आखिर किन रोइन् आयशा ?

लक्ष्मी शाक्य

नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता खारेज गरेपछि तेक्वान्दो संघका केहि पदाधिकारी र खेलाडीहरु राखेपकोविरुद्धमा आन्दोलनमा उत्रिएका थिए ।

ति पदाधिकारी र खेलाडीहरुले सातदोबाटोस्थित तेक्वान्दो कार्यालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालासम्म नारा जुलुस गर्दै राखेपलाई आफ्नो निर्णय सच्याउन राखेप परिसरमा धर्ना दिएका थिए ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले उक्त विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि पदाधिकारी र खेलाडीहरुलाई ह्वीप नै जारी गरेका थिए ।

गुरुङ्गको यहि ह्वीपको सन्त्रासका कारण कतिपय पदाधिकारी र खेलाडीहरुले वाध्यताबस उक्त विरोध र्यालीमा सहभागिता जनाउँदै आफ्नो माउ संस्था राखेपको निर्णयको विरोधमा नारा जुलुस समेत गर्न पुगेका थिए ।

उक्त विरोध जुलुसमा औंलामा गन्न सकिने राष्ट्रिय तेक्वान्दो खेलाडीहरुले मात्रै सहभागिता जनाएका थिए । तेक्वान्दोमा बढ्दै गएको गुरुङ्गको तानाशाहीको विवाद चरम उत्सर्गमा पुग्नुअघि नै एक दर्जनभन्दा बढी राष्ट्रिय तेक्वान्दो खेलाडीहरु विदेश पलायन भइसकेका थिए ।

बचेखुचेका अन्य तेक्वान्दो राष्ट्रिय खेलाडीहरु विभागिय टीममा जागिरे भएकाले विरोध जुलुसमा उपस्थित भएनन् । यसरी विरोध जुलुसमा राष्ट्रिय तेक्वान्दो खेलाडीहरुको उपस्थिति पातलो देखिएपछि भोलिपल्ट तानाशाह दीपराजले राष्ट्रिय तेक्वान्दो खेलाडीहरुलाई सातदोबाटोस्थित कार्यालयमा बोलाएर खेलाडीहरुको झाँको झार्ने गैरजिम्मेवारी र गैरकानुनी कार्य गरेका थिए ।

ति राष्ट्रिय खेलाडीहरुमध्य एक थिइन, चर्चित तेक्वान्दो खेलाडी आयशा शाक्य । आयशालाई गुरुङ्गले बिहान ११ बजे सातदोबाटोस्थित तेक्वान्दो कार्यालयमा उपस्थित हुन निर्देशन दिए । आफ्नो गुरुको निर्देशनलाई शिरोधार्य गरेर ठिक समयमा आयशा त्यहाँ पुगिन् ।

आयशा पुग्ने वित्तिकै उपस्थित खेलाडी र पदाधिकारीका अगाडि आयसालाई गुरुङ्गले हपार्न थाले । आयशालाई गुरुङ्गको पहिलो प्रश्न थियो, हिजो विरोध जुलुसमा किन नगएको ? आयशाले आफ्नो छोरा विरामी भएर हस्पिटल राख्नु परेकोले आउन सकेको भनेर जवाफ दिएकि थिइन् ।

त्यसपछि गुरुङ्गले ‘तँ’ लाई मैले राष्ट्रिय खेलाडी बनाएको हो, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक मैले दिलाएको हो, भन्दै एउटा राष्ट्रिय खेलाडीको मान मर्दन गर्दै हतोत्साहित गर्ने कार्य गरेका थिए । गुरुङ्गले आयशालाई आधा घण्टाभन्दा बढी समयसम्म हपारेका थिए ।

अनायासमा आफुलाई गुरुङ्गले यसरी हतोत्साहित गर्ने कार्य गरेपछि आयशाले आफ्नो आँशु थाम्न सकिनन् त्यहीँ रुन पुगिन् । रुदै उनले आफ्नो बच्चा विरामी भएको र आफ्नो मास्टर्सको परिक्षा भएको जानकारी गराउँदा पनि गुरुङ्गको मन पलायन । र पनि, गुरुङ्ग विरोध जुलुसमा आयशा नआएकोमा आफ्नो भडास निरन्तर रुपमा निकाल्दै गए ।

सम्पूर्ण पदाधिकारी र खेलाडीहरुको विचमा तानाशाह गुरुङ्गले यसरी निर्मम तरिकाले हपारेपछि त्यहाँ उपस्थित अन्य कोहिले ‘चु’ समेत गरेनन् । यसरी सबैको सामु विना कारण गुरुङ्गले आफ्नो हुर्मत लिदै वेइज्जत गरेपछि आयशा रुदैरुदै घर फर्किएकि थिइन् । घर फर्फिएपछि पनि उनी रुएर नै घण्टौ विताएकि थिइन् ।

यसरी तेक्वान्दो खेलमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तीनवटा स्वर्ण, एशियाली खेलकुद प्रतियोगितामा काँश्य पदक जितेर राष्ट्रको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याएकि खेलाडी आयशामाथि गुरुङ्गले यस्तो व्यवहार गर्नुले नेपालमा खेलाडीहरुको स्थान कस्तो छ सोझै अड्कल काट्न सकिन्छ ।

अँझ आयशा जस्तो सफल खेलाडीमाथि त यस्तो दुव्र्यहार र हतोत्साहित हुने कार्य गरिन्छ भने सामान्य तेक्वान्दो खेलाडीहरुको हालत कस्तो होला त्यो अहिले कल्पनाभन्दा बाहिरको कुरो बन्न पुगेको छ ।

तेक्वान्दो संघको विवादमा खेलाडीरुको कुनै सरोकार हुँदैन । यसर्थमा कि खेलाडीहरुले त प्रशिक्षण गर्ने र खेल्ने मात्रै हो । उनीहरुलाई संघले यस्तो विवादमा तान्नै मिल्दैन । तर तेक्वान्दो संघले आफ्नो स्वार्थ पुरा गर्न खेलाडीलाई विवादमा होमेको प्रस्टरुपमा देखिएको छ । यसले खेलाडी राष्ट्रका हुन कि, संघ का ? यसमा समेत विवाद उत्पन्न गरिदिएको छ ।

साँचो अर्थमा भन्नुपर्दा,
खेलुकद कस्को हो ? राष्ट्रको ।
खेलकुदमा कस्ले लगानी गरेको छ ? राष्ट्रले ।
खेलाडी कस्ले उत्पादन गर्छ ? राष्ट्रले ।
खेलाडी कस्का हुन ? राष्ट्रका ।
खेलकुद कसले चलाउनु पर्छ ? राष्ट्रले ।
दुर्भाग्य, खेलकुद व्यक्ति विशेषले चलाइरहेका छन् ।
खेलाडी राष्ट्रका नभई व्यक्ति विशेषका बन्न पुगेका छन् ।

यसैको परिणाम हो आयशा जस्तो राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गर्दै राष्ट्रको झण्डा उँचो पार्न सफल खेलाडीले समेत आज यस्तो दिन देख्नु परेको छ । जुन खेलकुदको लागि विडम्वनाको विषय हो भन्दा अतिसयोक्ति नहोला । तसर्थ गुरुङ्ग जस्ता तानाशाहलाई सम्बन्धित निकाय राखेपले लगाम कसेर उनको औकात देखाईदिन अहिले जरुरी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :