राष्ट्रिय टोलीका लागि क्यानले लियो ५ प्रशिक्षकसँग अन्तवार्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ५ प्रशिक्षकसँग अन्तवार्ता लिएको छ ।

क्यानले मुख्य प्रशिक्षक छनौट समितिले बुधबार सर्ट लिस्टमा परेका ५ जना प्रशिक्षकसँग अन्तरवार्ता लिएको जानकारी गराएको हो ।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएकोमा ५ प्रशिक्षक अन्तिम चरणमा छानिएका थिए ।

क्यानले अब सम्भावित प्रशिक्षकसँगको अन्तिम चरणको बैठकपछि मुख्य प्रशिक्षकको नाम टुङ्गो लाग्ने जनाएको छ ।

अन्तरवार्ता लिइएको पाँच प्रशिक्षकको नाम भने अहिलेलाई गोप्य नै राखिएको छ ।

राष्ट्रिय टोलीका भारतीय मुख्य प्रशिक्षक मनोज प्रभाकरले गत मंसिर २९ गते राजिनामा दिएपछि टोली त्यसयता प्रशिक्षक विहिन रहँदै आएको छ ।

क्यानले मनोजसँग एक वर्षको सम्झौता गरेपनि उनले सम्झौता समाप्त हुनु ६ महिला अघि नै पदबाट राजिनामा दिएका थिए ।

उनको नेतृत्वमा नेपालले खेलेको टी-२० तथा एकदिवसीय प्रतियोगितामा खराब प्रदर्शन भएपछि प्रशिक्षक प्रभाकर आलोचित समेत बनेका थिए ।

त्यसपछि उनी खेलाडीको अनुशासनमा प्रश्न उठाउँदै विवादमा तानिएपछि स्वेदश फर्किएका थिए । उनले भारतबाट नै राजिनामाको घोषणा गरेका थिए ।

यसरी अहिलेसम्म प्रशिक्षक विहिन रहँदै आएको नेपाली टोलीले अर्को महिना आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला खेल्दैछ ।

क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :