पेलेः चिया पसलमा काम गरेर हुर्किए; तीनवटा विश्वकप जित्ने एक मात्र खेलाडी

महान फुटबल खेलाडी पेले यो संसारमा रहेनन् । पेलेको शुक्रबार ८२ वर्षको उमेरमा निधन भएको हो । उनलाई ब्ल्याक पर्ल र ब्ल्याक डायमण्डको नामले पनि चिनिन्छ । उनले आफ्नो देशका लागि ३ वटा फिफा विश्वकप जितेका छन् । आज पनि उनी यो मामिलामा शीर्ष स्थानमा छन् । उनको कीर्तिमान अहिलेसम्म विश्वका कुनै पनि फुटबलरले तोडेका छैनन्, चाहे त्यो मेस्सी होस्, रोनाल्डो होस् वा एमबाप्पे ।

तर, २४ वर्षीय एम्बाप्पेले ३४ देखि ३६ वर्षको उमेरसम्म फ्रान्सबाट फुटबल खेले भने पक्कै पनि पेलेकै संख्यामा विश्वकप उपाधि जित्न सक्नेछन् । वर्तमान फुटबलका महान मानिएका मेस्सी र रोनाल्डोसँगै युवा एम्बाप्पेसँग हाल एउटा विश्वकप छ ।

पेले गरिबीमा हुर्केका थिए, उनका बुबा एक सफाई कर्मचारी थिए । पेलेले ब्राजिलको साओ पाउलोको सडकमा फुटबल खेल्न थाले । आर्थिक अभावका कारण उनले चिया पसलमा पनि काम गरे ।

पेलेको जन्मपछि उनको नाम एडिसन राखिएको थियो । उनका परिवारका सदस्यहरूले पनि उनलाई मायाले डिको भन्ने गर्थे । उनलाई बाल्यकालदेखि नै फुटबलप्रति उच्च लगाव थियो । उनका बुबाले ठूलो ब्राजिलियन क्लब फ्लुमिनेन्सका लागि खेलेका थिए । तर, पैसाको अभावमा उनी सफाईकर्मी बन्नुपरेको थियो ।

पेले आफ्नो क्षेत्रमा रहेको स्थानीय क्लब भास्को डी गामाका गोलकिपर बिलेलाई निकै मन पराउँथे । जब उनी स्कुलमा फुटबल खेल्थे, साथीहरूले उनलाई पेले भनेर बोलाउन थाले । त्यसपछि उनको नाम पेले राखिएको थियो ।

पेले आफ्ना साथीहरूसँग आफ्नो गल्लीमा फुटबल खेल्थे । गरिबीमा हुर्केका उनीसँग फुटबल किन्न पैसा थिएन । त्यसैले उनीहरू खुट्टामा खुट्टा भरेर, डोरीले बाँधेर खाली खुट्टा खेल्थे ।

१२–१३ वर्षको उमेरमा, पेले आफ्नो गृहनगर बौरुको स्थानीय क्लब रेडियम फुटबल टोलीबाट खेल्न थाले । उनको शहरमा पहिलो पटक फुटसल अर्थात ५–५ खेलाडीबीच इन्डोर प्रतियोगिता भएको थियो । उनले यस प्रतियोगितामा भाग लिएर च्याम्पियनसिप जितेका थिए । यससँगै एउटा प्रतियोगिताको आयोजक समितिले पनि उनी नाबालिग भएको भन्दै सहभागी हुन दिएनन् । उनले त्यही पनि आयोजक सँग भै झगडा गरेर भएपनि प्रतियोगिता खेले र त्यसमा पनि सबैभन्दा धेरै गोल गरे । यहाँबाट उनको तस्विर फेरियो ।

सान्तोसका छनौटकर्ताहरुले फुटसल खेल्दै गर्दा पेलेलाई देखेका थिए । छनौटकर्ताहरुले पेलेको क्षमतालाई बुझे र आफ्नो क्लबबाट खेल्ने प्रस्ताव गरे । यसपछि १९५६ मा मात्र १५ वर्षको उमेरमा पेले सान्तोसमा आवद्ध भएका थिए । उनले आफ्नो पहिलो खेलमा एक गोल गरे र त्यसपछि शुरुवाती ११ मा रहँदै आए ।

१६ वर्षको उमेरमा, पेले आफ्नो क्लब सान्तोसबाट नियमित रूपमा खेल्न थाले र सोही वर्ष लिगको सर्वाधिक गोलकर्ता समेत बने । १९५७ मा, युभेन्टस, रियाल मड्रिड र म्यानचेस्टर युनाइटेड जस्ता युरोपका ठूला क्लबहरूले उनलाई अनुबन्ध गर्ने प्रयास गरे तर पेले ती क्लबहरूमा सामेल भएनन् ।

लिगमा राम्रो प्रदर्शन गरेका कारण उनलाई क्लबमा आवद्ध भएको १० महिनामै ब्राजिल राष्ट्रिय फुटबल टोलीले बोलाएको थियो । त्यसपछि उनले देशका लागि खेल्न थाले । पेलेले सन् १९५८ को विश्वकप खेलेका थिए र जितेका थिए । फ्रान्सविरुद्धको सेमिफाइनलमा उनले ह्याट्रिक गरेका थिए । जुन आज पनि कीर्तिमान बनेको छ । १७ वर्षको उमेरमा पेलेले आफ्नो देशलाई विश्वकप ट्रफी दिलाएका थिए । विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको सूचीमा उनको नाम अहिले पनि शीर्ष स्थानमा छ ।

उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा तीनवटा विश्वकपको उपाधि दिलाएका थिए । उनले ४ विश्वकप खेलेका छन् । जसमध्ये टोलीले तीन पटक उपाधि जितेको थियो । 

पेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलको शीर्ष क्लब सान्तोसबाट खेलेका थिए । उनले सान्तोसका लागि ६५६ खेलमा ६४३ गोल गरेका थिए । क्लबमा रहँदा २१ वटा ट्रफी पनि उनको नाममा राखिएको थियो । उनको ब्राजिलमा पनि उत्कृष्ट करियर थियो । उनले ९२ खेल खेले र ७८ गोल गरे । उनले सन् १९७१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसपछि पनि पछि उनले क्लब फुटबल खेल्न जारी राखे ।

सान्तोसका लागि खेलेपछि पेलेले आफ्नो अन्तिम केही वर्ष अमेरिकामा बिताए । उनी न्युयोर्कको टिम न्यूयोर्क कोसमोसबाट खेल्थे । अमेरिकामा उनले ६४ खेल खेले र ३७ गोल गरे । यसपछि उनले ३६ वर्षको उमेरमा सन्यास लिएर फुटबललाई अलविदा गरे ।

फुटबलमा भ्रष्टाचार अन्त्य होस् भनेर सन् १९९५ मा ब्राजिलका राष्ट्रपतिले पेलेलाई खेलकुदमन्त्री बनाएका थिए । यसपछि पेलेले क्लबहरुलाई अनुशासित बनाउन कडा कानुन पनि बनाए । जसअन्तर्गत सबै ब्यवसायिक फुटबल क्लबले २ वर्षभित्र सरकारलाई कर बुझाउनुपर्ने थियो ।

पेलेका विवादहरू
पेलेको नाममा पनि विवाद छ । सन् २००१ मा, पेलेलाई युनिसेफबाट ७ लाख डलर चोरी भएको भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप लगाइएको थियो। खेल रद्द भए पनि पेलेले नाफा आफ्नो कम्पनीलाई दिए र फिर्ता नगरेको दाबी गरिएको थियो । तर, यस मुद्दामा उनीमाथि लागेको एउटा पनि आरोप प्रमाणित हुन सकेको छैन । युनिसेफले पनि पछि आफ्नो दाबी फिर्ता लियो।

पेलेले कहिल्यै बालोन डी’ओर जितेनन्
बालोन डी’ओरलाई विश्व फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड मानिन्छ। यो वर्षको उत्कृष्ट फुटबल खेलाडीलाई दिइन्छ । पेलेको उपलब्धिको बावजुद, उनले कहिल्यै बालोन डी’ओर प्राप्त गरेनन् । यसको कारण के हो भने सन् १९९१ अघि यो अवार्ड युरोपका खेलाडीलाई मात्र दिइन्थ्यो । त्यसैले ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनाले यो अवार्ड कहिल्यै पाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :