पोखरा । विभागिय टोली नेपाल एपिएफ क्लबले तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोश्रो जित हासिल गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले दोश्रो जित निकालेको हो। साबिकको विजेता एपीएफले डायमण्डलाई क्रमशः २५-१५, २५-२० र २५-७ ले पराजित गरेको हो ।
यसअघि पहिलो खेलमा एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई पनि ३-० को सोझो सेटमा हराएको थियो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको एपीएफले फाइनल सम्भावना बलियो बनाएको छ ।
यता लगातार दोश्रो हार व्यहोरेको डायमण्डका भने फाइनल सम्भावना समाप्त भएको छ । टोलीको महत्वपूर्ण खेलाडी प्रतिभा मालि बिना नै टाईगर कप खेलिरहेको डायमण्डले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।
डायमण्ड पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १४ गतेसम्म संचालन हुने तेश्रो टाईगर कपमा महिला तथा पुरुषतर्फ समान पाँच कुल १० टोलीको सहभागिता रहेको छ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् र केरला स्टेट इलेक्ट्रोनिक बोर्ड (भारत) रहेका छन्। यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब (श्रीलंका) सहभागि छन्।
राउण्ड रोविनका आधारमा जारी प्रतियोगितामा यस पटक पुरस्कार राशीमा दोब्बर बृद्धि गरिएको छ । यस पटक महिला तथा पुरुष दुवैतर्फको उपाधि विजेतो समान पाँच लाख प्राप्त गर्दा उपविजेताले दुई लाख ५० हजार, तेश्रो हुने टोलीले नगद एक लाख २५ हजार र चौंथो हुने टोलीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै महिला तथा पुरुषतर्फको उत्कष्ट एक-एक जना खेलाडीले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपौयाँ तथा ट्रफी प्राप्त गर्नेछन् ।