तेक्वान्दोको प्रत्यक्ष र अप्रत्यक्ष फाइदा उठाउँदै दीपराज तानाशाह बनेको तुलाधरको दाबी

लक्ष्मी शाक्य

काठमाडौं । नेपाल तेक्वान्दो महासंघका महासचिव इन्द्रमान तुलाधारले तेक्वान्दो विवादमा समस्याको जड नै नेपाल तेक्वान्दो संघको विधान भएको खुलासा गरेका छन् ।

महासचिव तुलाधारले नेपाल तेक्वान्दो संघको विधान नै यस्तो बनाइएको छ त्यसमा इच्छाएको व्यक्ति वाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

नेपाल तेक्वान्दो संघको विधान प्रजातान्त्रिक नभएको र यहाँ केहि व्यक्ति विशेषले आफ्नो स्वार्थसिद्ध गर्नको लागि यस्तो विधान बनाएको तुलाधारले आरोप लगाएका छन् ।

नेपाल तेक्वान्दो संघको विधान त्यस्तो हुनुपर्छ, जहाँ सम्पूर्ण तेक्वान्दोकर्मी अट्न सक्नुपर्छ । तर संघको विधान यति निरङ्कुस छ कि त्यो आफै कहालीलाग्दोे र लाजमर्दो छ, तुलाधर भने ।

त्यहाँ तेक्वान्दोकर्मीलाई नभई राजनीतिक पहुँच भएको र पैसावाला व्यक्तिलाई मात्र प्रवेश गराइन्छ । अन्य बाँकि रहेकोमा चाकरी र चाप्लुसी गर्नेलाई विशेष प्राथमिकतामा राखेर आफ्नो दुनो सोझ्याउने कार्य भइरहेको छ । यो तेक्वान्दो खेलको लागि साँच्चिकै दुर्भाग्यको कुरा हो तुलाधारको निस्कर्ष थियो ।

महासचिव तुलाधरले भने, अन्यथा ४० वर्षसम्म पनि एउटै व्यक्ति दीपराज गुरुङ्गले कदापी तेक्वान्दो संघमा राज गर्ने थिएन । यो सबै तेक्वान्दो संघको विधानको समस्या र कमजोरी हो । जसको प्रत्यक्ष र अप्रत्यक्ष दुवै फाइदा गुरुङ्गले उठाइरहेको र तानाशाह बनेको तुलाधरले दाबी गरे ।

तेक्वान्दो खेल कसैको विर्ता होइन, कसैले मेरो हो भन्छ भने त्यो भ्रम र दिवास्वप्न मात्रै हो । त्यसैले देशकाल परिस्थिति अनुसार तेक्वान्दो खेल एउटै हुनु जरुरी छ । त्यो हुनु पनि पर्छ । तेक्वान्दो खेलाडीहरुमा छाएको अन्योलता हटाउन पनि महासंघ गठन भएको हो तुलाधरले भने ।

यसकारण अब नेपाल तेक्वान्दो संघका पदाधिकारीहरुले रोदन गर्नुको साँटो निर्वाचनमा उत्रिनु पर्छ । निर्वाचनमा उत्रिन डराउनु हुँदैन्, संघको लागि चुनौति र अवसर दुवै छ, त्यसैले पछि हट्नु हुँदैन ।

तेक्वान्दो संघको विवादको निकास यसरी निस्किदैन । चाहे त्यो विवाद समाधानको लागि न्यायालयमै पुगेको किन नहोस् । न्यायालयको जस्तो सुकै आदेश भएपनि त्यसपछिको परिदृष्यमा पनि समाधान देखिदैन । तसर्थ तेक्वान्दो एउटै हुनका लागि छाती चौडा बनाउन तुुलाधरको आग्रह छ ।

तेक्वान्दो संघका पदाधिकारीप्रति आक्रोश पोख्दै तुलाधरले भने, खै यो कस्तो संघ हो, जसले खेलाडीहरुको हितमा भन्दा अहितमा कार्य गरिरहेको छ । वर्षभरि एउटा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सकेको छैन । तर धाक धक्कुको कुरा गर्ने हो भने आफ्नो संघलाई सर्वश्रेष्ठ संघ भन्न पछि परेको छैन ।

यो कुराको प्रमाणिकरण गर्न नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पछि तेक्वान्दो संघले कति पटक राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गरायो त्यसले पनि पुष्टि गर्छ, तुलाधरले भने ।

सत्य तीतो हुन्छ, तर सत्य, सत्य नै हुन्छ । सत्य कुरा गर्ने हो भने प्रकाशशम्सेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघको पहलबाट अहिलेसम्म तेक्वान्दो खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरका कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाएका छैनन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा खुद खेलाडीहरुले व्यक्तिगतरुपमा खर्च गर्नु परेको छ । यो भन्दा विडम्बना के हुनसक्छ ? तुलाधरले भने ।

राष्ट्रिय प्रतियोगिताको आयोजना पनि नगर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाउन पनि नलैजाने, विवाद समाधानका लागि सरकारले बोलाउँदा पनि नजाने, राखेपले निर्वाचन नगर्न नगराउँन लिखित निर्देशन दिदा पनि नमान्ने, आफु शुखी अन्तर्राष्ट्रिय धाक धक्कु देखाउँदै जवरजस्ती निर्वाचन गर्ने, आफुलाई स्वायक्त संघ भन्ने तर तेक्वान्दोको सम्पूर्ण गतिविधि संचालन गर्न राखेपको मुख ताक्र्ने, राखेपले यस्तो संघलाई खारेज गर्दा उल्टै राखेपलाई यस्तो अधिकार नै छैन भनेर न्यायालय पुग्ने यो कस्तो संघ हो? आफुले बुझ्न नसकेकोमा तुलाधरले आश्चर्यता प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :