सन्यासपछि खेलाडी जीवनको ग्यारेन्टि कस्ले लिने ?

लक्ष्मी शाक्य

नेपाली खेलकुदलाई शुक्ष्मरुपमा अध्ययन र विश्लेषण गर्ने हो भने ९० प्रतिशत भन्दा बढी खेलाडीहरु गरिब परिवारबाट आएको देखिन्छ । प्राय खेलाडी ‘खेलाडी जीवन’मा प्रवेश गर्दा भविष्यको गन्तव्यको कारेमा अनविज्ञ हुन्छन् । कोही अन्जान, कोही सौख र कोहि खेलाडी नै बन्ने उद्देश्यका साथ खेलकुदमा होमिएका हुन्छन् । ति मध्य जब कुनै खेलाडीले राष्ट्रियस्तरसम्म छलाङ्ग मार्छ त्यसपछि मात्रै उसले खेलकुदको अन्तरकुन्तरको रहस्य थाहा पाउँछ ।

राष्ट्रिय खेलाडी बनिसकेपछि खेलाडीहरुको मनमस्तिष्कमा चढ्ने अभिमानको नसाले खेलाडीहरु अन्धो बनाएको हुन्छ । त्यतिबेला उनीहरुको दिमागमा कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर सफल बन्ने ? मात्र यहि कुराको सेरोफेरोमा खेलाडी रुमलिरहेका हुन्छन् । उनीहरुले सन्यासपछिको खेल जीवनको बारेमा कुनै कल्पना नै गरेका हुँदैनन् । यो नेपाली खेलाडीको अर्को पाटोको ‘तीतो सत्य’ भएपनि खेलाडीहरुले अहिलेसम्म यो कुरामा गम्भिर भएको पाइएको छैन ।

जब खेलाडीहरुले यो कुराको चाल पाउँछन्, तब समयले नेटो काटिसकेको हुन्छ । त्यसपछि खेलाडीहरु घरपरिवारलाई सम्झिन पुग्छन् । उनीहरुलाई आफु खेलाडी मात्र नभई कसैको छोराछोरी भएको जिम्मेवारीको बोध हुन्छ । त्यसको लागि केहि गर्नुपर्छ अर्थात् पैसा कमाउनु पर्छ भन्ने लाग्छ । त्यसपछिको विकल्प विदेश पलयान हुनु बाहेक अर्को रहदैन । त्यो पनि खाडि मुलुक, यी मुलुक वाहेक अन्य मुलुकमा जान सक्ने नेपाली खेलाडीको हैसियत नै हुँदैन । यसरी नेपाली खेलकुदमा एउटा राष्ट्रिय खेलाडीको ‘लाइफ साईकल’ यसरी चल्दै आएको छ । जुन आफैमा अपत्यारिलो र कहाली लाग्दो छ । तर यो शतप्रतिशत साँचो हो ।

खेलकुदका विज्ञहरुले गरेको अनुसन्धान अनुसार खेलाडीहरुको लाइफ साइकल एकदमै वैज्ञानिक छ । साँचो अर्थमा भन्नुपर्दा खेलाडीहरुको लाइफ साइकल त्यसरी नै चल्नुपर्छ । खेल विज्ञका अनुसार सर्वप्रथम खेलाडीले खेलकुदमा ‘इन्ट्री’ गर्छ, त्यसपछि ‘ट्रेनिङ्ग’ गर्छ र त्यसपछि ‘पर्फमेन्स’ देखाउँछ । पर्फमेन्सपछि खेलाडीले ‘रिटायरमेन्ट लिन्छ ।

खेलाडीले सक्रिय खेलाडीको रुपबाट रिटायरमेन्ट लिदा उसले १० देखि २० बर्ष खेलकुदमा विताइसकेको हुन्छ । यसमा कसैले १० वर्ष, कसैले १५ वर्ष त कसैले २० वर्ष खेलकुदमा योगदान दिइसकेको हुन्छ। खेलाडी रिटायरमेन्ट हुँदा उनीहरुको उमेर कम्तिमा पनि ३५ देखि ४० वर्षको भइसकेको हुन्छ । यो उमेरमा खेलाडी रोजगार छैन भने त्यसपछि उसका दुःखका दिन शुरु हुन्छ । राष्ट्रिय खेलाडी हुँदाको त्यो मान र शान रिटायरमेन्ट पछिको जीवन ‘काकाकुल’ जस्तै हुन्छ । जस्ले खेलाडीलाई मनोरोगी समेत बनाइदिन्छ । परिणाम, खेलकुदमा लागेकोमा पश्चाताप गर्नु बाहेक अर्को विकल्प उ सँग हुँदैन र रहदैन।

महत्वपूर्ण कुरा, सबै राष्ट्रिय खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र सम्बन्धित संघले रोजगारी दिन सक्दैन । केहि खेलाडीलाई दिन सक्छ जस्ले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरम नेपालको प्रतिष्ठा बढाउन योगदान दिएका छन् । औंलामा गन्न सकिने केहि त्यस्ता भाग्यमानी खेलाडीहरु बैकुण्ठ मानन्धर, जीतवहादुर केसी, दलवहादुर राना मगर, हरिवहादुर रोकाय, विष्णुवहादुर सिंह, संगीना वैद्य, दीपक विष्ट र दीपक श्रेष्ठ आदि छन्, जस्ले रिटायरमेन्टपछि राखेपमा जागिर पाउन सफल भएका छन् ।

त्यस्ता कैयौं अनगिन्ति खेलाडीहरु छन्, जस्ले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरेरपनि विदेश पलायन हुन बाध्य भएका छन् । यी मध्य विधान लामा, सविताराज भण्डारी, किशोर श्रेष्ठलाई उदाहरणीय पात्र मान्न सकिन्छ । यी ऐतिहासिक खेलाडीहरुको खेलकुदको इतिहास पल्टाउँदा आफैमा गर्व गर्न लायक भएपनि उनीहरु किन विदेश पलायन हुनुपर्यो त्यस पछाडिको इतिहास निकै कहाली लाग्दो छ । त्यसैले यी तथ्यहरुले के प्रष्ट पार्छ भने नेपालमा रिटायरमेन्टपछि खेलाडीले आफ्नो भविष्य आफैले बनाउनु पर्छ । त्यसको लागि खेलाडीले नाङ्लो पसल खोलोस या मम पसल राज्यले कुनै चासो राखेको देखिदैन र पाईंदैन पनि । यो नेपाली खेलाडीहरुको ठूलो बिडम्वनाको पक्ष बन्दै आएको छ ।

त्यसैले वर्तमान अवस्थामा नेपालमा खेलाडी हुनु ‘सौभाग्य हो कि दुर्भाग्य’ यतिबेला यो अहम विषय बेनको छ । सोझोरुपमा हेर्दा नेपालको परिप्रेक्ष्यमा रिटायरमेन्ट पछिको खेलाडी जीवन कष्टकर हुने कुरामा दुईमत देखिन्न । अब यस्तो अवस्था आउन नदिन के गर्ने त ? त्यसको दीर्घकालिन समाधानको रुपमा अहिलेको दुई दिने मौसमको रुपमा राखेपमा भित्रिने पदाधिकारीहरुबाट कुनै आशा गर्न सकिदैन । त्यसैले यो समस्यालाई जरैदेखि निमिट्यान्न पार्र्न राज्यले नै विशेष योजना बनाएर अगाडि बढ्नुको अर्को विकल्प देखिदैन।

खेलकुद विज्ञ पार्थसारथी सेन गुप्त (मीठू गुरु) भन्नुहुन्छ, यो समस्याबाट मुक्ति पाउन राज्यले खेलाडीलाई खेलसँगै व्यावसायिक शिक्षाको समेत प्रबन्ध मिलाउनु पर्छ । जस्ले रियाटरमेन्टपछि पनि खेलाडीहरुको भविष्य सुरक्षित हुन्छ । यदि खेलाडीहरुले खेलसँगै ब्यावसायिक ट्रेनिङ लिए भने भविष्यमा रिटायरमेन्टपछि उनीहरुले आफुले सिकेको त्यो शिक्षालाई आर्थिक आर्जनको कार्यमा खर्चिन सक्छन्, बेरोजगार बन्नु पर्दैन । परिणाम खेलाडीहरुको बेरोजगारको समस्या सदाको लागि समाप्त भएर जान्छ । त्यसैले यसको लागि राज्यले दीर्घकालिन योजना बनाएर खेलकुदमा लागु गर्नुपर्ने अहिलेको आवश्यकता भइसकेको छ । अन्यथा भविष्यमा यसले बिकराल रुप धारण गर्ने विज्ञ गुप्तको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :