‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ फागुन २३ गते

काठमाडौं । नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ को मिति घोषणा भएको छ ।

यससँगै पल्सर स्पोर्ट्स अवार्ड २०७८ आगामी फागुन २३ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलन गर्दै स्पोर्टस अवार्ड २०७८ को मिति सार्वजनिक गरेको हो ।

स्पोर्टस अवार्ड २०६० सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आईरहेको छ । १९ औं संस्करणको यस अवार्डलाई पनि हंशराज एण्ड हुलासचन्द्र एण्ड कम्पनीले मुख्य प्रायोजन गर्ने भएको छ । हंशराज एण्ड हुलासचन्द्र एण्ड कम्पनीले अवार्डका लागि प्रायोजन गर्न लागेको यो १४ औं संस्करण हो ।

यस पटकको अवार्डमा वर्षका उत्कृष्ट महिला तथा पुरुष खेलाडी, प्रशिक्षक, युवा, पिपुल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरि ९ विधा समावेश गरिने भएको छ ।

वर्षका उत्कृष्ट महिला तथा पुरुष खेलाडी, प्रशिक्षक, युवा र पिपुल्स च्वाइस अवार्डको मनोनय केहि दिनमा सार्वजनिक गर्ने मञ्चले जनाएको छ । यस्तै पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड विजेताको नाम भने फागुन २३ गते नै सार्वजनिक गरिने छ ।

यसअघि वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस गरि चार विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्दै आएकोमा यस संस्करणबाट वर्षको उत्कृष्ट युवा खेलाडीले पनि मोटरसाइकल प्राप्त गर्ने बताइएको छ । यसैगरी अन्य विधाका विजेताल जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अवार्डको सफल आयोजनाका लागि अध्यक्ष दुर्गानाथ सुवेदीको संयजकत्वमा मूल आयोजक समिति र सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समिती गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :