भलिबलको कभर्डहल निर्माण गर्ने फगत गफ मात्रै हो त?

लक्ष्मी शाक्य

लामो समयको कसरतपछि भलिबल खेलले ‘राष्ट्रिय’ खेलको मान्यता पाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहकाबिच २०७४ साल जेठ ८ गते भलिबल खेल ‘राष्ट्रिय खेल’ भएको घोषणा गरेकि थिइन् । राष्ट्रपति भण्डारीको यस्तो घोषणासँगै नेपालको ‘राष्ट्रिय खेल’ को छिनोफानो समेत भएको थियो । यसअघि नेपालको राष्ट्रिय खेलको के हो ? त्यसको टुङ्गो लाग्न सकेको थिएनन ।

भलिबल खेललाई राष्ट्रिय खेलको घोषणा गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई नेपाली माटो सुहाउँदो खेल भन्दै राष्ट्रिय खेल घोषणा गरेको थियो। तत्कालिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रिपरिषदबाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो । भलिबल खेलले राष्ट्रिय खेलको मान्यता पाउँदा राखेपको सदस्यसचिवमा केशवकुमार विष्ट र संघको अध्यक्षमा मनोरञ्जनरमण शर्मा थिए ।

राष्ट्रले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपछि भलिबल खेलको विकास र विस्तारमा नौंलो आयाम थपिने र भलिबलले नयाँ काँचुली फेर्ने विश्वास गरिएको थियो । भलिबल संघले राष्ट्रिय खेलको मान्यता पाएको अहिले ५ वर्ष भन्दा बढीको समय वितिसकेको छ । मुलुकमा पनि चारवटा प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली, शेरवहादुर देउवा र पुनः प्रचण्ड बनिसकेको अवस्था छ । तर राष्ट्रिय खेल भलिबलको स्वरुपमा भने कुनै परिवर्तन आउन सकेको छैन । उहि राखेप परिसरमा अवस्थित थोत्रो कभर्डहलमा भलिबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न बाध्य भइरहेको छ, भलिबल संघ ।

सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेपछि सम्बन्धित निकायसँग संघका पदाधिकारीहरुले भलिबल खेलको आधुनिक कभर्डहल निर्माणको माग गरेका थिए । साथै भलिबलको कभर्डहल निर्माण गर्दा भलिबल खेलको लोकप्रियता र दर्शकहरुलाई मध्यनजर गरेर उपयुक्त ठाउँमा निर्माण गरिनुपर्ने सुझाव दिएका थिए । जस्को लागि दशरथ रङ्गशाला या सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर उपयुक्त स्थल हुने उनीहरुको सुझाब थियो ।

संघको पदाधिकारीको यस्तो सुझावपछि राखेपका तत्कालिन सदस्यसचिव केशवकुमार विष्ट, रमेशकुमार सिलवाल र कार्यकारी सदस्यसचिव कुलवहादुर थापाले राष्ट्रिय खेल भलिबलको छुट्टै र आधुनिक कभर्डहल निर्माण गरिने र जुन ५ हजार दर्शक क्षमताको हुने आश्वासन दिदै केहि प्रक्रियाहरुलाई पनि अगाडि बढाएका थिए । तर कहिले कोरोनाको माहामारी त कहिले राजनीतिक चपेटामा परेपछि भलिबलको कभर्र्डहल निर्माणको चर्चा पनि सेलाउन पुगेको थियो । र पनि, राष्ट्रिय खेल भलिबलको कभर्डहलको निर्माणमा पहलकदमी भने अवश्य भएको थियो । जसलाई सबै राजनीतिक दलबाट राखेपमा नियुक्त भएका सदस्यसचिवहरुले साझा कार्यक्रम बनाउँदै पहिलो प्राथमिकतामा राखेका थिए ।

पछिल्लो समय वर्तमान राखेपका सदस्यसचिव टंकलाल घिसिङ्गले नेपालको राष्ट्रिय खेल भलिबलको कभर्डहल यसै वर्ष निर्माण हुने शंकनाद गरेपछि खेलकुदमा नौंलो कम्पन उत्पन्न भएको थियो । घिसिङ्गले त्यतिबेला जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त हुनासाथ तत्कालै भलिबल कभर्डहलको निर्माण कार्यको थालिनी हुने बताएका थिए । विडम्मना, घिसिङ्गले शंकनाद गरेको पनि अहिले पाँच महिना बितिसक्दा समेत भलिबल कभर्डहलको लागि जग्गा प्राप्त हुन सकेको छैन् । परिणाम भलिबलको कभर्डहल निर्माणको कुरा एकादेशको कथा जस्तै बन्न पुगेको छ ।

भलिबलको कभर्डहल निर्माणको चर्चा चल्दा सर्वप्रथम राखेप परिसरको पुरानो पौडी पोखरी रहेको स्थानलाई उपयुक्त ठानिएको थियो । संघका पदाधिकारीहरुले पनि यो स्थानलाई सबैभन्दा उपयुक्त ठानेका थिए । तर प्राविधिक कारण यो स्थानको जग्गा कभर्डहल निर्माणका लागि अपुग भएकोले अहिले राखेप जग्गाको खोजीमा लागेको हो । उपत्यकाभित्र दर्शकलाई पाएक पर्ने स्थान र पाँच हजार दर्शक क्षमताको कभर्डहल निर्माण गर्नुपर्ने भएको हुँदा राखेपले बुढानिलकण्ठ क्षेत्रलाई पहिलो रोजाई बनाएको थियो । तर कारणबस सोचेअनुरुपको जग्गा नपाउँदा अहिले राखेपले मूलपानीतर्फ आफ्नो निशाना सोझ्याएको अवस्था छ ।

राखेपले मूलपानीतर्फ निशाना सोझ्याएको पनि अहिले ६ महिनाको समय वितिसकेको छ । तर कबर्डहलको निर्माणको बारेमा ‘चु’ समेत गरेको छैन । राखेपका सदस्यसचिव घिसिङ्गले दक्षिण एशियाली क्षेत्रमा भलिबल खेलका खेलाडीहरुले गरेको उत्कृष्ट प्रदर्शन र भलिबल राष्ट्रिय खेल भएका कारणले पनि राष्ट्रियस्तरको नभई अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण गरिने दाबी गर्दै आएका छन् । साथै कभर्डहल निर्माणको लागि सरकारले भौतिक पूर्वाधारको लागि छुट्याएको बजेटलाई प्रयोग गर्ने खुलासा समेत गरेका छन् । अर्को महत्वपूर्ण कुरा अन्य पूर्वाधारको निर्माणको बजेटलाई केहि समयको लागि रकमान्तर गरि भलिबलको कभर्डहलको निर्माणको लागि खर्च गरिने घिसिङ्गको बयानमा सुनिन आएको छ ।

तर समयले निरन्तररुपमा नेटो काट्दा समेत सम्बन्धित निकाय राखेप मौखिक प्रतिबद्धतामा मात्रै सिमिति बन्न पुगेको छ । अहिलेसम्म कभर्डहल निर्माणको बारेमा औपचारिक र अनौपचारिक रुपमा कुनै किसिमको सार्वजनिक जानकारी गराउन सकेको छैन । यस्तोमा भविष्यमा भलिबलको कभर्डहल बन्ने कुरामा ठोकुवा गर्नसक्ने अवस्था छैन । जसले संघका पदाधिकारीहरुलाई शसंकित मात्रै बनाएको छैन, शंका गर्ने ठाउँ समेत प्रसस्त देखाईदिएको छ ।

नेपालमा भलिबल खेलको लोकप्रियता दिनप्रतिदिन कसरी बढ्दै गएको छ, त्यसको प्रमाणको रुपमा हालै सम्पन्न सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा दर्शकहरुको उपस्थितिलाई हेर्दा नै अनुमान लगाउन सकिन्छ । प्रत्येक खेलको दुई सय रुपैयाँको टीकट हुँदा समेत दर्शकहरुको त्यो उपस्थितिले भलिबल खेलको लोकप्रियताको आफै बयान गर्छ। आफ्नो नाकैमुनि राखेपले यस्तो दृष्य देख्दा समेत राष्ट्रिय खेल भलिबलको कभर्डहल निर्माण गर्ने भन्ने बारेमा किन सम्वेदनशिल बन्न सकेको छैन ? त्यो आफैमा कहालिलाग्दो विषय बनेको छ । र पनि, राखेपले जग्गा पाएको एक वर्ष भित्रमा भलिबलको कभर्डहल बनाउने जुन प्रतिवद्धता जाहेर गरेको छ, त्यसमा सफलता पाओस् भन्ने शुभेच्छा प्रकट गर्नु भन्दा अहिले अर्को विकल्प देखिएको छैन । प्रतिक्षा गरौं, अब राखेपले कहिले जग्गा पाउछ र कभर्डहलको निर्माण कार्य शुरु गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :