कमजोर ‘मियो’मा टिकेको नेपाली खेलकुद

पञ्चायती व्यवस्थाको अवशानपछि खेलकुदको काँचुली फेरिने कुरामा आम खेलप्रेमी ढुक्क थिए । प्रजातन्त्रको उदयसंगै खेलकुदको डुङ्गाले पनि किनारा भेट्टाउने विश्वास गरिएको थियो । त्यसमाथि तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले खेलकुदको छुट्टै मन्त्रालयको गठन गरेपछि खेलकुदमा नौंलो रक्त सञ्चार भएको थियो । त्यसपछि अड्कल काटिएको थियो, पिजराको चरीसरी बन्दी खेलकुदले आजादको स्वाँस फेर्दै परिवर्तनलाई आत्मसात गर्नेछ ।

समयअनुसार खेलकुदमा परिवर्तन आयो पनि । आम नेपालीले खेलकुदलाई प्रत्यक्ष र अप्रत्यक्षरुपवाट आत्मसात गरेपनि । तर खेलकुदको डुङ्गालाई राजनीतिक दलहरुले जसरी ख्याउनुपर्ने थियो त्यसरी ख्याउन सकेनन् । परिणाम खेलकुदमा राजनीतिकरण हावी भयो । किनारामा पुग्नुपर्ने खेलकुदको डुङ्गा मझदारमै रुमलिन पुग्यो । जस्ले खेलकुदको हरिविजोग भयो भने राजनीतिक कार्यकर्ताको खेलकुदमा बोलवाला रह्यो । तत्पश्चात खेलकुद विना लगामको घोडा जस्तै बेकाबु भन्दै आएको आम खेलप्रेमीहरुले मनन गरेकै कुरा हो ।

जुनसुकै सरकारले पनि खेलकुदलाई सौताको व्यवहार गरेको कसैवाट छिपेको छैन । पछिल्लो समय राजनीतिक दलहरुले खेलकुद मन्त्रालयप्रति देखाएको अरुचीले नेपालमा खेलकुदको हैसियत कस्तो छ, त्यसको पर्दाफास भएको छ । आफ्नो मेनोफेस्टोमा खेलकुदको विकासको लागि ठूला ठूला अक्षरले लेखेका राजनीतिक दलहरुले खेलकुदलाई नजरअन्दाज गर्दै मालदार मन्त्रालय छान्नु यसको उदाहरण हो । विश्वले खेलकुदलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो आर्थिक उन्नतिको लागि खेलकुदलाई प्रमुख साधनको रुपमा प्रयोग गरिएको अवस्थामा नेपालमा यसको ठिक उल्टो तस्वीर देखिनुले नेपालमा खेलकुदले कति अर्थ राख्छ त्यो प्रस्ट भएको छ ।

अन्य दलहरुले युवा तथा खेलकुद मन्त्रालयलाई दरकिनार गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खेलकुद मन्त्रालय सम्हाल्ने स्ववर्ण अवसर थियो । राप्रपाले चाहेको भए आरामसंग खेलकुद मन्त्रालय पाउँथ्यो । खेलकुदमा भिजेको एउटा पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष ध्रुवबहादुर प्रधान खेलकुदमन्त्री बन्न सक्थे । तर खेलकुदको एउटा खेलाडी र पदाधिकारी भइसकेको व्यक्तिले समेत खेलकुदलाई महत्व नदिई कानुन मन्त्रालयलाई प्राथमिकतामा राख्नुले पनि नेपाली खेलकुदको दयनिय अवस्थाको उजगार हुन्छ ।

खेलकुदमा सवैले रटान लगाउँदै र माग गर्दै आएको कुरो हो, खेलकुद चलाउन खेलकुद बुझेको मान्छे चाहिन्छ । प्रधान यसको लागि योग्य मात्र नभइ सर्वश्रेष्ठ पात्र थिए । दुर्भाग्य, प्रधानको रोजाईमा खेलकुद मन्त्रालय पर्न सकेन । किन पर्न सकेन, त्यो उहाँको व्यक्तिगत कुरा होला, तर खेलकुदले त उहाँप्रति आशा गरेको थियो नी । यो कुरा प्रधानले पदमा पुगेर भुसुक्कै विर्से । खेलकुदले उनीमाथि वर्षौंसम्म लगाएको गुनको मूल्य चुकाउने वेलामा उनले खेलकुदलाई नजरअन्दाज गरिदिए । आखिर किन त ? यो सवाल प्रधान समक्ष भविष्यमा पक्कै उठ्ने छ । जुन अहिले चासोको विषय बन्न पुगेको छ ।

वर्तमान अवस्थाको चर्चा गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई पटक मन्त्रीमण्डलको विस्तार गर्दा समेत खेलकुद मन्त्रालयले खेलकुदमन्त्री पाउन सकेन । राजनीतिक दलहरुका लागि यो कुरो गौण होला तर खेलकुदलाई आफ्नो कर्मभूमी बनाएकाहरुका लागि भने यो कदापी सुखद पक्ष होइन, र मान्न सकिदैन । यसर्थमा कि जुन सपना उनीहरुले खेलकुदमा लागेर देखेका हुन्छन त्यसमाथि अहिले कुठाराघात र बज्रपात दुवै भएको छ । त्यो काम कुनै व्यक्ति विशेषले नभै खुद राजनीतिक दलहरुले गरेका छन् । जुन निन्दनिय र भत्सर्ना गर्न लायक छ । यो कुरा राष्ट्रिय खेलकुद परिषद (राखेप)का संरक्षक समेत रहेका प्रधानमन्त्री दाहलले खुद पनि महसुस गर्नुपर्छ ।

पछिल्लो समयको घटना क्रमले नेपाली खेलकुदको जसरी चित्र कोरेको छ, त्यो अमूर्त मात्र नभई अविश्वसनिय र अकल्पनिय छ । जस्ले नेपालको परिप्रेक्ष्यमा खेलकुदको हैसियत के हो ? त्यसलाई प्रस्ट पारिदिएको छ । यसरी निरन्तररुपमा खेलकुदप्रति नकारात्मक सोच राख्दै आएका राजनीतक दलहरु वर्तमान अवस्थामा समेत खेलकुदप्रतिको चेत खुल्न नसकेको प्रष्ट हुन्छ । राजनीतिक दलहरुको यस्तो रवैयाले २१ औं शताब्दीमा समेत भरखर बामे सर्न थालेको नेपाली खेलकुदको कदममा छिर्कि नहाल्ला भन्न सकिदैन ।
त्यसै त उपेक्षित खेलकुद, त्यसमाथि कमजोर ‘मियो’ । जस्ले अहिले खेलकुदको अस्तित्वमाथि प्रश्न खडा गरिदिएको छ । कुनै राजनीतिक दलको प्राथमिकतामा खेलकुद नपर्नु यसको प्रमाण हो । तसर्थ अहिले खेलकुदको कमजोर मियोलाई कसरी बलियो बनाउने त्यो अहम प्रश्न बनेको छ । यहाँ विर्सन नहुने कुरा के भने खेलकुद राज्य हो, राज्यले नै खेलकुदलाई शसक्त र बलियो बनाउनेतर्फ लाग्नु पर्छ । त्यसको लागि खेलकुदलाई दलहरुले राजनीतिक स्वार्थभन्दा माथि राख्नुपर्छ र सहि दिशा निर्देश गर्न अहिलेको आवश्यकता भइसकेको छ । हेरौं, अहिलेसम्म मन्त्री समेत नपाएकोले खेलकुदलाई सरकारले कसरी दिशा निर्देश गर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :