई सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले नाकमा रस्सी लगाउदै आवश्यक कारवाहि गर्नु अहिलेको आवश्यकता भईसकेको छ । हेरौं, भरखरै दुवै तेक्वान्दो संघलाई खारेज गरेर वाहवाही बटुलेको राखेपले अब गुरुङ्ग माथि कस्तो किसिमको कारबाहि अगाडि बढाउँछ ?

कुनै पनि राष्ट्रिय संघ संस्थागत रुपमा चल्नु पर्दछ । नियम कानुनले पनि यहि कुरा भन्छ । तर नेपाल तेक्वान्दो संघ वर्षौँदेखि संस्थागत नभई व्यक्तिगतरुपमा चलिरहेको कसैबाट छिपेको छैन् । जसलाई दीपराज गुरुङ्गले आफ्नो सोच अनुसार चलाई रहेका छन् । उनको यहि सोच संस्थामा हावी हुँदा उनी दिनप्रतिदिन तेक्वान्दोमा तानाशाही बन्दै आएका छन् । अन्यथा एउटै संस्थामा चार दशकभन्दा बढीको समयसम्म गुरुङ्गले कदापी राज गर्ने थिएनन् । अहिले गुरुङ्गको तानाशाहीको विरासतलाई जगैबाट उखेल्न राखेपले जुन कदम चालेको छ, त्यसले तेक्वान्दोमा शुद्धिकरण हुने विश्वास गर्न सकिन्छ । यतिबेला न्यायालयले कारण देखाउ आदेश गरेर छलफलको लागि समय दिएको अवस्था छ । आशा गरौं, तेक्वान्दोले दीपराजको कालो छाँयाबाट अवश्य मुक्ति पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :