विभिन्न श्रोतबाट आएको २५ करोड कहाँ गयो त प्रकाश राणा जी?

श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खारेज गरेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवन विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रोत जुटाएर २५ करोडमा निर्माण गरेको दावी गर्दै उच्च अदालत पाटनमा विवरण पेश गरेको बुझिन आएको छ ।

खारेजमा परेका अध्यक्ष राणाले झूठो विवरण पेश गर्दै न्यायालयलाई गुमराहमा राख्ने कार्य गरेको भन्दै हालै राखेपमा दर्ता भएको र नेपाली तेक्वान्दो खेलको विकास र विस्तारको जिम्मेवारी पाएको नेपाल तेक्वान्दो महासंघले यसको सुक्ष्मरुपमा खोजीनीति गर्ने बताएको छ ।

महासंघका अध्यक्ष प्रदीप जोशी (टेकराज)ले सातदोबाटोस्थित तेक्वान्दो हल एवम् कार्यलय सञ्चालन भएको जग्गा राखेपको हकभोग र स्वामित्वमा रहेको जग्गा भएको बताउँदै उक्त भवनको निर्माण नेपाल सरकारले गरेको जानकारी गराएका छन् ।

साथै अध्यक्ष जोशीले सातदोबाटोस्थित तेक्वान्दो भवन नेपाल सरकारले विनियोजित गरेको बजेट १३ करोडमा बोलपत्रको माध्यमबाट निर्र्माण भएको समेत जानकारी गराएका छन् । नेपाल सरकारले निर्माण गरेको भवनलाई अध्यक्ष राणाले विभिन्न श्रोत जुटाएर निर्माण गरिएको विवरण आफैमा शंकास्पद भएको समेत जोशीको जिकिर छ ।

यस्तै अध्यक्ष जोशीले विदेशबाट अनुदान र तेक्वान्दो खेलको विकासको लागि आएको कुनैपनि किसिमको आर्थिक लगायत अन्य सहयोग हालसम्म तेक्वान्दो संघले सार्वजनिक नगरेका कारण त्यसको पनि छानविन र खोजी हुने बताए । त्यस्तै विदेशबाट सहयोग स्वरुप प्राप्त खेलकुद सामग्री र आर्थिक सहयोग पुन तेक्वान्दो खेलको विकास र खेलाडीहरुको हितमा प्रयोग गर्नका लागि महासंघले पहलकदमी गर्ने समेत अध्यक्ष जोशीले बताए ।

तेक्वान्दो भवनको निर्माणमा नेपाल सरकारले १३ करोड खर्च गरेको र त्यसपछि नेपाल तेक्वान्दो संघलाई हस्तान्तरण गरेको जगजाहेर हुँदाहुँदै पनि अध्यक्ष राणाले कुन आधारले विभिन्न श्रोतबाट २५ करोडमा तेक्वान्दो भवनको निर्माण भएको दाबी गर्दै उच्च अदालतमा विवरण पेश गरे ? त्यो अहिले गम्भिर चासोको विषय बनेको छ ।

अध्यक्ष राणाको यस्तो दाबीले सरकारका सामू समेत ठूलो चुनौंति खडा गरिदिएको छ, आखिर तेक्वान्दो भवनको निर्माण नेपाल सरकारले गरेको हो कि अन्य श्रोतबाट ? यदि अध्यक्ष राणाको दाबी सहि सावित भएमा नेपाल सरकारको १३ करोड रुपैयाँ कहाँ गयो त ? प्रश्न उठ्नु स्वभाविकै बन्ने छ । अन्यथा २५ करोडमा विभिन्न श्रोत जुटाएर तेक्वान्दो भवनको निर्माण गरेको दाबी पेश गर्ने राणाले २५ करोडको दुरुस्त हिसाब किताब सम्बन्धित निकायलाई बुझाउनु पर्नेछ ।

त्यसैले अहिले प्रश्न उठेको छ, कहाँ गयो त २५ करोड ? यसको जवाफ मात्र नभई सम्पूर्ण हिसाब किताब राणाले दिनु पर्नेछ । नेपाल सरकारले तेक्वान्दो भवनको निर्माण प्रक्रियागतरुपमा १३ करोडमा गरेको घामजस्तै छर्लङ्ग छ । यस्तो सत्यतथ्यको ज्ञात हुँदाहुँदै पनि राणाले २५ करोडमा अन्य श्रोतबाट तेक्वान्दो हलको निर्माण भएको दाबी प्रस्तुत गर्दै आफ्नो खुट्टामा किन आफै बन्चरो हान्न पुगे त्यो समज भन्दा बाहिरको कुरो बन्न पुगेको छ ।

राणाले तेक्वान्दो भवन निर्माणका लागि २५ करोड रुपैयाँ विभिन्न श्रोतबाट आएको दाबी गर्दा अहिलेसम्म उक्त रकमको बारेमा संघका हर्ताकर्ता महासचिव दीपराज गुरुङ्गले कुनै खुलासा गरेका छैनन् । कुरा प्रस्ट छ, उक्त २५ करोड रुपैयाँको एक रुपैयाँ पनि तेक्वान्दो भवनको निर्माणमा प्रयोग गरिएको छैन । यसरी प्रयोग नगरिएको २५ करोड कहाँ गयो त ? अब याको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवश्य गर्नेछ ।

अर्को कुरा आफुले नगरेको कुरालाई गरेको भन्दै अदालतलाई गुमराहमा राखेकोमा अध्यक्ष राणाले कानुनी कठघरामा उभिनु पर्ने प्राय निचित छ । यसर्थमा कि राखेपका तर्फबाट पनि झूठो विवतरण दिएका कारण अध्यक्ष राणालाई कारवाहि गर्न र तेक्वान्दो भवनको निर्माणको क्रममा अन्य श्रोतबाट जुटाइएको रकमको सोधभर्नाको लागि अदालतमा रिट निवदेन नपर्ला भन्न सकिदैन् । प्राप्त जानकारीका अनुसार यसको लागि राखेपले महासंघ मार्फत तयारी गरिरहेको पनि बुझिएको छ।

यसरी अहिले आफुले खनेको खाल्डोमा राणा आफै पुरिने प्रबल सम्भावना बढेर गएको छ । भोलि पुष २० गते उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यहाँ जस्तोसुकै निर्णय भएपनि राणाको गाडी भने गोलखाडी पुग्ने कुरालाई नकार्न मिल्दैन् । किनकी उनले आफैले २५ करोडको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :