यो एकदमै निराधार कुरा हो, सबै स्पोर्टस् माफियाहरुले लगाएको आरोप मात्रै हो – मोहनकुमार राई

खेलाडी जीवनको पौरख र पार्टीगत राजनीतिको आशिर्वादले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य बन्न पुगेका मोहन राई अहिले १३ औं एशियाली खेलकुद प्रतियोगिताको तयारी समितिको संयोजक समेत बन्न पुगेका छन् । विभिन्न प्रतिकुलताका बावजुद पनि १३ औं एशियाडमा १७ खेलको तयारीमा जुटेका राई तयारीको समय अपेक्षाकृत ढिलो भएको बताउँछन् । यस्तो विषम परिस्थितिमा पनि विगतको एशियाडभन्दा यो पटक राम्रो नतिजा आउने कुरामा राई ढुक्क देखिन्छन् । उनै संयोजक राईसँग १३ औं एशियाडको तयारी र नेपाली खेलाडीहरुले एबियाडमा कस्तो प्रदर्शन गर्लान्? यसैको सेरोफेरोमा रहेर २०५५ साल असोज २० गते अर्थात् आजभन्दा २४ वर्ष अगाडि मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी :–

० आगामी १३ औं एशियाली खेलकुद तयारी समितिको संयोजक बनिसकेपछि तपाईले आफ्नो कार्र्यलाई कसरी अगाडि बढाई रहनु भएको छ, यो बारेमा केहि स्पष्ट पारिदिनु हुन्छ कि ?
– वास्तवमा १३ औं एशियाली खेलकुदको तयारी समितिको योजनाचाहिँ अलिक अगाडि गर्नु पर्दथ्यो । हाम्रा केहि सदस्य मित्रहरु र अन्य साथीहरुले पहिले योजनाहरु पनि बनाउनु भएको रहेछ, छलफल धेरै चलेको रहेछ । अन्तिम समय गुज्रिसकेको र युवा तथा संस्कृति एवम् राखेपको अध्यक्ष घोषणा गर्ने र १३ औं एशियाडमा सहभागि सम्पूर्ण खेलहरुको तयारीको कार्य गर्ने समय आइसकेको थियो । त्यसको लागि गृहकार्य भएपनि डिटेलमा सबै काम आईराखेको थिएन । त्यसको लागि वोर्डमा छलफल हुँदा थोरै समय रहेकोले म लगायत तीनजना साथीहरुले यसको जिम्मेवारी पाएका थियौं । त्यसपछि हामीले युद्धस्तरमा धेरै कामहरु गर्यो । नेपाली खेलकुदको जटिल परिस्थितिलाई मध्यनजरमा राख्दै एशियाड र साफको तयारीमा योजनाबद्ध रुपमा जुटिरहेका छौं । सहभागि खेलमध्य दुई चारवटाको तयारी अन्तिम चरणचमा समेत पुगिसकेको छ ।

० यतिबेला एशियाडको लागि सम्भावित १७ खेलहरुलाई सहभागिको रुपमा तयारी गरिरहनु भएको छ, बैङ्कक जाँदा १७ खेलकै सहभागिता हुन्छ कि, यसमा थपघट हुन्छ ?
– यी सवै खेल जानै पर्छ भन्ने ठोकुवा गर्न मिल्दैन् । हामी बजेटलाई आधार मानेर तयारी गर्दैछौं । यो पटक एसियाडमा सहभागि हुन प्राय सवै खेलले चेकबार पार गर्नुपर्ने छनौट समितिको मान्यता छ । र पनि, हामीले अहिले १७ वटा खेलका टीमहरुलाई प्रशिक्षण गराइ रहेका छौं, त्यसमा लाग्ने खर्चपनि व्यहोरी राखेका छौं ।

० यदि १७ वटा टीम नजाने हो भने सवैलाई पूर्ण प्रशिक्षण दिनुपर्ने जरुरी देखिदैन्, यसमा तपाई के भन्नुहुन्छ ?
– हामीले १७ वटा खेलको टीम निकै छाँटकाँट गरेर ल्याएका हौं । अव त्यसको लागि कुन टीम जाने हो, कुन नजाने हो, त्यसको लागि छिट्टै निर्णय गर्नुपर्छ । साथै नजाने टीमको बन्द प्रशिक्षण बन्द गर्ने हो कि, के गर्ने हो त्यसको वारेमा पनि हामी सोचिरहेका छौं । किनकी १३ औं एसियाडमा हाम्रो सहभागिताको मूल उद्देश्य भनेको आठौं साफको पूर्व तयारी हो । त्यसैले एसियाडमा नेपालको सहभागितालाई परिणाममुखि बनाउन सम्भावित पदक जित्ने खेलहरुलाई मात्र बैङ्कक पठाइने छ ।

० आठौं साफका लागि पनि १२ वटा खेलहरुको छनौट भइसक्या छ, ति खेलहरुलाई मध्यनजर राखेर प्रशिक्षण गराएको भए राम्रो हुन्थ्यो कि?
– मैले अघि नै भनिसके हाम्रो प्रमुख उद्देश्य भनेको आठौं साफ हो । दोश्रो उद्देश्य भनेको देशको प्रतिष्ठा अभिवृद्धि गर्नु हो । त्यसैले एसियाडमा विगतको प्रदर्शनलाई हेर्दै त्यस्ता खेलहरुलाई मात्रै सहभागिता गराउने हो जस्ले पदक जित्न सक्छन ।

० अहिले कति जिल्लामा प्रशिक्षण गराइ रहनु भएको छ ?
– हामीले अहिले पाँच वटै क्षेत्रमा प्रशिक्षण गराईरहेका छौं । जुन क्षेत्रको भौतिक पूर्वाधारहरु अरुभन्दा व्यवस्थित र सम्भाव्यता छ, त्यस्तो ठाउँमा संघका प्रशिक्षकहरुको सल्लाह वमोजिम प्रशिक्षण केन्द्र तोकेका छौं ।

० तपाईले खेलाडी छनौट गर्दा मुख्यगरि के लाई आधार बनाउनु भएको छ, १७ वटा खेलमध्य कतिको छनौट भइसक्यो र कतिको हुन बाँकि छ ?
– पहिलो छनौट सवै खेलको भइसक्यो । एसियाडजस्तो खेलमा खेलाडीको छनौट गर्दा राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर गर्नुपर्ने हो तर समयको पावन्दीका कारण त्यस्तो हुन सकेन् । त्यसकारण समय एकदमै कम भएकोले संघका पदाधिकारी र प्रशिक्षकहरुसंग सल्लाह गरेर विगतको राष्ट्रिय खेलमा गरेको प्रदर्शनलाई आधार मानेर छनौट गरेका हौं । यसरी छनौट गर्दा उत्कृष्ट खेलाडीलाई बढी प्राथमिकतामा राखेर गरेका हौं ।

० यति ठूलो जिम्मेवारी पाएर पनि तपाईले प्रतियोगिता अनुकुल तयारी गर्न नसकेको आरोप छ, आफ्ना मान्छेलाई मात्र सुविधा दिएको भन्ने सुनिनमा आएको छ, आखिर सत्यता के हो नी ?
– पहिलो कुुरा, जुन किसिमले सञ्चालन हुनुपर्ने हो त्यो भएन भन्ने वाहिरि चर्चा छ नी, त्यो मात्र प्रतिक्रिया हो । साथै काम गरेपछि सकारात्मक नकारात्मक प्रतिक्रिया आउँछ त्यसलाई स्वभाविक रुपमा पनि लिनुपर्छ । दोश्रो कुरा मेरो मान्छेलाई मात्र प्रयोगमा ल्याएर सुविधा दिएको भन्ने कुरा छ त्यो एकदमै निराधार कुरा हो । त्यस्तौ हुँदै होइन् । यो सवै स्पोर्टस् माफियाहरुको आरोप हो । त्यस्ता तत्वहरु खेलकुदमा नभएका होइनन् तर यसमा कुनै आधार छैन् ।

० तपाईले खेलाडी छनौटमा हस्तक्षेप गर्नु भएको आरोप लागेको छ नी, के यो सत्य हो ?
– मैले खेलाडीहरुको छनौटमा अहिलेसम्म कुनै किसिमको हस्तक्षेप गरेको छैन् । त्यस्तो आरोप लगाउने सप्रमाण आउनु प¥यो । कसैले भन्नुप¥यो यहाँ हस्तक्षेप भएको छ भनेर । मैले टीम हेरिरहेको छु तर यसो गर्नु उसो गर्नु भनेको छैन् । मैले हस्तक्षेप गरे नगरेको कुरा समयले देखाउने कुरा हो । साँचो कुरा के हो भने मलाई राखेपले पूर्णरुपमा गरेको सहयोगका कारढा मैले यो कार्यक्रम यहाँसम्म पु¥याउन सफल भएको हुँ ।

० तपाई खेलकुदमन्त्रीको नजिक मान्छे भएकोले हस्तक्षेप र दुरुपयोग गरेको भन्छन नी ?
– यो एकदमै निराधार कुरा हो । खेलकुदमन्त्री हाम्रो पार्टीको पनि युवा नेता हुनुहुन्छ । म यो पार्टीको सामान्य कार्यकर्ता मात्रै हुँ । उहाँ र मेरो विचको सम्वन्ध यति मात्रै हो । अर्को कुरा म राखेपमा कार्यरत छु, त्यसैले मैले उहाँलाई इमान्दारी पूर्वक सहयोग गर्नु मेरो कर्तव्य हो । तर म जवसम्म खेलकुदमा रहन्छु कसैको नजिक र टाढाको मान्छे भएर बस्दिन । जिम्मेवारी निकायले दिएको र जिम्मेवारी इमान्दारीपूर्वक निभाउनु मैले मेरो नैतिक जिम्मेवारी र कर्तव्य ठानेको छु । अर्कोे कुरा मैले अहिलेसम्म कुनै किसिमको दुरुपयोग गरेको छैन् । यदि कसैले प्रमाण देखाइ दिए म सजाय भोग्न तयार छु ।

० तपाईले धरानमा करातेको छनौटको क्रममा पूर्वाग्रहि कार्य गरेको भन्ने चर्चा छ नी, यसको वास्तविकता के हो ?
– यसमा कुनै सत्यता छैन् । एसियन गेममा समावेस हुने कराते भनेको सम्पूर्ण डब्लु के एफ कराते अन्तर्गतका करातेहरु हुन । नेपालको एउटा मात्रै स्टाइलको कराते समावेस हुने भनेको होइन् । राखेप र तयारी समितिले यसै अुनसार सवै करातेवाट खेलाडी छनौट गरेर तिनीहरुलाई क्याम्पमा राखेर सहभागि गराउने भन्ने निर्णय गरेको हो । डब्लु के एफ अन्तर्गतका करातेहरुको खुल्ला छनौटवाट आएका खेलाडीहरुलाई क्याम्पमा राखिएको छ । धरानमा पनि यसै अुनसार काम गरिएको हो । म १३औं एसियाली खेलकुदको संयोजक भएकोले अन्य करातेलाई समेट्नु मेरो जिम्मेवारी र कर्तव्य हो ।

० अहिलेको बन्द प्रशिक्षणपछि कहिले अन्तिम चरणको छनौट हुन्छ, त्यतिबेलासम्म ढिला हुँदैन त ?
– राखेपको वोर्डको निर्णय अनुसार सम्भावित १७ खेलको प्रशिक्षण भइरहेको छ । यसलाई तदारुकताका साथ सञ्चालन गर्ने काम तयारी समितिको हो । १३औं एसियाडको अन्तिम छनौट राखेपको वोर्डले गर्ने हो । त्यसको लागि समितिले चाँडै सिफारिस गर्ने र वोर्डले निर्णय गर्ने कुरामा विश्वस्त छु । बन्द प्रशिक्षण शुरु भइसकेकोले एउटा अनुगमन समिति गठन गर्दैछौं । यहि समितिको निर्णय अनुसार खेलको स्तरको मापदण्ड गरिने र अन्तिम टुङ्गो लगाइने छ ।

० तपाई राखेपमा आएपछि अहिलेसम्मको कार्यकालमा जति पनि कार्य गर्नु भयो यसवाट सन्तुष्ट हुनुहुन्छ ?
– म आफु पूर्णरुपमा सन्तुष्ट छैन् । म राखेप आएदेखि नै अनेकौं प्रतिकुलताका बावजुद आफ्नो काम इमान्दारी पूर्वक गर्दै आएको छु । मैले राखेपमा सहयोग लिने र दिने वा काम गर्ने बातावरण रहुञ्जेल खेलकुदको विकासमा लागि सधैं लगनशिलतापूर्वक काम गर्दै आएको छु । मैले आफ्नो कार्यकाललाई नमुनाको रुपमा प्रस्तुत गर्ने प्रयासलाई जारी राखेको छु । त्यसको समिक्षा भविष्यमा अवश्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :