नेपाल टी २० लिगमा स्पट फिक्सिङ्ग भएको सीआईबीको निष्कर्ष

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले गत महिना सम्पन्न पहिलो संस्करणको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ्ग भएको निष्कर्ष निकालेको छ ।

सीआईबीले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरि नेपाल टी २० लिगमा स्पट फिक्सिङ्ग भएको जानकारी गराएको हो ।

सीआईबीले स्पट फिक्सिङको आरोपमा दुई क्रिकेटरलाई पक्राउ गरेको पनि जनाएको छ । सीआईबीले स्पट फिक्सिङ्गको आरोपममा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार छानबिनका क्रममा महबुबले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रमाण भेटिएको छ । महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।

‘पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महबुब आलमले कम्तिमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको र नेपाली खेलाडी मोहमद आदील आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नका लागि अप्रोच आएको, उनले खेलेको कम्तीमा दुई वटा खेलमा सोहि प्रकृतिको खेल खेलेको देखिएको’ सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी छानबिनमा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले अप्रोच गरेको, एक विदेशी खेलाडीलाई व्यवस्थापक टिमका सदस्यबाट अप्रोच भएको र टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको देखिएको सीआईबीले जनाएको छ ।

लिगको दौरान स्पट तथा म्याच फिक्सिङ्ग भएको सूचना बाहिरीपछि लिग नै आलोचित बन्न पुगेको थियो । त्यसपछि काठमाडौं महानगरपालिकाले सीआईबीलाई लिगमा भएको घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

यस बारे अनुसन्धानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत छानबिन समिति गठन गरेको थियो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोली पनि अनुसन्धानको लागि नेपाल आएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको पहिलो संस्करणको नेपाल टी २० लिग गत पुस ९ गतेबाट २७ गतेसम्म किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको थियो । टी २० लिग प्रकरणमा पक्राउ परेका र पक्राउ पर्ने संकमा रहेका खेलाडी तथा सम्बन्धित व्यक्तिलाई केहि वर्षको जेल सजायसँगै जरिवाना समेत लाग्न सक्नेछ।

किनकी मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहिताको दफा ५१ उपदफा (३) मा नेपालमा वा विदेशी मुलुकमा मिलेमतो गरे तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना तोकेको छ । साथै फिक्सिङ्गका क्रममा लेनदेन भएको रकम सबै जफलत हुने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :