एउटा राष्ट्रिय खेलाडी उत्पादन गर्न कम्तिमा पनि पाँचदेखि दश वर्षको समय लाग्छ । त्यसको लागि राष्ट्रले करोडौंको लगानी गरेको हुन्छ । खेलाडी उत्पादनमा करोडौंको लगानी गरेपछि त्यसलाई परिणाममुखि बनाउने समयमा खेलाडीहरुले विदेश पलायनको बाटोलाई रोज्छन्, भने त्यसमा अवस्य केहि ‘छिद्र’ परेको अनुमान गर्न सकिन्छ । कुनैपनि संघसंस्था र निकायहरुमा कमिकमजोरी अवस्य हुन्छ । यस्तो भन्दैमा नजरअन्दाज गर्दै मौनता साँधेर बस्न भने कदापी मिल्दैन । यसर्थमा कि हिजो परेको त्यो सानो छिद्रले आफ्नो विकसित रुप धारण गर्दै ठूलो ‘भ्वाङ’ मा रुपान्तरण पनि हुनसक्छ । त्यसपछि टालटुलको लागि प्रयत्न गर्न सकिने भएपनि समयको बलवानताले त्यसलाई स्वीकार्न सक्ने अवस्था रहदैन ।
अहिले यस्तै दृष्य, परिदृष्य अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको छ । नेपाली खेलकुदको सबैभन्दा लोकप्रिय र शसक्त संघ हुँदाहुँदै पनि फुटबलमा कसैको आँखा लागेको छ । नेपालका अन्य खेल संघहरुको तुलनामा फुटबल संघलाई आर्थिकरुपमा सम्पन्न मान्न सकिन्छ । विदेशी सहयोग, प्रायोजक र गेट कलेक्सनमा पनि फुटबलको बर्चश्व छ । यस्तोमा फुटबल खेलाडीहरुको आयस्रोत अन्य खेलको तुलनामा बढी हुनु स्वभाविकै पनि हो । समयले यस्तो कुरातर्फ लक्ष्य साँधेपनि अपेक्षाकृत त्यस्तो हुन सकेको छैन र देखिएको पनि छैन । फुटबलका होस् या अन्य खेलका खेलाडी सबै आर्थिक मामिलामा एकै ड्याङका मूला जस्तै देखिएका छन् । यस्तोमा प्राय सबै नेपाली खेलाडीहरुले केहि समय राष्ट्रिय टीममा बिताएपछि त्यसपछि उज्ज्वल भविष्यको लागि विदेशी भूमिलाई नै रोज्दै आएको तीतो सत्य हाम्रो सामु छर्लङ्ग छ ।
यस्तो अवस्थामा पछिल्लो समय राष्ट्रिय फुटबल खेलाडीहरु विदेश पलायन भइरहेको प्रत्यक्ष घटना क्रमले एन्फामा ठूलो पहिरो जान सक्ने संकेतलाई उजागर गरेको छ । जुन यतिबेला चिन्ताको विषय मात्रै बनेको छैन, एन्फामा खतराको घण्टी समेत बजेको छ । यदि राष्ट्रिय फुटबल खेलाडीहरुले यस्तै सोच बनाउँदै विदेश पलायनको बाटोलाई रोज्ने हो भने भोलि एन्फाको भविष्य के होला ? सायद यो बारेमा एन्फाका पदाधिकारीहरुले गम्भिर भएर विश्लेषण गरेको हुनुपर्छ । अन्यथा फुटबल खेलाडीहरुको जुन दृष्य, परिदृष्य आवरणमा देखिरहेको छ, त्यो नेपाली फुटबलको लागि कदापी सुखद मान्न सकिदैन । तसर्थ अहिले कोठा चोटामा एउटै मात्र चर्चा चलिरहेको छ, आखिर यस्तो दयनिय अवस्थाको सिर्जना कसरी भयो त ? एन्फा यो सवालको घेरामा परेपनि नाजवाफ बनेर खेलाडी विदेश पलायन भएको टुलुटुलु हेरेर रमिते मात्रै बनेको छ । यसको रोकथामको लागि आफ्नो जिम्मेवारीको कुनै पहल गर्न र छनक देखाउन सकेको छैन । जुन आफैमा सर्मनाक मात्रै बनेको छैन एन्फाको कार्य क्षमतामा समेत सवाल खडा गरिदिएको छ ।

राष्ट्रिय फुटबल खेलाडीहरुको विदेश पलायनको घटनाले निरन्तरता पाउँदा पछिल्लो समय डिफेन्डरद्वय दिनेश राजवंशी, गौतम श्रेष्ठ र मिडफिल्डर तेज तामाङ्गले पनि फुटबललाई सदाको लागि अलविदा गरेका छन् । राष्ट्रिय फुटबल टीमको पहिलो रोजाईमा पर्ने यी खेलाडीले फुटबललाई किन अलबिदा भने त्यसको कारणतत्व एन्फा हो भन्दा अतिसयोक्ति नहोला । अँझ सोझो रुपमा भन्नुपर्दा यो एन्फाको असक्षमताको पराकाष्ठा हो । संस्था एउटा भएपनि दश दिशातर्फ फर्किएका एन्फाका पदाधिकारीहरुको लापहरवाहि र गैरजिम्मेवारीको उत्कृष्ट नमूना हो । जस्ले एन्फा र फुटबलमा भाँडभैलो मात्र मच्चाएका छैनन्, फुटबलको अस्तित्वमा समेत धाँजा पार्न र धावा बोल्न कुनै कसर बाँकी राखेका छैनन् । अन्यथा राष्ट्रिय फुटबल टीमसँगै विभिन्न क्लबहरुमा अनुबन्धित भइसकेका यी खेलाडीहरुले कदापी विदेश पलायनको बाटो रोज्ने थिएनन् । यहाँ एन्फा नराम्रोसँग चुकेको छ । यो घटना क्रममले एन्फालाई काम, कर्तव्य, जिम्मेवारी र नैतिकताको कठघरामा भविष्यमा उभ्याउने पक्का देखिन्छ ।
६ महिनाको अन्तरालमै एक दर्जन भन्दा बढी राष्ट्रिय फुटबल खेलाडी अष्ट्रेलिया भासिनु कुनैपनि कोणबाट शुभ मान्न सकिदैन । अमिर श्रेष्ठ, रुमेश बर्तोला, आशिष लामा, शिव गुरुङ्ग, सुमन लामा, सन्तोष तामाङ, दर्शन गुरुङ्ग र आकाश बुढामगर रहरले अष्ट्रेलिया भासिएका होइनन् । नेपालमा उनीहरुको नाम, मान र सम्मान थियो तर पनि उनीहरु विदेश भासिए । कारण एउटै थियो, उनीहरुले फुटबलमा आफ्नो भविष्य देखेनन् । अर्को महत्वपूर्ण कुरा थियो, फुटबलको विवाद, जस्ले खेलाडीहरुको मानसपटलमा नकारात्मक असर पार्दा उनीहरुलाई विकल्प सोच्न बाध्य बनायो । यो भन्दा पनि महत्वपूर्ण कुरा थियो, समयमा फुटबलको लीग नहुनु र लीग भएपनि विचैमा रोकिन सक्ने सन्त्रास । यी सबै कुरामा जलप लगाउने कार्य फुटबलमा भइरहेको घिनौंनो राजनीतिले गरिरहेको छ। जस्ले फुटबलको विकासभन्दा पनि व्यक्तिगत विकासलाई बढी प्राथमिकतामा राख्दा खेलाडीहरुको मन कुँडिएको छ ।
एन्फामा नयाँ नेतृत्व आएसँगै अध्यक्ष पंकजविक्रम नेम्वाङ्गसँग फुटबल खेलाडीहरुले आशा होइन धेरै विश्वास गरेका थिए । तर अपेक्षाकृत अध्यक्ष नेम्वाङ्ग त्यसमा असफल सावित भएका छन् । उनले आफ्नो शैवकालमा त्यस्तो कुनै छनक देखाउन सकेनन् जस्तो खेलाडीहरुले अपेक्षा गरेका थिए । लामो समय आन्तरिक कहल र भागबण्डामै रुमलिएको एन्फाले आफ्नो काम, कर्तव्य र जिम्मेवारीको बोध नै गर्न सकेन । जसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव खेलाडीदेखि एन्फामा सामान सप्लायर्स गर्ने भेन्टरहरुमा समेत पर्न पुग्यो । सुनिनमा आएको छ, रकम नपाएकै कारण यी भेन्टरहरुले अहिले एन्फामा सामान सप्लाई गर्न बन्द गरेका छन् । अर्को महत्वपूर्ण कुरा फिफाले आर्थिक प्रतिबन्ध लगाएपछि एन्फा चरम आर्थिक संकटमा परेको छ । एन्फालार्ई आर्थिक संकटमा पार्ने काम खुद अध्यक्ष नेम्वाङ्गले फिफालाई पत्राचार गरेर गरेका थिए । जुन प्रतिवन्ध हट्न अँझै ७ देखि ८ महिनाको समय लाग्ने छ । यसरी नेम्वाङ्ग अहिले आफुले खनेको खाल्डोमा आफै परेका छन् ।
एन्फाका पदाधिकारीहरुबिच देखिएको आपसी बेमिलापले पनि फुटबललाई भिरमा पुर्याउन अहिले ठूलो रोल प्ले गरेको छ । यसैको परिणामको रुप हो, अहिलेसम्म अनुशासन समिति, इथिक समिति र पुनरावेदन समिति समेत बन्न सकेको छैन् । जुन समितिलाई एन्फाका मेरुडण्डका रुपमा लिइन्छ । एन्फाले आगामी फागुन २९ गतेबाट शीर्ष डिभिजनको ए डिभिजन लिग गर्ने घोषणा गरिसकेको छ । तर लिगको घोषणा गर्नुअघि बनाउनु पर्ने यी समिति अहिलेसम्म बनाउन सकेको छैन । यदि यी समिति नबनाए फिफाले लिगलाई मान्यता दिदैन । त्यसै क्लब लाइसेनिङ्गमा पनि एन्फाले अहिलेसम्म कुनै चासो राखेको पाइएको छैन् । यस्तो अवस्थामा एन्फाले खेलाडीहरुको हितलाई प्राथमिकतामा राखेर अहिलेसम्म कुनै कार्य गरेको देखिएको छैन।
तसर्थ एन्फाको यहि दयनिय अवस्थाको चाल पाएपछि एकपछि अर्को गर्दै राष्ट्रिय खेलाडी विदेश पलायन भएका हुन् । पलायनको निरन्तरता अहिले पनि जारी छ, कति राष्ट्रिय फुटबल खेलाडीहरुले अहिले खुट्टा उचालिरहेको अवस्था छ । पर्ख र हेर भन्दा पनि उचित समयको पर्खाइएका रहेका ति खेलाडीहरु पनि विदेश पलायन हुने पक्का छ । यदि यस्तो घटनाक्रमले निरन्तरता पाउँदै गयो र एन्फाले उचित रोकथाम गरेन भने भोलि एन्फामा ‘भोटे ताल्चा’ नलाग्ला भन्न सकिदैन ।