खुमलटार र फ्रेण्ड्सले शहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेल खेल्ने (पूर्ण तालिकासहित)

काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको हो । एन्फाले शुरुवाती पाँच चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नयाँ सिजनको लिगका उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटारले फ्रेण्डस्स क्लबको सामना गर्नेछ । खेल फागुन १९ गते काठमाण्डौंका दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट शुरु हुनेछ ।

एफसी खुमलटारसँगै यसै सिजन ‘ए’ डिभिजनमा बढुवा भएको चर्च बोइजले फागुन २० गते दोश्रो दिन नेपाल पुलिस क्लबसँग खेल्दै लिगको शुरुवात गर्नेछ । सोही दिन थ्री स्टार क्लब र नेपाल एपीएफ क्लब आमने सामने हुनेछन् भने तेश्रो खेलमा मनाङ्ग मस्र्याङ्दी क्लबले हिमालयन शर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा संचालन हुने लिग दशरथ रंगशाला, एन्फा मुख्यालयको मैदान र च्यासलस्थित एन्फा टेक्निकल कमिटीको मैदानामा खेलाइने एन्फाले जनाएको छ ।

१४ क्लबको सहभागिता रहेको लिग विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने क्लबले ५० लाख र तेस्रो हुने क्लबले २५ लाख नगद पुरस्कार हात पार्नेछ ।

यसबाहेक मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ्ग प्लेयरले १ लाख ५० हजार नगद पाउनेछन् ।

फेयर प्ले अवार्ड विजेता क्लबले ३ लाख पाउनेछ । प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ ।

यस्तै हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :